|

छवि अनित्य

रेइनी। उनको फेसबुक अकाउन्ट। मैले केही समय यता पछ्याइरहेको एउटा नाम फेसबुकमा।

मलाई विश्वास छ, यो उनको वास्तविक नाम होइन। नेपाली नाम त बरु रेनु वा अलि तल चुरे झरेपछि रेणु हुनसक्थ्यो। तर उनले रोमनमा लेखेकी छिन्, आर् इ आइ एन इ — रेइनी। उच्चारण मैले गर्नेभन्दा केही फरक पनि त हुनसक्छ ! के फरक पर्छ?

उनलाई खास पछ्याउनुका केही कारण छन्। सबैभन्दा ठूलो कारण उनको आइडल, भारतीय कवि—लेखक अरुन्धती राय। कसैकसैले ‘रोय’ पनि भन्छन्। जेसुकै भनुन्, मलाई त अझ राई भैदिएको भए उच्चारण गर्न सजिलो हुन्थ्यो। त्यसो हुँदो हो त अपनत्व पनि बढ्थ्यो होला नि?

हो, उनी खुबै पछ्याउँथिन् अरुन्धतीलाई। र म पछ्याउँथेँ उनलाई। तर न उनले अरुन्धतीलाई भेटेकी छिन्, न त मैले उनलाई। बस् भेट्ने धोको छ शायद दुबैतिर।

मैले पहिलो पटक उनलाई त्यतिबेला पछ्याएको थिएँ जतिबेला उनको प्रोफाइल पिक्चरमा थियो ‘द गड अफ स्मल थिङ्स्’। ठुल्ठुला कमलका पातहरुबीचमा चेपिएर सकिनसकि फुल्न खोजिरहेका कोपिलाहरु थिए। तल कुनामा सुनौलो घेरामा लेखिएको थियो ‘विनर अफ द बुकर प्राइज’। यसलाई विज्ञापन भनिँदैन होला नि? 

अघि भर्‍याङबाट उक्लँदै गर्दा एक जोर आँखा मलाई हेरेर मुस्कुराए जस्तो लागेको थियो। मैले त बल्ल पो याद गरेँ। हो नि, आँखा मुस्कुराउँछ। नपत्याए ऐनाअघि उभिएर एकपटक रिसाएर हेर्नुस्। अनि फेरि एकपटक मुस्कुराएर हेर्नुस् त। ओठको भाषासँग अभिव्यक्त भैरहेको हुन्छ आँखा पनि।

क्याप्सनमा उनले लेखेकी थिइन् – ‘चेन्ज इज वन थिङ्ग, एसेप्टेन्स इज एनोदर।’

‘द गड अफ स्मल थिङ्स्’ मैले नपढेको किताब थियो। यो ठुलो कुरो हो र? संसारमा कति बेस्ट सेलर किताब छन्, ती सबै पढेर सकिन्छ र? वा अरुन्धतीले हाम्रा देवकोटा, पारिजात पढेकी छिन् होला र? आआफ्नो रुचीको कुरो हो नि।

ठुलो कुरा त अब थियो। यहाँ थियो। उनले ‘चेक इन’ मा मेन्सन गरेकी थिइन् – ‘क्याफे डे ला फ्युमी, हेटौंडा’। मतलब उनी हेटौंडाकी ! यहाँ त प्रत्येक राम्रा पाठकलाई चिन्दछु म। फेरि मैले आजसम्म नचिनेकी को हुन् यिनी? जो होउन्, मलाई चिन्नु नै त थिएन। तर पछ्याउनु जरुर थियो। किनकि यति असल पाठकलाई मिस गर्नु मजस्तो ‘बन्दै गरेको लेखक’का लागि घाटाको विषय हुन सक्थ्यो।

कम्तीमा शहरमा कहिलेकाहीँ चलेका लेखकका पुस्तकमाथि अन्तरक्रिया हुन्थे। कुनै बेलामौकामा आफ्नै लेख रचनाहरु सुनाउने जमघट बढाउन सकिन्थ्यो। मलाई असल पाठक छुटाउनु हुन्न भन्ने जहिल्यै लाग्छ, रेइनीको प्रोफाइलमा पुगेपछि पनि लाग्यो।

मैले पछ्याएँ, रेइनीलाई।

र तुरुन्तै पछ्याउन थालेँ ‘क्याफे डे ला फ्युमी’। मलाई लाग्दछ कि म यो शहरका हरेक भट्टी, मः मः होटलदेखि ठुला रेस्टुराँसम्म पसेको छु। तर मलाई थाहा थिएन, कहाँ छ यो क्याफे?

