|

इलाम : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुन दुई महनामात्रै बाँकी रहँदा तेश्रो राष्ट्रपति को बन्ने भन्ने बारेमा अहिले बहस भइरहेको छ। मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका छन् महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकी छिन्।

जनजाति समुदायबाट राष्ट्रपति नभएको अवस्थामा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको लागि बलिया उम्मेदवार हुन्। बागमती प्रदेशको पूर्व मुख्यमन्त्री एवम एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम समेत चर्चा छ।

२०७४ साल देखि नै पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत राष्ट्रपति बन्ने आकांक्षा देखाएका थिए। खनालले २०७४ सालमा वाम गठबन्धनको बहुमत आए लगत्तै भनेका थिए, ‘पार्टीले जिम्मा दियो भने राष्ट्रपति बन्न तयार छु।’ तर राजनीतिक घटनाक्रमले खनाललाई राष्ट्रपति बन्ने बाटो बन्द गरिदियो।

२०७२ सालमा राष्ट्रपतिको लागि आएको अफर त्यागेका खनालले २ वर्षपछि इच्छा व्यक्त गरेका थिए। तर विद्या भण्डारीलाई व्यवस्थापन गर्नुपर्ने दायित्व प्रचण्ड र ओलीका काधमा भएको कारण खनालको इच्छा केवल इच्छामै सीमित रहेको थियो।

अहिले खनालले देश र पार्टीको आवश्यकता अनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएको भन्दै राष्ट्रपति पाए पद लिने आशय व्यक्त गरिरहेका छन्। गत मंसिर ३ गतेको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट पराजय भएपछि सेफ ल्यान्डिङका लागि खनाल राष्ट्रपति बन्न चाहन्छन्।  

पछिल्लो समय राष्ट्रपतिको दौडमा नयाँ पात्रको इन्ट्री भएको छ। उनी हुन् २०७२ सालमा राष्ट्रपति बन्न उमेर नपुगेको बताउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल।

२०७२ सालमा राष्ट्रपतिको लागि उमेर नपुगेको नेपालको नाम पुन :चर्चामा आएको छ। नेपालको संविधान २०७२ जारी भएपछि रामवरण यादवको स्थानमा नयाँ राष्ट्रपतिको खोजी हुँदा नेकपा एमाले भित्र सम्भावितको सूचीमा माधव नेपाल समेत थिए।

पार्टी भित्र राष्ट्रपतिको रुपमा केही सम्भावित नामहरू सार्वजनिक भएपछि भीम रावलले संक्रमणकालीन अवस्थाको राष्ट्रपति पार्टीको जिम्मामा आएकाले सिनियरलाई अघि सार्नुपर्ने तर्क राख्दा इश्वर पोखरलेले भनेका थिए, ‘भीमजीले भन्नुभएको ठिकै हो, यस्तो बेलामा राष्ट्रपति बन्न माधव कमरेड किन नजाने?’

पोखरेलले पूर्वप्रधानमन्त्री भइसकेको र पार्टीको प्रमुख भइसकेको नेता राष्ट्रपति बन्नुपर्ने तर्क गरे। नेपालले अस्विकार गर्दै आफ्नो उमेर नपुगेको तर्क राखेका थिए, ‘म हुन्न, मेरो उमेर पुगेको छैन।’ 

२०६५ सालमा समेत राष्ट्रपतिको रुपमा नेपालले इच्छा व्यक्त गरेका थिए। तर नेकपा माओवादीका कारण सम्भव नहुने देखेपछि उनी पछि सरेका थिए। अन्तत: नेकपा माओवादीका रामराजाप्रसाद सिंहलाई हराउँदै नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम लगायत गठबन्धनका साझा उम्मेदवार रामवरण यादव नेपालको पहिलो राष्ट्रपति बन्ने अवसर पाए।

राष्ट्रपतिका लागि नेपालले उमेर पुगेको छैन भनेपछि पोखरेलले झलनाथ खनाललाई अफर गरे। ‘माधव कमरेडको उमेर पुगेको छैन रे, लौ जेएन कमरेड, तपाई अघि सर्नुस्’, सो बैठकमा पोखरेलले भनेका थिए। तर खनाल समेत अघि सरेनन्। 

