|

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता नपाउँदै संवैधानिक पदहरूको नेतृत्वमाथि चर्चा सुरु भएको छ। प्रचण्ड सात दलको समर्थनमा प्रधानमन्त्री बने पनि मन्त्रिमण्डलले पूर्णता नपाउँदै नेताहरूका नजर संवैधानिक पदमा पुगेको हो। 

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले राष्ट्रपति लिने पूर्व-सहमतिबमोजिम आकांक्षीहरूको संख्या पनि बढेको छ। हाल राष्ट्रपति विद्यादेवी भण्डारी छन्। उनी राष्ट्रपति बन्नुअघि एमालेको सक्रिय राजनीतिमा थिइन्। राष्ट्रपतिको कार्यकाल फागुन २९ गतेदेखि सकिँदै छ। यसपटक पनि राष्ट्रपति पद एमालेबाट पाउने सहमति बनेको बताइएको छ। तर, एमालेभित्र अब राष्ट्रपति को  बन्ने? भन्ने विषय थप पेचिलो बन्दै गइरहेको छ। 

राष्ट्रपतिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको विषयमा सम्भावित उम्मेदवार नेम्वाङसँग मंगलबार छलफल गरेका छन्। ओलीनिवास बालकोटमा करिब दुई घण्टा उपाध्यक्ष नेम्वाङसँग भएको छलफलमा राष्ट्रपति पदको विषयमा कुराकानी भएको बताइएको छ।

ओलीसँग भएको भेटको पुष्टि गर्दै उपाध्यक्ष नेम्वाङले समग्र पार्टीको कामको विषयमा कुराकानी भएको बताए। 

तर, हिजो (मंगलबार)को भेटमा अध्यक्ष ओलीले तपाईंलाई राष्ट्रपति बनाउने ‘ग्रिन सिग्नल’ दिनुभयो रे नि? भन्ने हाम्रो प्रश्नमा उपाध्यक्ष नेम्वाङले भने, ‘हिजो हामीले पार्टीको समग्र विषयमा छलफल गरेका हौँ। राष्ट्रपतिको विषय अध्यक्ष कमरेडले टुंगो लगाउनुहुन्छ। अहिलेसम्म पार्टीमा छलफल भएको छैन।’

यता, उपाध्यक्ष शाक्यले राष्ट्रपतिको विषयमा आफ्नो नाम जोडेर जति चर्चा भए पनि अहिलेसम्म अध्यक्ष ओलीले कुनै संकेत नगरेको बताइन्। पार्टीले मूल्यांकन गरेर क्षमताका आधारमा जिम्मेवारी दिँदा आफूलाई कुनै आपत्ति नहुने उनको भनाइ छ। 

‘राष्ट्रपति जस्तो गरिमामय पदमा बस्न योग्य व्यक्तिलाई नै अध्यक्षले छनोट गर्नुहोला। तर, यो विषय पार्टीभित्र पनि छलफल गरेर टुंगो लगाउनु राम्रो हुन्छ,’शाक्यले थाहाखबरसँग भनिन्। 

प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ८ बाट अध्यक्ष ओलीले उठ्न टिकट दिँदा पनि अस्वीकार गरेकी शाक्यलाई राष्ट्रपति बनाउनुपर्ने आवाज पनि एमालेभित्र उठिरहेको छ। अध्यक्ष ओलीले नेताहरूसँग विभिन्न कोणबाट छलफल गरिरहेको स्रोतको दाबी छ। 

गैरसांसदलाई उठाउने तयारी

ओलीले गैरसांसद व्‍यक्तिलाई राष्ट्रपति बनाउन खोजेका छन्। निर्वाचित सांसदलाई राष्ट्रपति बनाउँदा प्रतिनिधिसभामा सिट संख्या घट्ने डर ओलीलाई छ। नेम्वाङलाई राष्ट्रपति बनाउँदा उनको ठाउँमा इलाम–१ मा उपनिर्वाचन गराउनुपर्नेछ। 

अध्यक्ष ओलीले आफ्नो विश्वास पात्रलाई राष्ट्रपति बनाउन चाहेका छन्। ओलीका लागि नेम्वाङ विश्वासिलो पात्र हुन्। 

‘पार्टीमा सबैभन्दा बलियो उम्मेदवार सुवासजी हुनुहन्छ। किनकि उहाँ कानुनको ज्ञाता भएको नाताले पनि अध्यक्ष कमरेडले उहाँलाई राष्ट्रपति बनाउने प्रवल सम्भावना छ,’ एमालेका एक पदाधिकारीले भने। 

उपराष्ट्रपतिमा माओवादीजसपाको दाबी 

उपराष्ट्रपतिमा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दाबी गरेका छन्। माओवादीले राष्ट्रपति, सभामुख र उपसभामुख पद नपाउने भएपछि उपराष्ट्रपति पद आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। त्यस्तै, जसपाले पनि उपराष्ट्रपतिमा दाबी पेश गरेको छ।

उपराष्ट्रपति पाउने भएमा माओवादीबाट दुई जनाको नाम चर्चामा छ। माओवादी नेतृ ओनसरी घर्ती, पूर्व-उपसभामुख पूर्णाकुमारी सुवेदी  र जयपुरी घर्तीले उपराष्ट्रपतिमा आकांक्षा देखाएका हुन्। साथै माओवादी केन्द्रबाट पुरुषतर्फ पूर्व-सभामुखद्वय कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा, नेताहरू एनके प्रसाईं र दीनानाथ शर्माको  दाबी रहेको छ। 

