|

धनगढी : सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका भिन्नभिन्न स्थानमा ठगी धन्दामा संलग्न रहेका ‘नटवरलाल’ युवक समातिएका छन्। बिहीबार उनलाई कैलालीस्थित धनगढीको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नो असली पहिचान लुकाएर विभिन्न व्यक्तिलाई डर त्रास र प्रलोभनमा पारेर ठगी गर्दै आएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय पदमराज भट्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले भट्टलाई धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरिएको जानकारी दिए।

जोशीका अनुसार उनी विभिन्न प्रलोभन देखाएर महिलाहरूलाई ललाइफकाई गरेर अश्लील भिडिओ बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै ठगी गर्दै आएका थिए।

भट्टले विभिन्न बैंक तथा संघ सस्थाहरुको हाकिम हुँ भनेर कैलाली र कञ्चनपुर लगायतका धेरै व्यक्तिलाई ठगी गरेको प्रहरीको भनाइ छ। प्रहरीले भट्टबाट पीडित भएका व्यक्तीहरूलाई प्रमाणसहित जाहेरी लिएर आउन आग्रह गरेको छ। जाहेरी आएपछि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

यस्तो छ उनको आपराधिक हिस्ट्री

भट्ट पहिले सशस्त्र प्रहरी बलमा कार्यरत थिए। केही वर्ष जागिर खाएर भागेका उनलाई सुदूरपश्चिममा उनलाई कतिले भगौडा भनेर पनि चिन्दछन्। उनकी पूर्वपत्नी अहिले पनि सशस्त्र प्रहरीमा कार्यरत छिन्।

पहिला दुवैजना सँगै जागिर गर्थे। तर भागेपछि भट्टले ठगी गर्न सुरु गरे। त्यसको केही समयमा नै उनको आपराधिक छवि थाहा पाएपछि पहिलो पत्नीले भट्टलाई डिभोर्स दिएकी थिइन्।

उसो त भट्टले अहिलेसम्म ४ विवाह गरेको प्रहरीको दाबी छ। तर, सबैले ठग भएको थाहा पाउनेबित्तिकै सम्बन्ध विच्छेद गरिसकेको बताइन्छ।

भट्टले आफूलाई कहिले नेपाल बैंकको प्रबन्धक भएको त कहिले प्रहरी अधिकारी भएको भन्दै सुदूरपश्चिमका विभित्र जिल्लाहरुमा ठगी धन्दा गर्दै आएका थिए।

यति मात्रै होइन, उनले आफू संयुक्त राष्ट्रसंघीय कार्यक्रमको प्रमुख भनेरसमेत ठगी गर्थे।

उनले यसैगरी सुदूरपश्चिममा करोडौं रकमबराबर ठगी गरेको प्रहरीले जनाएको छ। उनले एकल तथा सोझासाझा महिलालाई घरजग्गा बिक्री गराइदिने बहानामा नजिक ल्याउने गर्थे। त्यसपछि पैसा लिने र ठगेर भाग्ने गर्थें। त्यति मात्र होइन उनले महिलालाई अश्लील गालीगलौज समेत गर्ने गरेको बताइन्छ।

उनले सेभ द चिल्ड्रेनको हाकिम भएको बताउँदै कैलालीको लम्कीका व्यवसायीको स्कारपियो भाडामा लगेर नै ठगी गर्थें। प्रहरीका अनुसार उनले संगठित रूपमा ५ वर्षदेखि ठगी गर्दै आएका छन्।

यसअघि दुई वर्ष कैलाली कारागारमा ठगी मुद्दामा जेल सजाय भुक्तान गरिसकेका उनले कारागारबाटै पनि ठगी धन्दा चलाएका थिए। कारागार स्रोतका अनुसार उनले  एकल महिला, डिभोर्सी महिला र क्याम्पस पढ्ने उमेरका केटीहरूलाई निशाना बनाउँथे।

उनले जेलबाटै पनि कैलाली मसुरियाकी २७ वर्षीया युवतीलाई ठगेका थिए। उनले त्यसबेला ती महिलालाई जेलबाटै ब्ल्याकमेल गरेर जेलमा कार्यरत प्रहरीको खातामा पैसासमेत मगाएका थिए। सम्बन्ध बढाएर अश्लील भिडिओ बनाउने र ब्ल्याकमेल गर्ने उनको मुख्य धन्दा रहेको प्रहरीले जनाएको छ।

यसरी खातामा पैसा मगाएर सहयोग गर्ने ६ प्रहरी त्यतिबेला निलम्बनमा पनि परेका थिए। त्यसपछि उनको कैद भुक्तान अवधि सकिएपछि उनी करिब ४ महिनाअघि जेलमुक्त भएका थिए। तर उनले ठगीधन्दा नछोडेर थप ठगीका गुनासा आएपछि प्रहरी फेरि उनको खोजीमा जुटेको थियो। त्यसपछि फेरि उनी आज प्रहरीको चङ्गुलमा परेका हुन्। नियन्त्रणपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.