|

सुर्खेत : चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द गरिएको छ।

कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको हो।

अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन्।

हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बालबालिकाले पूरै समय अध्ययन गर्न नपाउने बताए। मौसम सुहाउँदो विपत् प्रतिकार्य योजना बनाई घुम्ती विद्यालय सञ्चालन नगरेसम्म चिसो मौसममा विद्यालयमा पढाइ हुने सम्भावना कम रहेको उनले बताए।

उच्च हिमपातका कारण माथिल्लो डोल्पामा ६ महिना विद्यालय पूर्णरूपमा बन्द हुन्छन्। सञ्चारको पहुँच नहुँदा वैकल्पिक शिक्षणको सम्भावना छैन। भौगोलिक कठिनाइका कारण बालबालिका तीन घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ।

हिमाली जिल्लाको भौगोलिक अवस्था अध्ययन गरेर विपत् पूर्वतयारी योजना बनाउनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर बस्नेतको बताए।

दक्ष जनशक्ति अभाव हुँदा गुणस्तरीय शिक्षा हासिल गर्न बालबालिकाले पाएका छैनन्। स्थानीय तहले शिक्षालाई प्राथमिकतामा नराख्नु, अत्यधिक हिउँ परेर चिसो हुनु, भौतिक संरचना कमजोर, सबै विद्यालयमा खानेपानीको असुविधा, पातलो बस्ती, स्थानीय शिक्षा योजना निर्माण नहुनु, स्थानीय पाठ्यक्रम निर्माण नहुनु, सूचना तथा सञ्चारको अभावजस्ता समस्याले गर्दा डोल्पामा विद्यालय चिसो मौसममा बन्द भएका हुन्।

त्यस्तै कालिकोटको तिलागुफा नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गरिएको छ। जिल्लाभर एक शैक्षिक सत्र अर्थात् वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरूले निर्णय गरे पनि चिसोकाले गर्दा तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ।

नगरपालिका शिक्षा शाखामा विद्यालय निरीक्षक नवीन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा खोलामा पानी समेत जम्न थालेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको बताए।

कालीकोटमा तापक्रम माइनस ५ रहेको छ। अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ। प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभर बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताए।

हिमाली जिल्ला डोल्पामा समेत विद्यालय बन्द गरिएको छ। चिसोका कारण त्यहाँका विद्यालय बन्द गर्नुपरेको बताइएको छ।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै माघ ११ गतेसम्मका लागि जाडो बिदा दिएको बताएको छ। अत्यधिक चिसो बढेको भन्दै २१ दिन बिदा दिने निर्णय गरिएको कुलसचिव प्रा.डा. नारायणप्रसाद पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.