|

विराटनगर : प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै यति वेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू गृहकार्यमा जुटेका छन्।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्न पुस २४ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन। त्यसो हुँदा संघको राजनीतिक समीकरणअनुसार प्रदेश १ मा एमाले र माओवादी केन्द्र बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेश गर्ने दौडमा लागिरहेका छन्। बहुमतसहित दाबी पेश गर्न नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाले गृहकार्य थालेका हुन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेसँग ४०, जसपासँग १ जना र राप्रपासँग ४ जना सांसद छन् भने संघको सत्ता समीकरणअनुसार माओवादी केन्द्रका १३ सिट गरी नयाँ सत्ता गठबन्धनको ६० मत  रहेको छ।

छलफलमा जुट्दै दलका नेताहरू

प्रदेश १ सरकार गठनको विषयमा दलहरूबीच छुट्टाछुट्टै छलफल भइरहेको नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए। स‌ंघमा गठबन्धन गरेका दलहरूकै नेतृत्वमा सरकार बन्ने भएको कारण उनीहरूसँग छलफल भइरहेको उनले बताए। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि छुट्टाछुट्टै अनौपचारिक छलफल भए पनि संयुक्त ढंगले छलफल शुरु नभएको बताए।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बोले प्रदेश १ मा कसको नेतृत्वमा सरकार बन्छ भन्ने टुंगो लागेपछि घनीभूत छलफल हुने बताए।

उनले निर्धारित समयभित्रै सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष जाने जानकारी दिए। यता जसपाकी एक्ली सांसद निर्मला लिम्बूले भने संघमा दलको बैठक हुँदै गरेको बताउँदै उनले सरकारलाई समर्थन गरेर जाने वा नजाने भन्ने कुनै  ठोस निर्णय नभएको बताइन्।

‘हाम्रो दलको बैठक बसिरहेको छ। चुनावी समीक्षासहितको सरकारमा जाने नजाने भन्ने विषयको ठोस निर्णय भइसकेको छैन’, उनले भनिन्, ‘सरकार गठनको विषयमा मैले अहिले यसै बोल्न चाहिनँ, बैठकबाट के निष्कर्ष आउँछ अनि कुरा गर्नेछु।’

नेतृत्वमा दुवै दलको दाबी

प्रदेश १ मा प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धन दलभित्रको एमाले र माओवादी केन्द्रको दाबी रहेको छ।

मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी छ। त्यसो त प्रदेश तहबाट दाबी गरेका नेताहरूले केन्द्रीय नेतृत्वलाई पनि दबाब दिइरहेका छन्।

संघको निर्णयको पर्खाइमा रहेको दुई दलका नेताहरू आफू नेतृत्वको सरकार बन्नुपर्छ भन्नेमा दबाव पेश गर्न समिति नै गठन गरेका छन्। माओवादी केन्द्रले राम कार्कीको नेतृत्वमा  समिति बनाएको छ। नेकपा एमालेले प्रदेश संसदीय दलको नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा समिति बनाएको छ।

संघीय तहमा भएको भागबण्डाअनुसार नै प्रदेशमा अगाडि बढ्ने बताउँदै आए पनि माओवादी केन्द्रले अघिल्लो कार्यकालमा भागबण्डामा प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसमेत एमालेलाई छोडिदिएको हुँदा यो पटक माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा मन्त्री आङ्बोले जोड दिँदै आएका छन्। त्यसो त भागबण्डाको टुंगो पनि केन्द्रको निर्णय कुरिरहेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको भनाइ छ।

यस्तो छ प्रदेशसभामा सांसदहरूको अंकगणित

प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभामा छन्। जसमा सबैभन्दा ठूलो दल नेकपा एमाले रहेको छ। एमालेसँग ४० सांसद छन्। दोस्रो ठूलो दल नेपाली कांग्रेससँग २९ जना सांसद छन् भने तेस्रो ठूलो दल रहेको नेकपा माओवादी केन्द्रसँग १३ जना सांसद छन्।

यसैगरी चौथो स्थानमा रहेको राप्रपासँग ६ जना सांसद छन्।  नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.