उनले चेक इन गर्नुको अर्थ पक्कै भेटिन्छ गुगलमा ! गुगल म्याप्स खोलेँ र टाइप गरेँ ‘क्याफे डे ला फ्युमी’।

यो त त्यहीँ थियो, जुन बाटो भएर म दिनको दुईपटक कम्तिमा ओहोरदोहोर गर्थेँ। मैले किन देखिनँ त्यो नामको क्याफे त्यहाँ?

.....

आज थोरै फुर्सदमा छु। मलाई जसरी पनि भेट्टाउनु छ ‘क्याफे डे ला फ्युमी’।

केही समय यताका रेइनीका प्रायः पोस्टहरु हेरेको छु। लगभग एउटै समयमा उनले क्याफेमा चेक इन गरेकी हुन्छिन्। करिब करिब साँढे एक बजेको आसपास। मलाई थाहा छ, यो जागिरेहरुको ‘लन्च आवर’ हो।

गुगल म्यापले क्याफेको लोकेसन देखाएको मोडको एक छेउमा पार्किङ गरेँ। वरपरका होर्डिङ बोर्डहरु हेर्न थालेँ। त्यहाँ कतै पनि ‘क्याफे डे ला फ्युमी’ थिएन। फेरि सबैतिर नजर डुलाएँ। एउटा गल्लीको भित्री भित्तामा कफिको कपको आकर्षक पेन्टिङ थियो। लेखिएको थियो – ‘गुड मर्निङ क्याफे’।

जे होस्, क्याफे त छ।

म त्यही गल्लीबाट भित्र छिरेँ।

साँघुरो गल्लीबाट अलिकति भित्र बायाँपट्टी उक्लने साँघुरै भ¥याङ। सुन्तला रङका भित्ताहरुमा टाँसिएका काला—सेता ससाना काठका बाकसहरु। बाकसभित्र कतै सुन्दर कलाकृति, कतै ससाना गमला। पहिलो तल्लामा दायाँपट्टि सानो किचन।

एक्कासी हरियो खुर्सानी डढाएको पिरो राग नाकबाट भित्र छि¥यो। बडो मुस्किलले थामिएँ। कसैले चाउमिन अर्डर गरेको हुनुपर्छ।

बायाँपट्टि करिब अठार–बीसको साइजको एउटा कोठा। ढोकाबाट छिर्नेबित्तिकै बायाँ कुनामा रिसेप्सन। भित्र मुस्किलले चारवटा टेबल अटाएका छन्। भित्तामा गौतम बुद्धको पेन्टिङ शान्त मुद्रामा आँखा चिम्लेर बसेका छन्। दायाँ लहरमा झ्यालको छेवैमा भएको टेबलमा दुई किशारीहरु छन्। दुबै आआफ्ना फोनमा व्यस्त छन्। अर्को टेबलमा एक जोडी (नै त हुनुपर्छ) अधवैंसे छन्।

ओहो ! भुसुक्कै बिर्सेको।

अघि भर्‍याङबाट उक्लँदै गर्दा एक जोर आँखा मलाई हेरेर मुस्कुराए जस्तो लागेको थियो। मैले त बल्ल पो याद गरेँ। हो नि, आँखा मुस्कुराउँछ। नपत्याए ऐनाअघि उभिएर एकपटक रिसाएर हेर्नुस्। अनि फेरि एकपटक मुस्कुराएर हेर्नुस् त। ओठको भाषासँग अभिव्यक्त भैरहेको हुन्छ आँखा पनि।

शायद ती आँखा मैले चिनेको हुनुपर्छ।

झट्ट सम्झेँ तिनको कालो टिसर्ट र त्यसमा छापिएको आइफल टावर। मान्छे बिना अर्थ त केही लगाउँदैन।

बायाँ कर्नरको टेबलमा बसेँ। रिसेप्सनबाट उठेर एउटा गिलासमा पानी भरेर भाइ आयो। पानीको ग्लास टेबलमा राखेर मेनु त्यसको छेवैमा राख्यो।

‘टु सिगरेट्स् ब्रो !’

