|

विराटनगर : ०६२-०६३ को जनआन्दोलनपश्चात्  पनि देशमा ठूलाठूला आन्दोलन भए। जसमध्ये मधेश आन्दोलन र लिम्बूवान आन्दोलन एउटा स्वरूप हो।

समावेशी सहभागिता, नागरिकता, राज्यको हरेक अंगमा मधेसीको सहभागिता, भाषा लगायतका माग गर्दै मधेसमा आन्दोलन सुरु भएको थियो। भने, अरुण पूर्व ९ जिल्ला लिम्बूवान राज्यको माग राख्दै ०६४ बाट बृहत् लिम्बूवान आन्दोलन सुरु भयो।

मधेसका समग्र समस्याका मुद्दामा समाधानका अपेक्षासहित आन्दोलनमा धेरै युवाहरू होमिए। भने, यता भूमि मुक्तिका लागि लिम्बुवान आन्दोलनमा क्रान्ति र मुक्तिका सुनौला सपना देखेर धेरै युवाले आफ्नो स्वर्णिम सपना तुहाएका थिए।

मधेसका विभेद र अभावका अन्त्यको सपनासँगै आन्दोनमा होमिएका कति शहीद भए। कति घाइते जीवन बाँचिरहेका छन्। यता, ०६४ मा  लिम्बूवान आन्दोलनमा राजकुमार आङ्देम्बे शहीद भएका थिए। भने, ०६६ मा मनिल तामाङ पनि शहीद बनेका थिए।

 ०६४ को लिम्बूवान आन्दोनल ताका कुमार लिङ्देन, वीर नेम्वाङ, सन्जुहाङ पालुङवा, खगेन्द्र माखिम लगायतका नेताले  सडकमा  उत्रिएर  विद्रोह र क्रान्तिका भाषण  गर्दै गर्दा सिंहदरबार हलिन्थ्यो भन्ने  किस्सा नसुनएिको पनि होइन्। तर, आन्दोनका ताका  खरो भएर उत्रिने अधिकांश पहिचान बोकेका राजनीतिक दल निर्वाचनमा भने अंकगणितीय हिसाबले खुम्चिने गरेको पाइएको छ। 

०७४ को निर्वाचनलाई नियाल्ने हो भने, प्रदेश १ मा मधेस आन्दोलनबाट उदाएको  जसपा र लिम्बूवान आन्दोलनबाट उदाएको संघीय लिम्बूवान राष्ट्रिय मञ्च अहिले ०७९ मा आइपुग्दा खुम्चिएको छ।

यता, संघीय लिम्बूवान पार्टी नेपाल भने निर्वाचनदेखि बाहिर छ। अघिल्लो निर्वाचनमा जसपाको एकजना प्रत्यक्ष र दुई जना समानुपातिक सांसदले प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए। भने, अहिले एकजना समानुपातिकमा सीमित रहेको छ।

यता, एकजना समानुपातिक सांसद पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यो  निर्वाचनमा थ्रेसहोल्ड कटाउ नसकेनन्। 

त्यसो त भावनात्मक रुपमा  उठेको लिम्बूवान आन्दोलन राजनीतिकरण गर्न नसकिएको आन्दोलनमा होमिएका कतिपय युवाहरूको गुनासो छ।

नेतृत्वमा राजनीतिक विचार कमजोर

पहिचानको मुद्दालाई स्थापित गर्न नसक्नु नेतृत्वको कमजोरी रहेको पहिचानवादी आन्दोलनलाई नजिकबाट नियालिरहेका कवि चन्द्रवीर तुम्बापो बताउँछन्। कुनै पनि राजनीतिक दलसँग पारदर्शिता नहनु पनि मुख्य समस्या रहेको उनको तर्क छ।

‘पहिचनवादी नेतृत्वसँग मात्रै नभएर कुनै पनि  राजनीतिक दल पारदर्शिता नहुनु ठूलो मस्या हो’ उनले भने,‘ नेतृत्वले आफ्नो विचारलाई  गैरपहिचनवादी जनतासँग कन्भिन्स गर्न नसक्नु पनि ठूलो समस्या हो।’

