|

काठमाडौं :  तत्कालीन नेकपा विभाजनका बेला वाम एकताको अभियान सुरू गरेका वामदेव गौतम यतिबेला मौन छन्।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले देशको पछिल्लो विकशित राजनीतिक घटनाक्रमबारे वाम एकता वा पार्टी संगठन विस्तार कतै पनि चासो देखाएका छैनन्।

भैंसेपाटीस्थित निवासमै दिनचर्या बिताइरहेका गौतमले दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रलाई मिलाउन आफूले ‘रसायन’ (दुई वस्तुलाई जोड्ने पदार्थ) को काम गर्ने बताउने गरेका छन्। 

वाम एकता गराउने अभियानमा रहेका उनी नेकपा एमाले नै विभाजन भएपछि पर्ख र हेरको अवस्थामा छन्। उनको सचिवालयले दिएको जानकारीअनुसार गौतम पहिले नेकपा एमाले र एकीकृत समाजवादी पार्टी एक होस् भन्ने पक्षमा छन्। त्यसपछि मात्रै उनले वाम एकताको पक्षमा खुलेर लाग्नेछन्। 

‘उहाँ अहिले सामान्य लेखपढ गर्ने। राष्ट्रियसभा सदस्य भएकाले समितिका बैठकहरूमा जाने गर्नुहुन्छ। नेकपा विभाजन भएकाहरूलाई एक भएपछि आफू पनि सहभागी हुने बताउँदै आउनुभएको छ,’ गौतमका स्वकीय सचिव दीपककुमार टमटाले भने।  

वामदेवलाई एमालेमै फर्किन एमालेका नेताहरूले आग्रह गरिरहेका छन्। केही दिन अघि एमाले नेता महेश बस्नेत र सूर्य थापाले गौतमलाई भेटेरै एमालेमै फर्किन आग्रह गरे। तर, गौतमले एमालेमा रहेको ७० वर्षे उमेरहदका कारण फर्किन नसक्ने बताएका छन्। 

एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्य डा. रमेश खरेलले आफूहरू वाम एकताको पक्षमा रहेको बताए। उनले एमाले र समाजवादी पार्टी मिले आफूहरू पनि एकता गर्ने जानकारी दिए। 
 

‘अध्यक्षज्यूले वाम एकतालाई अगाडि बढाउनुपर्छ। एमाले र एकीकृत समाजवादी पार्टी एक भएपछि म पनि आउँछु भन्नुभएको छ,’ नेता खरेलले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ।’

उनका अनुसार गौतम तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा छैनन्। गौतमले पहिले अन्य दलहरूलई मिलाएर आफू सहभागी हुने सोच बनाएका छन्। 

‘अध्यक्षज्यूले देशको पछिल्लो परिस्थितिलाई नजिकबाट नियालिरहनु भएको छ। उहाँमा कम्युनिष्ट आन्दोलनलाई उर्वर बनाउन सकिएन भन्ने आत्मग्लानि पनि रहेको छ।

अहिले कम्युनिष्ट एकताबारे लेखन, अध्ययन गर्नुहुन्छ। आफ्नो स्वाभिमानलाई कुल्चिएर कुनै पार्टीसँग जानुहुन्न,’ उनले भने। 

एकता राष्ट्रिय अभियानका सचिव डिबी कार्कीले अध्यक्ष गौतम भित्री रूपमा कम्युनिष्ट एकताबारे गृहकार्य गरिरहेको बताए। 

‘उहाँ (वामदेव) कम्युनिष्ट एकताबारे गृहकार्य गरिरहनुभएको छ। एमाले, माओवादी, एकीकृत समाजवादी पार्टीका दोस्रो तहका नेताहरूसँग निरन्तर संवादमा हुनुहुन्छ,’ सचिव कार्कीले भने, ‘कतिपय विषयहरू आन्तरिक रूपमा गृहकार्य गर्नुपर्ने हुन्छ। ती विषयलाई बाहिर ल्याउँदा  असफल बनाउने षड्यन्त्र हुन्छन्।’