अहँ, मैले होइन। झ्यालको छेवैको टेबलमा म भएतिरै फर्केर बसेकी किशोरीले अर्डर गरिन्।

मैले त मेनु पनि पल्टाइनँ। अर्डर गरेँ, ‘एउटा झोल मः मः, बफ।’

म त ‘क्याफे डे ला फ्युमी’ खोज्दै पो यहाँ आइपुगेको। कहाँ यो धुवाँभित्र हराउन आइपुगेँ। म भित्रको तलतल अचानक जागृत भएर आयो। धेरै भैसकेको थियो आफैंलाई नियन्त्रण गरेको। वेटरलाई बोलाएँ र एक खिल्लि अर्डर गरेँ।

यहाँ धुमपान निषेध छैन।

पहिलो प्रवेशमा मैले यही बुझेँ।

एक सर्को तानेर मोबाइल खोलेँ। रेइनीले केहीबेर अघि मात्रै पोस्ट गरेकी थिइन्।

‘सि निउ भेरि वेल द्याट सि निउ भेरि वेल द्याट सि निउ भेरि वेल।’ क्याप्सनसँगै थियो ‘द मिनिस्ट्री अफ अट्मस्ट ह्याप्पिनस’ को कभर।

मोबाइलको ट्रान्सलेट एपमा टाइप गरेँ ‘क्याफे डे ला फ्युमी’। ‘डे ला’ शब्दले यो फ्रेन्च भएकोमा म ढुक्क थिएँ। नेपालीमा अनुवाद भएर आयो, ‘धुवाँको क्याफे’। म सही ठाउँमा आएको रहेछु।

झ्याल छेउका टेबलमा बसेकी अर्की किशोरीले अर्डर गरिन् ‘डबल एप्पल हुक्का’। म हुक्काको फ्लेवरसँगै मः मः को स्वाद लिन थालेँ।

.....

‘सि वाजन्ट अ वुमन हु स्माइल्ड एन्ड सेइड हेल्लो।’

रेइनीले आज प्रोफाइल पिक्चर फेरेकी छिन्। ब्लाक एन्ड ह्वाइट तस्बिर छ। बुर्का झैँ लाग्ने गरी अनुहारमा सलले छोपेकी छिन्। क्याप्सनसँगै ह्यासट्गमा उल्लेख गरेकी छिन् अरुन्धती राय र ‘द मिनिस्ट्रि अफ अट्मस्ट ह्याप्पिनस’।

समय दिउँसो १ बजेर ३३ मिनेट।

बिहानै अस्पताल पुगेको थिएँ। पुग्नै पर्ने थियो। स्वास्थ्यमा केही गडबडी भैरहेको थियो। स्वासप्रश्वासमा केही समस्या आइरहेको थियो। अझ कोभिड महामारीमा जहिल्यै मास्क लगाउनुपर्ने बाध्यतामा यो झनै कठिन थियो। मलाई सरकारी अस्पतालको लामो लाइनमा बसेर दिन बिताउनु थिएन। एउटा निजी अस्पतालमा पुगेँ। 

शायद म चाहन्थें रेइनी मसँगै होउन्। वा फेरि ‘क्याफे डे ला फ्युमी’ मा, त्यो धुवाँको क्याफेमा कुनाको टेबल सेयर गरिरहेकी होउन्। हामी एक खिल्ली अर्डर गरौँ। उनका औंलाहरुले उसैगरी कलात्मक ढंगले च्यापून् खिल्ली। उनका ओठहरुले प्रेमपूर्वक स्पर्श गरुन् पटकपटक त्यो खिल्लीलाई। अनि करिब अठार–बीस साइजको त्यो कोठाभरी नृत्य गरुन् धुवाँका रेसाहरुले !

डाक्टरको कोठामा पस्ने बित्तिकै नर्सले ‘हेल्लो !’ भनिन्। मैले ‘हाई !’ ले जवाफ फर्काउनु नै थियो।

डाक्टर भेट्नुअघि प्रेसर जाँच गर्नु नै थियो। त्यसैको लागि उनी त्यहाँ थिइन्। कफलाई मेरो पाखुरामा बाँध्दै गर्दा सोधिन् ‘अचेल नयाँ कविता आउन छोड्यो नि तपाईँको !’

‘अँ, अचेल लेखाइ अलि कम नै छ।’

‘फेसबुकमा पढ्छु तपाईँका कविता। राम्रा लाग्छन्।’

‘धन्यवाद ! केही नयाँ लेखिए भने पोस्ट गर्छु नै।’

कागजमा प्रेसर नोट गरिन्, १३०÷१००। सामान्य स्वास्थ्य परीक्षण भयो। डाक्टरले छातीको एक्स रे गर्न सिफारिस गरे। एक्सरेको कागज लिएर फेरि उही कोठामा गएँ।

‘चुरोट कम पिउनुस्। तपाईँलाई राम्रो गर्दैन।’ डाक्टरले चेतावनीको स्वरमा सुझाए। प्रेस्क्रिप्सन हातमा लिएर म बाहिरिएँ।

मैले नचिनेकी मलाई फेसबुकमा पछ्याउने नर्सले केही भनुँ झैँ गरिन्, तर भनिनन्। उनको एप्रोनमा छातीको बायाँपट्टि लेखिएको नाम पढेँ, रानी केसी।

.....

