|

म्याग्दी : म्याग्दी सदरमुकाम बेनीको मंगलाघाटबाट २५ दिनदेखि बेपत्ता एकै घरका दुई भाइ अझै फेला नपरेपछि परिवारजन चिन्तित बनेका छन्।

बेनी नगरपालिका–७, मंगलाघाटबाट मंसिर २२ गतेदेखि बेपत्ता सुरज छन्त्याल र इनसन छन्त्याल अझैसम्म पनि फेला परेका छैनन्।

बेनीस्थित प्रकाश माविमा कक्षा ५ मा पढ्ने ९ वर्षिय सुरज र कक्षा ३ मा पढ्ने ८ वर्षीय इनसन छन्त्याल बेपत्ता भएको २५ दिन बितिसक्दा समेत अहिलेसम्म कुनै अत्तोपत्तो नभएको परिवारले जनाएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका-८ स्थायी घर भई बेनीबजारमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी नन्दकुमारीले छोराहरू बेपत्ता भएको र लामो समयसम्म फेला नपरेको भन्दै उनीहरूको अवस्थाबारे पत्ता लगाई सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन्।

‘मजदुरी गरेर घर फर्किदा फेला परेनन्। केही दिन खोज्दा समेत नभेटेपछि प्रहरीलाई जानकारी गराएकी छु’‚ छन्त्यालले भनिन्।

श्रीमान्‌को मृत्यु भएपछि आफन्तको सहयोगमा बेनी आएकी नन्दकुमारीले ज्यालामजदुरी गरी छोराहरूको लालनपालन र शिक्षादीक्षा दिने गरेकी थिइन्। बेपत्ता दुई भाइको खोजीका लागि आफन्त लगायतका स्थानमा खोजे पनि फेला नपरेको आफन्त तोरण बुढाथोकीले जानकारी दिए।

‘छोराहरू बेपत्ता भएपछि आमा विक्षिप्त अवस्थामा छिन्। सबै ठाउँमा खोज्दा पनि कुनै पत्तो लागेन’‚ बुढाथोकीले भने।

बेपत्ता बालकलाई प्रलोभनमा फसाएर अपहरण गरेको हुनसक्ने भन्दै परिवारले चिन्ता जनाएको छ। परिवारले बालक खोजिदिन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिएको र खोजी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.