उनकी पत्नी तुलसा थापाले अध्यक्ष गौतम वाम एकता गराउने अभियानमा सक्रिय रहेको बताइन्। उनले पार्टीको संगठन विस्तार र एकताको पक्षमा गृहकार्य गरिरहेको जानकारी दिइन्। 

‘उहाँ वाम एकता गराउने अभियानमा हुनुहुन्छ। त्यससँगै पार्टीको संगठन विस्तार लगायतका काममा व्यस्त हुनुहुन्छ,’ थापाले थाहाखबरसँग भनिन्। 

प्रधानमन्त्री बन्ने उत्कट चाहना

वामदेवलाई एमालेमै फर्किन एमालेका नेताहरूले आग्रह गरिरहेका छन्। केही दिन अघि एमाले नेता महेश बस्नेत र सूर्य थापाले गौतमलाई भेटेरै एमालेमै फर्किन आग्रह गरे। तर, गौतमले एमालेमा रहेको ७० वर्षे उमेरहदका कारण फर्किन नसक्ने बताएका छन्। 

‘७० वर्षे उमेरहदका कारण एमालेमा फर्किने सम्भावना छैन। उमेर हद नागेको व्यक्ति कार्यकारी पदमा बस्न नहुने भन्ने छ। उहाँ कार्यकारी पदमा नहुने भएपछि समर्थक नबन्ने भन्नुभएको छ,’ स्वकीय सचिव टमटाले भने। 

राष्ट्रिय एकता अभियान पार्टीका सचिव डिबी कार्कीले एमालेमा रहेको ७० वर्षे उमेरहद नहटेसम्म आफूहरूले एकता नगर्ने बताए। उनले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि मात्रै एमालेमा जाने बताए। उनको भनाईलाई आधार मान्ने हो भने वामदेवलाई प्रधानमन्त्रीको हुटहुटी अझै बाँकी छ। 

गौतमलाई एकपटक देशको कार्यकारी पदमा बस्ने धोको छ। उनको प्रधानमन्त्री बन्ने धोको आजको भने होइन। तीनपटक उपप्रधानसहित गृहमन्त्री बनेका गौतमलाई २०७० सालको निर्वाचनपछि प्रधानमन्त्री बन्ने लालसा पलाएको प्रष्ट हुन्छ।

२०६७ सालमा माधव नेपाल प्रधानमन्त्री भएपछि गौतम र केपी शर्मा ओलीबीच एउटा भद्र सहमति भयो– अध्यक्ष र प्रधानमन्त्री बाँडेर लिने।

गौतमले २०७१ म सम्पन्न एमालेको नवौँ महाधिवेशनमा ओलीलाई अध्यक्ष र संसदीय दलको नेतामा जिताउन भूमिका खेलेका थिए। तर, ०७२ सालमा एमाले नेतृत्वको सरकार गठन हुँदा ओलीले वामदेवलाई प्रधानमन्त्री छोडेनन्। ओलीले २०७४ को निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन पाएका गौतम प्रतिनिधिसभामा एकाएक पराजित हुन पुगे।  

एउटै क्षेत्रबाट चारपटक चुनाव लडेका गौतमले ०७० सालको निर्वाचन क्षेत्र नै परिवर्तन गरे। दोस्रो संविधानसभा निर्वाचनमा जन्मथलो प्युठान रोजेका गौतम विजयी भए। यसपटक पनि उनी गृहमन्त्री भए। २०७० मा उनी उपप्रधान एवं गृहमन्त्री भएर २० महिना काम गरेका हुन्।  २०७४ को निर्वाचनमा कर्मथलो बर्दिया झरेका गौतम पराजित बने। त्यही पनि उनको संसदमा जाने मोह रोकिएन।

त्यसपछि उनको प्रधानमन्त्री बन्ने उत्कट चाहनामा ब्रेक लाग्यो। तर, उनलाई सांसद बने हुटहुटी चल्यो। तत्कालीन नेकपाबाट राष्ट्रियसभामा मनोनीत भए।

