|

विराटनगर : प्रदेश १ मा सरकार गठनको प्रक्रिया शुरु भएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ मा सरकार गठनका लागि आह्वान गरेसँंगै एमाले र माओवादीबीच नै नेतृत्व कसले गर्ने भनेर तानातान भइरहेको छ।

आइतबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गरेका छन्।

पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसके पनि ३ मुख्यमन्त्री पाएको प्रदेश १ ले अब दोस्रो कार्यकालमा चौथो मुख्यमन्त्री पाउँदै छ।

यसका लागि संघमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा गठबन्धन दलभित्रकै एमाले र माओवादीको  प्रदेश सरकारको नेतृत्वका लागि दाबी रहेको छ।

यो पटक हामीलाई एमालेले सघाउनु पर्छ : माओवादी केन्द्र

प्रदेश सरकार गठनको पहिलो कार्यकालमा एमालेलाई सघाएको भन्दै माओवादी केन्द्रले यो कार्यकालमा आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आइरहेका छन्।

पहिले कार्यकालमा माओवादी केन्द्रले एमालेलाई सघाएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताए। यसपटक एमालेले माओवादी केन्द्रलाई सघाउनु पर्नेमा जोड दिँदै उनले आ–आफ्नो पार्टी नेताहरूसँग छलफल भइरहेको बताए।

प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका आङ्बोले केन्द्रमा नेताहरूबीच बन्ने सहमतिविपरीत भने नजाने  बताए।

केन्द्रको निर्णय पर्खनुको विकल्प छैन : एमाले

प्रदेश १ मा ठूलो दल रहेको एमाले ठूलो दल भएकै हैसियतले पनि आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिन्छन्।

प्रदेश सरकार गठनको पहिलो कार्यकाल अर्थात स्थापनाकालमा एमालेसँग बहुमत भएकाले नेतृत्वमा आफूहरूले दाबी गरेको नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले बताए। उनले यो पटक कसैसँग बहुमत नभएकाले केन्द्रको निर्णय पर्खनुको विकल्प नरहेको बताए।

नेता कार्कीले नेकपा एकीकृत समाजवादीसहितको प्रदेश सरकार बन्ने पनि बताए। उनले प्रदेश संरचना बलियो बनाउनुपर्ने अवस्था रहेकाले सबै मिलेर सहमतिको सरकार बनाउन कांग्रेसलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेका छ्न्।

यस्तो छ संसदीय गणित

प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो पार्टी बनेको छ। प्रदेशको तेस्रो पार्टी बनेको माओवादी केन्द्रसँग १३ सांसद छन् भने राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन्। अहिलेको सत्ता गठबन्धनमा सांसदको संख्या ६० पुग्छ।

नेकपा एकीकृत समाजवादीसँग ४ सांसद छ्न्। एकीकृत समाजवादी सरकारमा जाने नजाने ठोस निर्णय आइसकेको छैन। केन्द्रको निर्णयअनुसार एकीकृत समाजवादी अगाडि बढ्ने मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताउँदै आइरहेका छन्।

प्रदेशसभामा कुल ९३ सांसद भएकाले सरकार बनाउन भने ४७ सांसद आवश्यक पर्छ तर कुनै दलसँग ४७ सांसद छैनन्। प्रदेशको दोश्रो ठूलो दल काग्रेससँग २९ सांसद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.