जीवन आचार्यका कारण पार्टीका कर्मठ नेतालाई सकस

|

विराटनगर : प्रदेश १ मा नवनिर्वाचित प्रदेश सांसदहरूलाई ११ गते जेष्ठ सदस्य गयानन्द मण्डलले शपथ ग्रहण गराए। शपथ ग्रहणपश्चात प्रदेशसभाको प्रांगणमा सबै सांसदलाई पत्रकारको एक हुलले घेरा हाले। ती सांसदमध्ये कोही दोहोरिएका थिए त कोही पहिलो पटक संसदीय यात्रा आरम्भ गर्ने थिए।

पहिलो पटक संसदीय यात्रा तय गर्नेमध्ये माओवादी केन्द्रको तर्फबाट मोरङ निर्वाचन क्षेत्र ६ (क) बाट निर्वाचित जीवन आचार्य पनि एक थिए। संसदमा नयाँ अनुहार भएकैले पनि केही सञ्चारकर्मीको ध्यान आचार्यतर्फ मोडिएको थियो। उनी निर्वाचनअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ज्वाई भएकैले चर्चामा थिए।

सञ्चारकर्मीका लागि त्यो एउटा आधार थियो भने अब पहिलो पटक संसदीय यात्रा र योजनाका बारेमा प्रश्न गर्दैगर्दा अपुरो जवाफ दिएर संसद भवनबाट बाहिरिएका थिए। उनी १२ गते माओवादी केन्द्र प्रदेश समितिले पार्टी कार्यालयमा राखिएको बधाई तथा सम्मान कार्यक्रममा समेत उपस्थिति जनाएनन्। 

संसदीय दलको नेता चयन गर्दा पनि बैठकमा उनको उपस्थिति थिएन। त्यस वेला यसको चर्चा नभएको पनि होइन तर एकैचोटी उनको तस्वीर खुमलटारमा देखिएको थियो। यति वेला निर्वाचन अघिकै चर्चा पुनः दोहोरीएको छ।

अर्थात प्रदेश १ मा संघको सत्ता समीकरणअनुसार एमाले र माओवादी केन्द्रको गठबन्धनमा सरकार गठन गर्ने तयारीमा छ। सत्ता गठबन्धनमा राप्रपा र जसपासमेतले समर्थन जनाइरहेका छन्। तर माओवादी केन्द्रभित्र नै आन्तरिक विवाद उत्पन्न भइरहेको छ।

विगतका दिनमा पार्टीका लागि योगदान गरेर आएकालाई भन्दा नयाँ अनुहारलाई मन्त्रीमा दाबी गर्दैगर्दा पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएको हो। यता, पार्टीको संसदीय दलको बैठकमा समेत उपस्थिति नजनाएका आचार्य सरकार गठनको प्रक्रिया आरम्भ नहुँदा नै मन्त्रीका लागि खिचडी पकाइरहेका छन्।

अर्थात राम्रै मन्त्रालयमा उनले आफ्ना हकदाबी जनाएका छन् यता पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री  दाहालको ज्वाइँ भएकै हैसियतले योगदान गरेको पुराना अनुहार अवसरबाट वञ्चित हुने देखिएको माओवादी केन्द्रका एक नेताले बताए।

पार्टी संगठनमा लामो समयदेखि योगदान गर्दै आएका सांसद गणेश उप्रेती ‘सुशील’ मन्त्रिपरिषदमा नअटाउने देखिएको ती नेताले बताए। मोरङको बुढीगंगाका आचार्यले भने कुनै हालतमा मन्त्री नछाड्ने भन्दै केन्द्रमा लबिङ गरिरहेका छन्। उनको सत्ता स्वार्थले यता प्रदेश स्तरमा माओवादी केन्द्रमा नै असन्तुष्टि बढेको छ।

प्रदेश १ माओवादी केन्द्रको नेतृत्वमा लबिङ

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो निर्वाचनमा एमालेलाई प्रदेशप्रमुख र मुख्यमन्त्री दिएको हुनाले अबको कार्यकाल माओवादी केन्द्रको नेतृत्वमा प्रदेश १ सरकार गठन हुनुपर्ने बताउँदै आइरहेका छन्। सोहीअनुसार प्रदेश स्तरका माओवादी नेताहरू आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रधानमन्त्रीसहित संघका नेताहरूसँग भेटघाट तीव्र बनाइरहेका छन्।

सरकारको नेतृत्व गर्ने विषयमा एमाले र माओवादी केन्द्रबीच घनीभूत छलफलसमेत भइरहेको छ। १३ मन्त्रालय रहेको प्रदेशमा माओवादीको भागमा चारवटा मन्त्रालय पर्ने सम्भावना छ। मन्त्री बन्ने प्रदेशसभा सदस्यको लगभग नामसमेत तय भएको एक नेताले बताए।

तर केन्द्रीय स्तरको दबाबका कारण काम गरेकाको भाग खोसिने सम्भावना बढेको ती नेताको भनाई थियो। माओवादीको द्वन्द्वकालदेखि नै सक्रिय भूमिका खेल्दै आएका प्रदेशसभा सदस्य गणेश उप्रेती मन्त्री हुने दौडमा छन्।

यता, आचार्यले दाबी गरेसँगै पार्टीको साविक कोचिला क्षेत्रको कोटाबाट उनको नाम नपर्ने देखिएको छ। एकै क्षेत्रबाट मन्त्री बनाउँदा भूगोल नसमेटिने भएपछि आचार्यले मन्त्री पदका लागि दाबी गर्न नहुने पार्टीभित्रकै नेताहरू बताउँछन्।

उप्रेतीले आफू घेराबन्दीमा परेको भन्दै  सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तुष्टि पोखेका छन्। ‘राजनीति गर्नेहरूले राजनीतिक निर्णय र राजनीतिक पहलकदमी लिएकै राम्रो ! त्यसभित्र अराजनीतिक र मूल्य मान्यता नाघेर निर्णयहरू लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन,’ उनले लेखेका छन्। 

प्रचण्डकी छोरीसँग बिहेपछि मात्र पार्टीसँग नजिक

जीवन आचार्यलाई प्रचण्डको ज्वाइँ भएकै कारण २०७४ सालमा पार्टीको कुनै जिम्मेवारीमा नभए पनि मोरङ क्षेत्र ६ प्रदेश निर्वाचन क्षेत्र २ बाट उम्मेदवार बनाइएको थियो। आचार्य प्रचण्डकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरेपछि मात्र पार्टीसँग नजिक भएका हुन्।

निर्वाचनमा पराजित बेहोरेका आचार्य नातावादकै आधारमा ०७५ मा एकैपटक प्रदेश कमिटी सदस्य बने भने माओवादीको गत महाधिवेशनपछि उनी केन्द्रीय सदस्य बने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.