महामारी लक्षित खोप अभियान सञ्चालन गर्दै मन्त्रालय

|

काठमाडौँ : गत वर्ष पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगञ्जमा दादुरा संक्रमण फैलिएको छ। नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा फैलिएको दादुराबाट २९ बालबालिका संक्रमित भएका छन्। दादुराबाट संक्रमित एक बच्चाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।

सबै बालबालिकालाई खोप नलगाइसक्दै पूर्ण खोप जिल्ला घोषणा गर्ने हतार गर्दा यस्तो समस्या आएको भन्दै आलोचना हुन थालेको छ।

‘एक्कासी फैलिएको दादुराबाट हालसम्म २९ जना बालबालिका संक्रमित भएका छन्। यसमा एकाघरका ६ जनासम्म बालबालिका छन्’‚ खोप सुपरभाइजर श्रेष्ठले भने। ५ देखि १२ वर्षसम्मका बालबालिकामा हाल दादुरा संक्रमण देखिरहेको समेत उनले बताए।

दादुरा देखिएका बालबालिकामा ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दाग देखिएको सुपरभाइजर श्रेष्ठले बताए। हाल दादुरा संक्रमण देखिएका बालबालिकाहरूको प्रारम्भिक रूपमा अध्ययन गर्दा संक्रमितमध्ये धेरै बालबालिकाले खोप नलगाएको पाइएको समेत उनले बताए।

काठमाडौँबाट पनि विज्ञहरूको टोली गयो

तीव्र रूपमा दादुरा संक्रमण फैलिने र बालबालिकाको मृत्यु समेत हुन थालेपछि हाल काठमाडौँबाट विश्व स्वास्थ्य संगठन, युनिसेफ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ सहितको एक टोली हाल नेपालगन्ज गएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालका अनुसार यहाँबाट गएको विज्ञको टोलीले त्यहाँ कसरी दादुरा संक्रमण फैलियो र अब द्रुतगतिमा नियन्त्रण गर्न के गर्न सकिन्छ भन्ने सुझाव दिने समेत बताए।

दाहालका अनुसार हाल दादुरा फैलिरहेको क्षेत्रका विद्यालयहरूमा गएर बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको समेत बताए। ‘अहिले स्थानीय सरकार, प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालयको टोली संक्रमण फैलिएको क्षेत्रमा पुगेर काम गरिरहेको छ। हामीले पनि यहाँबाट आवश्यक सहजीकरण गरिरहेका छौँ’‚ दाहालले भने।

महामारी लक्षित खोप अभियान सञ्चालन गर्ने तयारी

खोप शाखा प्रमुख दाहालका अनुसार हाल दादुरा संक्रमण फैलिएको क्षेत्रमा मात्रै दादुराविरुद्धको खोप अभियान शुरु गर्ने विषयमा छलफल भइरहेको छ। उनका अनुसार दादुराविरुद्धको खोप नियमित रूपमा लगाइँदै आएको समयमा एकै समयमा धेरै बालबालिकामा संक्रमण देखिएपछि विशेष रूपमा ‘महामारी लक्षित खोप अभियान’ शुरु गर्ने कि भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ, सम्भवतः आज साँझसम्म केही निर्णय हुन्छ कि’‚ दाहालले भने।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य संस्थाहरूले ९ महिना र १५ महिनाको उमेरमा दुईपटक बालबालिकालाई निःशुल्क दादुराविरुद्ध खोप दिँदै आएका छन्।​ यसैअनुसार सरकारले  सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य समेत लिएको थियो।

एक वर्षअघि भएको थियो पूर्ण खोप जिल्ला घोषणा

हाल दादुरा संक्रमण तीव्र रूपमा फैलिरहेको बाँके जिल्लालाई गत वर्ष मात्रै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

पूर्ण खोप जिल्ला घोषणा गरिएको एक वर्ष नहुँदै बाँकेमा दादुरा संक्रमण फैलिएको हो। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका एक वरिष्ठ स्वास्थ्यकर्मीका अनुसार पछिल्ला वर्षहरूमा ७० प्रतिशत पनि खोप कभरेज नभएको जिल्लालाई समेत पूर्ण खोप जिल्ला घोषणा गर्ने शैलीले गर्दा पनि समस्या भएको छ।

ती स्वास्थ्यकर्मीले भने‚ ‘पूर्णरूपमा खोप कभरेज नहुँदै पूर्ण खोप जिल्ला घोषणा गर्न हतारिँदा पनि हाम्रोमा समस्या छ। अहिले नेपालगञ्जमा फैलिएको दादुरामा पनि केही बालबालिका खोप नलगाएका वा पूर्ण रूपमा दादुराको खोप नलगाएका बालबालिका छन् भन्ने आएको छ तर मुख्य कुरा पूर्ण खोप घोषणा चाहिँ ती बालबालिकाहरूले खोप नलगाउँदै किन गरियो?’

यस्तै हालै सार्वजनिक नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पनि नेपालमा पछिल्लो ५ वर्षमा बालबालिकालाई लगाइने नियमित खोपको कभरेज घटेको देखाएको थियो। २३ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बी.सी.जी. खोप डी.पी.टी. हेप/ बि-हिब पोलियोको खोप दादुरा-रुबेला जस्ता लगाउनैपर्ने खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकाले नलगाइएको पाइएको हो।

स्वास्थ्य सेवा विभागका ती स्वास्थ्यकर्मीले भने‚ ‘विगत दुई वर्षमा हामीले कोभिडको ठूलो महामारी भोग्यौँ। यो समयमा लामो समयसम्म लकडाउन, निषेधाज्ञा समेत भए। यसले स्वास्थ्य सेवा तथा नियमित रूपमा चल्दै आएका बालबालिकाका खोप कार्यक्रमहरू प्रभावित भयो जुन कुरा हाम्रोमा भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पनि देखाएको थियो। अब हामीले यस बीचमा खोप लगाउन छुटेका बालबालिका खोजेर लगाइ हाल्नुपर्ने हुन्छ।’

के हो दादुरा?

दादुरा श्वासप्रश्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको सरुवा रोग हो। मिजल्स भाइरसको संक्रमणको कारण यो रोग लाग्ने गर्छ। खासगरी यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ।

दादुराले फोक्सोको संक्रमण भएपछि निमोनिया, मस्तिष्कको संक्रमण, मुटुको संक्रमण, कलेजोको संक्रमण‚ मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने जस्ता जटिल खालका स्वास्थ्य समस्या निम्त्याउँछ।

दादुरा रोग लागेका बालबालिकालाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ। दादुरा रोग अतिसंक्रमित रोग भएकाले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन्।

दादुरा रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउँदा, हाच्छ्यूँ गर्दा र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ।

दादुरा सरुवा रोग भएका कारण संक्रमण देखिएका बिरामी खोक्दा, खाने कुरा बाँडेर खाँदा, एउटै कपडा पालैपालो गरेर प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ। दादुरा संक्रमित बालबालिकामा ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखिन्छ।

समयमै उपचार नहुँदा दादुराको संक्रमणबाट बालबालिकाको मृत्यु हुने जोखिम पनि हुन्छ। विशेषगरी कुपोषित बालबालिकाहरूमा दादुरा संक्रमण भयो भने मृत्यु हुने जोखिम हुन्छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.