यस्तै, हो भने पहिचानको मुद्दा समाप्त हुँदैन भन्ने प्रश्नमा उनले  पहिचानको आन्दोलन समाप्त नहुने दाबी गरे। उनले आन्दोलनको  बिउ रहने र  त्यसले उपयुक्त मौसम  र समयको पर्खाइमा बिउ उम्रने बताउँछन्।

 ‘पछिल्लो चुनावी  परिणाम हेर्दा पहिचानको आन्दोलन शिथिल देखिन्छ तर, यसको मतलब यो होइन आन्दोलन सबै समाप्त भयो।’ उनले भने,‘ यसले कुनै न कुनै एउटा रूप लिन सक्छ।’ आन्दोलनले नयाँ स्वरुप पाउन नेतृत्वसँगै कार्यकर्ता र वुद्धिजीवि नयाँ उत्पादन हुनुपर्नेमा उनी जोड दिन्छन्।

विषयमा पहिचानका आधारमा राजनीतिक आन्दोलन उठेको भए पनि यस विषयमा नेतृत्व पंक्तिमा नै विचार कमजोर भएको लिम्बूवान आन्दोलनलाई नजिकबाट नियालेका लेखकसमेत रहेका सुनिल आङ्बो बताउँछन्। 

पार्टीभित्रको आन्तरिक कलहले पनि  पहिचानको मुद्दालाई माथि उठाउन नसकिएको उनको तर्क छ। ‘मैले  जनयुद्ध र लिम्बूवान आन्दोलन  अबोध मस्तिष्कले नियालेको छु।’ उनले भने,‘ समयको मागअनुसार आन्दोलनमा भौतिक रूपमा पनि सहभागिता जनाएको छु। र  हालसम्म पनि पहिचनको पक्षमा छु। तर, पछिल्लो मत परिणाम र अवस्था हरेर आन्दोलन समाप्त भयो नै चाहिँ म निष्कर्षमा पुग्दिनँ किनकि यसको समय आउँछ।  उनले आन्दोलनको परिभाषा आमजनमासमा बुझाउन नसकेको तर्क गरे।

यता, संघीय लिम्बूवान पार्टी नेपालका सर्वमान्य नेता वीर नेम्वाङ पहिचानको आन्दोलन  कमजोर बन्नुमा नेतृत्वमा एकमत नहुनु मुख्य कारण रहेको बताउँछन्। विगतदेखि लिम्बूवान राज्यको माग राख्दै आएका उनी नेतृत्वहरू आफूखुसी गर्ने र आन्दोलनको मुख्य मर्ममा एकता भएर नउभिनु पनि पछिल्लो समय आन्दोलन फितलो बन्न पुगेको तर्क गर्छन्।

‘आन्दोलन कमजोर हुनुमा नेतृत्व एक ठाँउमा नउभिनु पनि हो।’ उनी भन्छन्,‘यहाँ सबै आफूखुसी गर्छन्  आन्दोलनको भावनाअनुसार नेतृत्व  उभिएका हुँदैनन्।’ उनले यो निर्वाचनमा संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वालाई उद्धृत गर्दै भने, ‘हाम्रो पार्टी अध्यक्ष संघको निर्वाचनमा उठ्नुभएको थियो , मैले उहाँलाई संगठन बलियो बनाएर निर्वाचनमा जानुस्भन्दा मान्नुभएन खै उहाँले कति मत पाउनुभयो त्यो पनि थाहा भएन।’

उनले संगठन विस्तारबिना सत्तामा जाने निर्णयले पनि पछिल्लो समय पहिचानको मुद्दा बेकेका कतिपय दलले थ्रेसहोल्ड कटाउन नसकेको उनको तर्क छ।

पछिल्लो निर्वाचनका मतपरिणामलाई हेर्दा एउटा पहिचावादी आन्दोलन ओझेलमा परे पनि अर्को पहिचानवादी आन्दोलन उदाएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पिताम्बर भण्डारी बताउँछन्। गठबन्धन दलको संस्कृतिले पनि साना दल अर्थात्  पहिचानको मुद्दा बोकेको दल ओझेलमा परेको उनको तर्क छ।

उनले भने, ‘गठबन्धनको संस्कृतिले पनि साना दल जसले पहिचानको मुद्दा बोकेको छ, त्यस्ता दल ओझेलमा परेको हो।’

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.