|

बागलुङ : जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष  सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। 

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।

निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा–चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो। सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा.भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारण गरेको हो। 

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा÷चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो।

फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.