|

इलाम : ग्रेनाइट पड्किएर इलामको फाकफोकथुम–१ पुरानो पञ्चमीका ८ वर्षीय बालक घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ८ वर्षीय निरज खड्का रहेका छन्। इलाम फाकफोकथुम १ नम्बर वडास्थित अँधेरी घर भई हाल पुरानो पञ्चमी बजारमा बस्दै आएका मनोज खड्काका छोरा घाइते भएको प्रहरी चौकी फाक्तेपका प्रहरी सहायक निरीक्षक रामनारायण माझीले जानकारी दिए।

राँके–रवि सडकअन्तर्गत इलामको फाकफोकथुम–१ नम्बर वडा र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको ४ नम्बर वडाको सिमानामा पर्ने उक्त बजारदेखि पाँच सय मिटर मुनि पाँचथरतर्फ शनिवार बिहान उनका साथीहरू १२ वर्षीय पवन खड्का र ११ वर्षीय उमेश आङ्देम्बेसँग घाँसदाउरा गएका वेला जंगलमा खिया लागेको हरियो डल्लो भेटिएको जनाइएको छ।

जंगलमा भेटिएको ग्रेनाइटलाई खेलौना सम्झिएर खेलाउँदै ल्याउने क्रममा बजार छेउ इलामतर्फ खाम्बाङ जाने बाटोमा पड्किएर बालक घाइते भएको प्रहरीले जनाए। दायाँ छाती, पेट र मुखमा रगत बगिरहेका बिरामी बालक सामान्य बोल्ने सक्ने अवस्थामा रहेको र उनलाई तत्काल उपचारका लागि झापा पठाइएको छ।

उनका अन्य साथीलाई भने केही नभएको जनाइएको छ। ह्याङ्गिङ ग्रेनाइट हुन सक्ने प्रहरीले बताउँदै कहाँ र कसरी त्यहाँ आयो, घटनाबारे थप अनुसन्धान गरिने बताइएको छ।

पारिवारिक अवस्था नाजुक रहेका बालकको उपचारका लागि घटनाको जानकारी पाएपछि फाकफोकथुम गाउँपालिकाबाट पनि सहयोग गरिने पालिका अध्यक्ष दीपेन्द्र खनालले जानकारी गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.