|

सल्यान : सल्ला र सालका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी)। फराकिला आँगन र कठबार लगाइएका पिँढी। घरनजिकै पानीको धारा, वरिपरि खेतबारी। उत्तरतर्फ आँखा लगाउँदा आँखैमा ठोक्किन आउँछन् कि जस्ता देखिने हिम शृंखला। चारैतिर हरियाली।

अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटर गाडी। आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको सल्यान पछिल्लो समय बसाइँसराईका कारण उजाडिँदै जान थालेको छ।

एक दशकअघिसम्म बाक्लो बस्ती भएका गाउँ बढ्दो बसाइँसराईले पातलिँदै गएका छन्। एक दशकयताको अवस्था पूरै फेरिएको छ। सल्यानको काप्रेचौर, काल्चे, रामपुर, निगालचुला, लक्ष्मीपुर, माझकाँडा, कुपिण्डे, फलाबाङ, लेखपोखरा, छायाँक्षेत्र लगायतका क्षेत्रबाट सबैभन्दा बढी बसाइँसराई भएको छ।

कतिपय गाउँमा त केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था सिर्जना भएको छ। गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने र आडभरोस दिने मानिस छैन।

एक दशकअघि ४२ घरधुरी भएको कालीमाटी गाउँपालिका–७ आमवासमा अहिले १९ घरधुरी मात्रै छन्। काप्रेचौरका नैनसिंह रानाले ४ सय घरधुरी भएको काप्रेचौर क्षेत्रबाट ८० परिवारले बसाइँ सरेको बताए।

कालीमाटी गाउँपालिका–१ का अध्यक्ष रविलाल बस्नेतले लक्ष्मीपुर क्षेत्रबाट ५ वर्षमा ४० बढी परिवारले बसाइँ सरेको जानकारी दिए। गाउँमा विकासले विस्तारै गति लिँदै गरे पनि बसाइँ सर्नेको संख्यामा भने कमी आउन सकेको छैन।

गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकीसमेत पाइन छाडेको काप्रेचौरका टेकबहादुर बिक बताउँछन्। बसाइँ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्नसमेत समस्या हुने गरेको उनको भनाइ छ। सल्यानबाट प्रायः दाङ, बाँके, बर्दिया, सुर्खेतलगायत तराईका जिल्लामा बसाइँ सर्ने गरेका छन्।

गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका छन्।

संघीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो। तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा केही नपाइने भएपछि बसाइँसराई घट्नुको साटो बढिरहेको छ।

स्वास्थ्य, शिक्षा, रोजगारीलगायत कारणले बसाइँ सर्ने क्रम बढेको लेखपोखराका नरेन्द्र पुनले बताए। ‘मौसम, हावापानीको हिसाबले बस्नलाई त यतै ठीक हो नि तर के गर्ने?  बिरामी भयो दाङ झर्नुपर्ने, छोराछोरी पढाउन दाङ झर्नुपर्ने, सुविधासम्पन्न अस्पताल छैन, राम्रो शिक्षा दिने स्कुल कलेज छैन, अनि बसाइँ नसरेर पनि त भएन‚’ उनले भने।

बढ्दो बसाइँसराईले गाउँघर खाली बन्दै गएका छन्। बस्ती पातलिँदा असुरक्षा बढ्दै गएको छत्रेश्वरी-२ का वडा अध्यक्ष प्रेमबहादुर खड्काले बताए। प्रायः छोराहरू वैदेशिक रोजगारीमा जाने र पैसा कमाएपछि सपरिवार शहर झर्ने गरेको उनको भनाइ छ।

कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर शहर झरेका छन् भने केहीले खेतबारी बाँझै छोडेर शहर झरेका छन्‚’ उनले भने। आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य जमिन जंगलमा परिणत हुँदै गएका छन्।

अहिले जिल्लाबाहिर मात्र नभइ जिल्लाभित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढ्दो छ। यसकारण जिल्लाका प्रमुख व्यापारिक केन्द्र श्रीनगर, सल्लीबजार, थारमारे, बागचौर, लान्ती, लुहाम, रामपुरलगायतका बजार क्षेत्रमा जनघनत्व बढ्दै गएको छ।

द्वन्द्व, झैझगडा, जंगली जनावरको आतंकलगायतका कारण वर्षाैं पहिलेदेखि शुरु भएको बसाइँसराई गाउँ–गाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि रोकिएको छैन।

२०७१ सालमा जिल्लाबाट ४ हजार ७७४ जनाले बसाइँ सरेको एक तथ्यांकले देखाएको छ। तर पछिल्ला वर्षमा कति नागरिकले गाउँ छोडेर बसाइँ सरे?  किन बसाइँ सरे एकिन तथ्यांक भने कतै पनि छैन।

त्यसमाथि स्थानीयको बसाइँसराई रोक्नेतर्फ पनि कसैको चासो देखिँदैन। काप्रेचौरका धनवीर बुढाले गाउँमा सम्भावना नदेखेर बसाइँ सरेको बताए।

‘‘गाउँमा सोचेजस्तो विकास भएन, जंगली जनावरको आतंक रोक्न कसैले पहल गरेन‚’ उनले भने‚ ‘शहरको तुलनामा गाउँमा विकास हुन धेरै समय लाग्ने देखियो।’ भोगचलन गर्दै आएको जग्गाजमिन र बस्दै आएको घर नै छोडेर बसाइँसराईको कागजात लगेर बर्दिया झरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.