सर्वोच्च अदालतबाट नेकपा खारेज भए पनि उनले एमालेमा रहेर नेकपा पुनर्गठनको अभियान चलाए पनि सफल भएनन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनअघि माओवादी केन्द्रसँग एकताको प्रक्रियामा रहेका गौतम हँसिया हथौडा  चिन्हबाट चुनाव लड्ने तयारीमा थिए। तर, भागबण्डामा नमिल्ने बुझेपछि अन्त्यमा उनी ब्याक भए। 

तीनपटक सांसद, तीनपटक गृहमन्त्री

२०४७ वैशाख ९ गतेदेखि सक्रिय राजनीतिमा आएका गौतम तीनपटक सांसदमा विजयी, तीनपटक पराजित र तीनपटक नै गृहमन्त्री भइसकेका छन्।

०४८ मा पहिलोपटक बर्दिया १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका गौतम ०५१ को मध्यावधि निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भए। उक्त निर्वाचनपछि एमाले संस्थापक अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार गठन भएसँगै उनले उपमहासचिव भएर पार्टी हाँक्ने जिम्मेवारी पाए।

दोस्रोपटक सांसद बनेका गौतम ०५३ मा उपप्रधान एवं गृहमन्त्री भएर ८ महिना काम गरे। ०५४ मा सिपी मैनालीको साथमा नेकपा मालेतिर लागे। ०५६ को चुनावमा आफूसहित पार्टीले शून्य सिट पाएपछि ०५८ मा गौतम एमालेमै फर्किए।

अस्थीर राजनीतिक चरित्रका कारण ०६४ सालको निर्वाचनमा पनि लज्जापद हार व्यहोर्नुपर्‍यो। तर, पनि उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा झण्डै ९ महिना उपप्रधान एवं गृहमन्त्री बने।

एउटै क्षेत्रबाट चारपटक चुनाव लडेका गौतमले ०७० सालको निर्वाचन क्षेत्र नै परिवर्तन गरे। दोस्रो संविधानसभा निर्वाचनमा जन्मथलो प्युठान रोजेका गौतम विजयी भए। यसपटक पनि उनी गृहमन्त्री भए। २०७० मा उनी उपप्रधान एवं गृहमन्त्री भएर २० महिना काम गरेका हुन्।  २०७४ को निर्वाचनमा कर्मथलो बर्दिया झरेका गौतम पराजित बने। त्यही पनि उनको संसदमा जाने मोह रोकिएन। उनी तत्कालीन नेकपाबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भए। 

 नतिजा बिनाको लगाव

राष्ट्रिय राजनीतिका गौतम एक ‘किङ मेकर’को रूपमा परिचित छन्। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन होस वा नेकपा विभाजन हुनबाट बचाउन उनको विशेष भूमिका छ।

उनले नेकपा विभाजन भए पनि पुनः एकीकरण गराउने अभियान अझै जारी राखेका छन्। तर, वाम शक्ति एक बनाउने उनको अभियानले सार्थकता पाउन सकेको छैन।

यता, गौतमले आफू एमालेको नेता भए पनि तत्कालीन युद्धका बेला माओवादीका नेताहरूलाई पटकपटक मृत्युको मुखबाट बचाएको बताउने गरेका छन्।

गत मंसिरमा गौतमले माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने इच्छा व्यक्त गरे पनि  अन्तिममा दुवै पक्षका आ–आफ्ना स्वार्थका कारण गौतम यसपटक चुनाव नै लडेनन्।

पाँच दलीय गठबन्धनले सहयोग गरेको खण्डमा उनले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर चुनाव लड्ने तयारी गरेका थिए।

०७३ मा माओवादीले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि गौतमले संसदबाट भनेका थिए– 'मैले माओवादीका निम्ति धेरै योगदान गरेँ। मृत्युको मुखबाट धेरै माओवादी नेता र कार्यकर्तालाई बचाउने भूमिका खेलेको छु। मैले मेरो पार्टी एमालेभन्दा पनि माओवादी र प्रचण्डकै लागि काम गरेको छु। प्रचण्डसँगको मित्रता यत्ति धेरै निकट रहयो कि मैले कहिल्यै प्रचण्डको कुभलो चिताएको छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.