यसपटक रेइनीको पोस्टमा सल्किरहेको चुरोट एस्ट्रेको डिलमा सानसँग अडेको थियो।

‘द वन्ली ड्रिम वर्थ ह्याविङ, आइ टोल्ड हर, इज टु ड्रिम द्याट यु विल लिभ ह्वाइल यु आर अलाइव एन्ड डाइ ह्वेन यु आर डेड।’

ह्यासट्याग अरुन्धती राय र ‘द कस्ट अफ लिभिङ’।

केहीबेर अडिएपछि मैले लाइक बटनमा केहीबेर थिचेँ। त्यसपछि ‘लव रियाक्ट’ दबाएँ।

अचानक मेरो आँखा अघिल्तिर रेइनी उभिएकी थिइन्। उनका दायाँ हातका चोर औंला र माझी औंलाका बीचमा च्यापिएको चुरोटको खिल्ली बडो कलात्मक ढंगले धुवाँका रेसाहरु छोडिरहेको थियो। मलाई आफ्नै औंलाहरुदेखि घृणा लाग्यो। किन मेरा औंलाहरुले कहिल्यै यति कलात्मक ढंगले च्याप्न सकेन चुरोटको खिल्ली? किन मेरा औंलाहरुमा च्यापिएको चुरोटको ठुटोबाट निस्केनन् यति सुन्दर धुवाँका रेसाहरु? कि यो ओठको जादू हो? ती गुलाबी ओठको ! जसको स्पर्श पाउँदा बित्तिकै रोमाञ्चित भएर सल्किन्छ चुरोटको खिल्ली। जसले प्रेमपूर्वक तानेको पफमा लहरिन थाल्छन् धुवाँका रेसाहरु। यो आफैंमा अद्भुत थियो। यो फगत कल्पना थियो !

शायद म चाहन्थें रेइनी मसँगै होउन्। वा फेरि ‘क्याफे डे ला फ्युमी’ मा, त्यो धुवाँको क्याफेमा कुनाको टेबल सेयर गरिरहेकी होउन्। हामी एक खिल्ली अर्डर गरौँ। उनका औंलाहरुले उसैगरी कलात्मक ढंगले च्यापून् खिल्ली। उनका ओठहरुले प्रेमपूर्वक स्पर्श गरुन् पटकपटक त्यो खिल्लीलाई। अनि करिब अठार–बीस साइजको त्यो कोठाभरी नृत्य गरुन् धुवाँका रेसाहरुले !

वा फेरि यस्तो होस् न – कुनै शान्त नदिका किनारमा होऔं हामी। आकाशमा ताराहरु टिल्पिलाइरहेका होउन्। उनले कपालमा सुगन्धित फूल सिउरेकी होऊन्। म घरीघरी उनका आँखामा हेरिरहूँ। र देखिरहूँ जादुई रहस्यहरु। घन्टौं बितून् यसैगरी। हामी नबोली रहौं। उनी नबोलून्। म हेरिरहूँ।

धत् ! म त फेरि फर्केर ‘द गड अफ स्मल थिङ्ग्स्’ मै पो पुगेछु।

कुनै दिन रेइनीले सेयर गरेकी थिइन् अरुन्धतीलाई मेन्सन गर्दै – ‘सि वोर फ्लावर्स इन हर हेअर एन्ड क्यारिड म्याजिक सिक्रेट्स इन हर आइज। सि स्पोक टु नो वन। सि स्पेन्ट आवर्स अन द रिभरब्याङ्क। सि स्मोक्ड् सिगरेट्स् एन्ड ह्याड मिडनाइट स्वीम्ज् ...।’

म त झन्डै झन्डै अरुन्धतीकी पात्रसँगै उनको कल्पनामा डुबुल्की मार्न लागिरहेको रहेछु। यो त पक्का नकाम नै हो नि !

मेसेन्जरको नोटिफिकेसन बेल बज्यो, ‘टिङ्...’।

अनौठो संयोग थियो। रेइनीले सन्देश पठाएकी थिइन्।

‘गिभ अप स्मोकिङ। नट गुड फर योर हेल्थ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.