धनकुटा : धनकुटाको भेडेटारमा दशौँ भेडेटार फुड फेस्टिभल शुरु भएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेस्टिभल उद्घाटन गर्दै प्रदेश १ का सांसद निरन राईले भेडेटारको विकासका लागि सबैको हातेमालो हुनुपर्ने बताए।
धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यस्थल हो। भेडेटारमा ग्रेगोरियन नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष फेस्टिभल आयोजना हुने गरेको छ।
भेडेटार आउने विदेशी पर्यटमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई लक्षित गरी भेडेटार लगायत पूर्वी नेपालमा आकर्षित गर्न फेस्टिभल आयोजना गरिएको होटल एसोसिएशन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बूले बताइन्।
तीन दिनसम्म हुने फेस्टिभलमा विभिन्न जाति परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टल राखिने आयोजक होटल एसोसिएशन अफ भेडेटारले जनाएको छ।
फेस्टिभल अवधिमा भेडेटारमा विभिन्न पर्यटकीय गतिविधि पनि हुनेछन्, यसै अवधिमा हेलि फनफ्लाइट, प्याराग्लाइडिङ सञ्चालन गरिने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।