|

विराटनगर : पछिल्लो समय प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रभित्रै आन्तरिक विवाद देखिएको छ।

प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न भन्दै फेसबुक स्टाटस लेखेका छन्।

उनले प्रदेश १ सरकार गठनबारे सत्ता साझेदार दलहरूबीच कुनै निर्णय र सहमति नभएको, केन्द्रमा सहमति नभई प्रदेशस्तरमा निर्णायक छलफल अघि नबढेको समेत बताएका छन्।

‘केन्द्रीय स्तरमा सहमति हुने विषय नै टुंगोमा नपुगी प्रदेश स्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि बढ्ने कुरो भएन’, उनले लेखेका छन्, ‘३ प्रदेश पार्टी र संसदीय दलभित्र कुनै व्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीबारे कुनै छलफल प्रारम्भ भएको छैन।’

पार्टीको माथिल्लो निकायबाट निश्चित पात्र विशेषका निम्ति कुनै प्रस्ताव, दबाब वा निर्देशन नआएको बताउँदै जनताको बीचमा हजारौँ सपना बाँडेर निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले कार्यकारी निकायमा बसेर जनताको सेवा गर्ने चाहनालाई कसैले अन्यथा नठानी भ्रम र अफवाहको पछि नलाग्ने बताएका छन्।

प्रदेश १ मा हालसम्म सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषय टुंगो नलागे पनि माकेमा भने यसैको विषयमा विवाद शुरु भएको छ। माओवादीका प्रदेश १ सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले फेसबुकमा स्टाटस लेखेपछि उक्त विषय चुलिएको हो।

उप्रेतीले राजनीतिक निर्णय र राजनीतिक पहलकदमी लिएकै राम्रो भन्दै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। उनले लेखेका छन्, ‘त्यसभित्र अराजनीतिक र मूल्य मान्यता नाघेर निर्णय लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन।’

मन्त्रीका लागि दलभित्रै होडबाजी

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पुस २४ गते ५ बजेसम्मका लागि आह्वान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सदस्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ।

नयाँ सरकार गठन गर्ने समय तीन दिन मात्रै बाँकी रहँदा माओवादी केन्द्रका दुई नेताबीच मन्त्री बन्ने होडबाजी छ। प्रदेश १ मा माओवादी केन्द्रको भागमा पर्ने सम्भावित ४ मन्त्रालयमध्ये कसले नेतृत्व गर्न भन्नेमा होडबाजी चलिरहेको छ।

को को आकांक्षी ?

प्रदेश १ मा माओवादी केन्द्रका १३ सांसद छन् तीमध्ये ५ जना मन्त्री बन्ने लाइनमा छन्। माओवादीबाट तेह्रथुमका दुर्गा चापागाईं, संखुवासभाका राजेन्द्र कार्की, उदयपुरका राम राना मगर, सोलुखुम्बुका गोम्बु शेर्पा, मोरङका जीवन आचार्य र उप्रेती तथा गीता तिम्सिना मन्त्री बन्ने लाइनमा छन्।

मोरङबाट आचार्य, उप्रेती र तिम्सिनामध्ये एकजना मात्रै पर्ने भएकाले उनीहरूबीच तीव्र प्रतिस्पर्धा भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.