|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १२ कुण्डा टोलका अन्दाजी ५० वर्षीय जीतबहादुर भाट जंगली हात्तीेको आक्रमणबाट मंगलवार गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भाटलाई उपचारका लागि कैलालीको धनगढी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लगिएको छ।

घरमै आएको हात्तीले बिहान कुहिरो लागेका वेला लखेटेर भाटलाई घाइते बनाएको पूर्व वडाध्यक्ष बाले रानाले बताए। भाटको घरको पाली समेत हात्तीले भत्काइदिएको छ।

भाटलाई घाइते बनाएपछि हात्ती पूर्व वडाध्यक्ष रानाको उखुबारीमा पसेको छ। ‘उखुबारीमा हात्ती पसेपछि दिनभर भगाउने प्रयास गरे पनि भागेको छैन’, उनले भने, ‘भगाउन जाँदा दौडेर लखेट्नका लागि आउन थालेको छ।’ उखु पूरै खुट्टाले कुल्चे र खाएर नोक्सान गरेको उनले बताए।

जंगली हात्ती भगाउन प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको टोली र सर्वसाधारणले प्रयास गरिरहेको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिए। गत वर्ष हात्तीले आक्रमण गरी वडा नं १२ का दुईजनाको ज्यान लिएको थियो।

त्यसको अघिल्लो वर्ष वडा नं १ मा एकजनाको हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो। यो वर्ष समेत वडा नं ७ सिमलफाँटाकी एक बालिकाको हात्तीले ज्यान लिएको थियो।

हात्तीले प्रतिवर्ष भौतिकसँगै मानविय क्षति निम्त्याउँदै आए पनि नियन्त्रण हुन नसक्दा यस क्षेत्रका बासिन्दा त्रसित अवस्थामा छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.