|

विराटनगर : विराटनगर महानगरपालिका १६ नम्बर वडा कार्यालयका कर्मचारीले सेवाग्राहीलाई कुटपिट गर्दा गम्भीर घाइते भएका छन्।

उपभोक्ता समिति गठनका लागि समितिमा बस्नेहरूको जग्गाको कर तिर्न पुगेका विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया बस्तीका ४० वर्षीय अनिल खतिवडालाई कर्मचारीले कुटपिट गरेका हुन्।

उनलाई वडा कार्यालयका कम्प्युटर अप्रेटर रवि सुब्बाले गाली गर्दै कुटपिट गरेको घाइते खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार उपभोक्ता समिति गठनका लागि लालपुर्जामा भएका २ वटा कित्ताको राजस्व तिर्न उनीसँगै अर्का उपभोक्ता पुगेका थिए।

जिर्सीदेवी मण्डलको नाममा रहेको जग्गाको राजस्व बुझाउन जितेन्द्र मण्डल गएका थिए।

के थियो घटना ?

अहिलेलाई एउटाको मात्रै राजस्व तिर्छु भनेपछि कर्मचारीले एउटै पुर्जामा भएको दुवै कित्ताको राजस्व बुझाउनुपर्ने भनेका थिए। त्यसपछि उपभोक्ताले दुवै कित्ताको बुझाउने भनेपछि कर्मचारी सुब्बाले महानगरपालिका जानुपर्ने बताएका थिए।

खतिवडाले कर बुझाउन आएको सेवाग्राही यहाँबाट महानगरपालिकामा जाँदा पुनः यही वडामा फर्कायो भने दुःख हुन्छ भनेका थिए। त्यसपछि कर्मचारी सुब्बाले तथानाम गाली गर्दै खतिवडालाई कुटपिट गरेको आरोप छ। ‘कर्मचारीले तथानाम गालीगलौज गर्दै नाक आँखामा हिर्काए’, ‘खतिवडाले भने, ‘अहिले मेरो टाउको झन्झनाइरहेको छ।’

उनले तत्काल नजिकै रहेको स्वास्थ्यचौकी पुगेर स्वास्थ्य परीक्षण गराएका थिए।

कारबाहीका लागि महानगरलाई पत्र

कुटपिट गर्ने कर्मचारीलाई वडा कार्यालयले कारबाहीका लागि महानगरलाई तत्काल पत्र लेखेर पठाइसकेको वडा अध्यक्ष उद्धव भुजेलले बताए।

वडा कार्यालयमा आउने सेवाग्राहीलाई कसैले पनि हातपात गर्न नपाउने बताउँदै अध्यक्ष भुजेलले सार्वजनिक ठाउँमा कुटपिट तथा गालीगलौज गर्ने कर्मचारीलाई कानुन बमोजिम कारबाहीका लागि कदम चालिएको बताए।

यता घाइते खतिवडाले इलाका प्रहरी कार्यालय रानी विराटनगरमा घटनाबारे जानकारी गराई कारबाहीको माग समेत गरेका छन्। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.