राष्ट्रपति बन्नका लागि ४५ वर्ष पुग्नुपर्छ। तत्कालिन समयमा ६२ वर्षीय नेपालले राष्ट्रपतिका लागि उमेर पुगेको छैन भन्नुको तात्पर्य उनी सक्रिय राजनीतिमा रहन चाहेका थिए। तर अहिले परिस्थिति फेरिएको छ। नेकपा एमाले विभाजन गरेर नेपाल र खनालले गठन गरेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय पार्टी बन्न सकेन्।

राष्ट्रिय राजनीतिमा नेकपा एसको अस्तित्व संकटमा परेपछि अहिले नेपाल सेफ ल्यान्डिङका लागि राष्ट्रपतिको प्रस्ताव आए नकार्न नसक्ने अवस्थामा छन्।

नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने बारे निर्णय गरिसकेको छैन। तर एमाले र माओवादी नेता नेकपा एसलाई सरकारमा ल्याउनका लागि फकाउन थालिसकेका छन्। 

नेपाललाई अहिले एमाले भित्रैबाट पनि समर्थन भएको देखिन्छ। राष्ट्रपतिकै सम्भावित सूचिमा रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा एसका अध्यक्ष नेपाल तयार भए समर्थन रहने बताएकी छन्। 

२०६४ र २०७० को संविधानसभालाई अध्यक्षता गरेको एमाले उपाध्यक्ष सुवास नेम्वाङ समेत राष्ट्रपतिको अफर आए स्वीकार गर्ने पक्षमा छन्। यद्यपी नेपालले राष्ट्रपति पदसँग जोडिएर आएको नाममा सत्यता नभएको बताएका छन्।​

पाए राष्ट्रपति लिने पक्षमा  नेम्वाङ

नेम्वाङले केही दिन अघि नै आफू राष्ट्रपति वा प्रधानमन्त्री मध्ये एक हुन योग्य भएको धारणा राखिसकेका छन्। त्यसो त नेम्वाङले ५ वर्ष अघि नै झलनाथ खनालसँगै राष्ट्रपति हुने मनसाय व्यक्त गरेका थिए।

तत्कालिन समयमा नेकपा एमाले र नेकपा माओवादी एकताको संघारमा रहँदा २०७४ फागुनमै आफू राष्ट्रपति बन्ने मनसाय देखाएका थिए। तर राष्ट्रपतिमा विद्यादेवी भण्डारीदेखि पूर्व प्रधानमन्त्री झलनाथ खनालसम्मको रुची देखिएपछि नेम्वाङ पछि हटेका थिए।

राष्ट्रपति पाउने सम्भावना नदेखेपछि नेम्वाङले भनेका थिए,  ‘देश र जनताको हितमा अब केही समय पार्टीमै क्रियाशील हुने मेरो इच्छा छ। १०/१२ वर्ष त्यसै पनि सक्रिय राजनीति गर्ने उमेर छ, अहिले नै निष्क्रिय हुने खालका पदमा मेरो चर्चा आवश्यक छैन।’  अहिले आएर नेम्वाङ आफ्नो सम्भावना देखेपछि राष्ट्रपति पद स्विकार्ने पक्षमा देखिन्छ।

‘पाँच पटक सभामुख, दुई पटक संविधानसभाको अध्यक्ष भइसकेँ अब मैले मन्त्री वा उपप्रधानमन्त्रीमा जानु हुँदैन। त्यसो भयो भने पदप्रतिको मोह देखाउनु हुन्छ। त्यसैले मैले प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने ठाउँ छैन’, नेम्वाङले गत सोमबार थाहाखबरसँगको कुराकानीमा  भनेका थिए।

राष्ट्रपतिमा जाने इच्छाबारे सोधिएको प्रश्नमा नेम्वाङले पार्टीभित्र छलफल भइरहेको र त्यसबारे पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने प्रतिक्रिया दिए। उनले भने, ‘केही साथीहरूले सभामुख भनेका थिए, मैले एउटै पदमा पाँच पटक भइसक्यो भनेर अस्वीकार गरे। राष्ट्रपतिका विषयमा पार्टीभित्र कुराकानी, छलफल भइरहेको छ, अझै समय बाँकी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.