एमालेले पुरुषलाई राष्ट्रपति बनाएको खण्डमा फरक लिङ्ग वा समुदायबाट एकजना उपराष्ट्रपति बनाउनुपर्ने संवैधानिक प्रावधान छ। माओवादीले उपराष्ट्रपति पाए बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पाउनुपर्ने दाबी गरेको छ। अध्यक्ष भट्टराईले यसका लागि महिन्द्र राय यादवलाई अघि सार्ने तयारी गरेका छन्।

यसबारे उनले  सोमबार नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेट गरेर जानकारी गराइसकेका छन्। भट्टराई नेतृत्वको समाजवादी पार्टी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर होमिएको थियो।

उनको पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ यादव र प्रदेशसभातर्फ बागमतीमा गंगानारायण श्रेष्ठ र गण्डकीमा फणीन्द्र देवकोटा निर्वाचित भएका छन्।

संघ र प्रदेश सरकारमा आफ्ना सांसदको व्यवस्थापनका लागि भट्टराईले प्रचण्ड र ओलीसँग संवाद गरेको स्रोतले जनाएको छ। भट्टराईले मंसिर ४ को निर्वाचनमा गोरखा २ बाट प्रचण्डलाई चुनाव लड्न सघाएका थिए। उनले आफू चुनाव नलडेर प्रचण्डलाई जिताएर पठाएका हुन्। प्रचण्डलाई लगाएको गुनको जस लिने पक्षमा भट्टराई देखिएका छन्। 

यता, जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा आकांक्षा देखाएको छ। अध्यक्ष उपेन्द्र यादवले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन खोजेको स्रोतले जानकारी दियो। 

यादव उपराष्ट्रपति भए उनको ठाउँमा रिक्त हुने बारा-२ बाट उपनिर्वाचन लड्ने तयारी अध्यक्ष यादवको छ। उनको संसदमा जाने लालचका कारण जसपाले उपराष्ट्रपतिमा दाबी नछोड्ने बुझिएको छ। अध्यक्ष यादवले उपराष्ट्रपतिका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग निरन्तर संवाद गरिरहेका छन्। 

‘जसपाले उपराष्ट्रपति पाउने सम्भावना छ। किनकि उपेन्द्रजीले उपराष्ट्रपति पाए धेरै मन्त्रालयमा दाबी नगर्ने उहाँले स्पष्ट पारिसक्नुभएको छ,’ एमालेका एक पोलिटब्युरो सदस्यले भने। 

उनी मंसिर ४ को निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। 

जसपा प्रवक्ता मनीषकुमार सुमनले सरकारले ल्याउने नीति तथा कार्यक्रमबमोजिम निर्क्योल गर्ने बताए। उनले राजतन्त्र ल्याउने र संघीयताविरोधी दलहरू सरकारमा रहेकाले नीति तथा कार्यक्रम हेरेर आवश्यक निर्णय लिने बताए।

प्रवक्ता सुमनले सरकारमा आफूहरूले पाउने भागबन्डाको विषयमा समिति गठन गरिएकाले सोहीअनुसार उपराष्ट्रपति र मन्त्रालयको भागबन्डा टुंगो लाग्ने बताए। 

संविधानको भाग ६ मा राष्ट्रपति र उपराष्ट्रपतिबारे व्यवस्था छ। सोही भागको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने व्वस्था छ। यस हिसाबले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा फरक समुदायबाट हुन पाउनेछ।

सभामुखमा एमाले र उपसभामुखमा रास्वपा

गठबन्धन दलमा सभामुख पदमा नेकपा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ। नयाँ सरकार गठनका बेला सभामुख र उपसभामुखमा टुंगो लागेको हो। सभामुखमा नेकपा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र छविलाल विश्वकर्माको नाम चर्चामा छ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङलाई हराउँदै गुरूङ लमजुङबाट विजयी भएका थिए। यस्तै, विश्वकर्मा पनि घनश्याम भुसाललाई हराउँदै रूपन्देही–३ बाट निर्वाचित भएका हुन। ​गुरूङले विश्वकर्माभन्दा आफू सिनियर भएका हिसाबले सभामुखमा स्वाभाविक दाबेदारी प्रस्तुत गरेका छन्। 

‘मलाई अहिलेसम्म कसैले सभामुख बनिदिनुपर्‍यो भनेका छैनन्। तर, पार्टीले दिएको जिम्मेवारी निभाउन तयार छु। चाहे त्यो पार्टीको काम होस् या सरकारको,’ गुरूङले भने। 

यता, एमाले स्रोतले विश्वकर्मालाई सभामुख बनाउने तयारी भएको जानकारी दियो। अध्यक्ष ओलीले छविलाललाई सभामुख बनाएर गुरूङलाई अरू कुनै जिम्मेवारी दिने तयारी गरेका छन्। 

‘सभामुखमा छविलालजीको सम्भावना छ। पिएस (पृथ्वीसुब्बा) कमरेडले सभामुख नबन्ने बरू मन्त्री बन्ने मसँगको भेटमा बताउनुभएको छ,’ एमालेका एक नेताले थाहाखबरसँग भने। 

साथै उपसभामुखमा रास्वपाबाट सोविता गौतमको सम्भावना छ। सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गौतमलाई उपसभामुख बनाउने संकेत दिएका छन्। कानुनी विषयमा जानकार रहेकी उनले पूर्व-सभामुख ओनसरी घर्तीलाई काठमाडौं–२ बाट पराजित गरेकी थिइन्।

एमालेबाट पुरुष सभामुख आउने भएकाले उपसभामुखमा गौतमको सम्भावना छ। किनकि संविधानको धारा ९१ को उपधारा (२) मा सभामुख र उपसभामुख फरक-फरक लिङ्गबाट हुनुपर्ने स्पष्ट व्यवस्था छ।

प्रतिनिधिसभाको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाइएको छ। पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.