|

सन् १९५० मा विश्वकप उपाधिका लागि भएको खेलमा ब्राजिल उरुग्वेसँग २-१ गोल अन्तरले पराजित भयो। जसका कारण पूरै देश शोकमा डुबेको थियो। त्यतिवेलै १० वर्षीय पेलेले आफ्ना बाबु  दोन्दिन्हो रोएको देखे। 

उनले आफ्ना बाबुलाई किन रोएको भनेर सोधे। उत्तरमा बाबुले भने, ‘ब्राजिलले वर्ल्डकप गुमायो।’ दोन्दिन्हो आफैँ पनि फुटबल खेलाडी थिए। पहिलोपटक विश्वकप आयोजना गरिरहेको ब्राजिलका लागि त्यो विश्वकपले ठूलो अर्थ राख्थ्यो। ठूलो रकम विश्वकपका लागि पूर्वाधार निर्माणमा लगाइएको थियो। साथै प्रतियोगिता भरी आयोजक टोलीको प्रदर्शनले गर्दा सबैले विश्वकप ब्राजिलले नै जित्ने अनुमान गरेका थिए तर नतिजा अनपेक्षित आयो। 

छोरा मान्छे भएर रुनु हुँदैन भन्ने सुन्दै आएका र कहिल्यै कोही रोएको नदेखेका पेलेले पहिलोपटक आफ्ना बाबु रोएको देखे। जुन घटनाले विश्वकप गुमाउनु भनेको ठूलो घटना रहेछ भन्ने लाग्यो। बुवालाई सम्झाउँदै उनले त्यतिवेलै भने, ‘चिन्ता नगर्नु बुवा। म हजुरलाई वर्ल्डकप जितेर दिन्छु।’

त्यति वेलासम्म पेले आफ्ना बुवाकै प्रशिक्षणमा फुटबल खेल्न लागिसकेका थिए। १९५४ को विश्वकप क्वार्टरफाइनलमा हंगेरीसँग पराजित हुँदै ब्राजिल बाहिरिँदा पेलेलाई पहिलेको भन्दा अलि बढी दुःख लाग्यो। त्यसपछिको विश्वकपमा भने पेले राष्ट्रिय टोलीबाट आफै मैदानमा उत्रिए। 

१९५८ मा पेले विश्वकप खेल्ने मात्र भएनन्, गोल गर्ने, एसिस्ट गर्ने, ह्याट्रिक गर्ने, फाइनलमा दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने। बाबुलाई वाचा गरेको ८ वर्षमा उनले ब्राजिललाई पहिलोपटक विश्वकप जिताए। उक्त प्रतियोगितामा पेलेले ४ खेलमा ६ गोल गर्दै उत्कृष्ट युवा खेलाडीको रूपमा अवार्ड पनि पाए। 

त्यति मात्र होइन‚ १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा पनि पेलेको योगदान महत्त्वपूर्ण रह्यो। उनले खेलेका जम्मा चार विश्वकप मध्ये तीनवटामा उपाधि जित्न सफल भए। त्यसो गर्ने उनी एक मात्र खेलाडी हुन्। उक्त १२ वर्षभित्र ब्राजिल विश्व फुटबलको सबैभन्दा शक्तिशाली टोलीको रूपमा चिनियो। पेले विश्व फुटबलको भगवान्‌को रूपमा चिनिए। 

पेले फुटबल इतिहासको पहिलो स्टार खेलाडीको रूपमा पनि चिनिन्छन्। निकै सीमित सञ्चारमाध्यम हुँदा पनि उनलाई विश्वले चिनेको थियो। फुटबल खेलेरै उनले विश्वलाई जोडेका थिए। सन् १९७० मा पहिलो पटक रंगीन टेलिभिजनमा विश्वकप प्रशारण हुँदा पेले आफ्नो अन्तिम विश्वकप खेलिरहेका थिए। पेलेले आफ्नो करिअरको तेस्रो विश्वकप उठाएको दृश्य विश्वले रंगीन टेलिभिजनमा हेर्‍यो। त्यसपछि विश्वभर उनको चर्चा चुलिएको थियो। त्यसरी उनको करिअरको सुखद अन्त्य पनि भयो।

अहिलेका चर्चित खेलाडीहरू नजन्मिँदै पेलेले खेल जीवनबाट संन्यास लिइसकेका थिए। बिहीवार राति ८२ वर्षको उमेरमा भौतिक रूपमा संसारलाई छोडेका पेलेको स्थान अहिलेसम्म कसैले लिन सकेको छैन। उक्त स्थानमा सधैँ पेले नै रहनेमा कसैले शंका पनि गरेका छैनन्। 

एउटा उत्कृष्ट फुटबल खेलाडीसँगै उनी गायन र अभिनयमा पनि रुचि राख्थे। उनले लेखेका, गाएका गीत अझै पनि सुन्न पाइन्छ भने अ मार्चा, स्केप टु भिक्ट्री, पेड्रो मिको, हटस्पोट लगायतका फिल्ममा अभिनय पनि गरेका छन्। २०१६ मा उनको बायोपिक पेले : बर्थ अफ अ लेजेन्ड सार्वजनिक भएको थियो। जसमा उनी पनि केमियो भूमिकामा देखिएका छन्।

पेलेले अहिलेका पुस्तामा धेरै प्रतिभाशाली खेलाडी निस्किए पनि फुटबलभन्दा बढी पैसालाई प्रेम गर्ने गरेको बताएका थिए। उनले भनेका थिए, ‘अहिले एउटै खेलाडी धेरै क्लबमा जान्छन्। बार्सामा खेल्नेले हरेक गोलपछि लोगो चुम्दै आइ लभ बार्सा भन्छन्। आइ लभ रियल माद्रिद, आइ लभ म्यानचेस्टर भन्छन्। त्यही खेलाडी अर्को क्लबमा जान्छ अनि त्यही नयाँ क्लबलाई लभ गर्छ। यो भनेको अलिकति बढी पैसा पाएको क्लबलाई माया गरेको हो। पैसालाई माया गरेको। अहिलेका खेलाडीहरूले फुटबललाई माया गरेको देख्दिनँ। जुन चिन्ताजनक कुरा हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.