|

सुर्खेत : भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डभित्र रहेको भेरी पुलमा अस्थायी पुल निर्माण गरी डोल्पा जाने सवारी साधनमा रोक लगाएको छ।

यस सडक खण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा अस्थायी पुल बनाउन  राखिएको होमपाइपले गर्दा पुल नदी तार्न रोक लगाएको हो।

सडक डिभिजन चौरजहारीसँग समन्वय गरेरै नेपालगन्जदेखि सीधा निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा डोल्पा आउने सवारीसाधन आवागमन गर्न रोक लगाइएको छ। तर, रुकुम पश्चिमको गोतामकोट गाउँ जोड्ने बाटो कालोपत्रेका लागि यती विल्ड्रस प्रालिलाई निर्माण सामग्री ढुवानी गर्न भने दिइएको छ।

रुकुम, जाजरकोटका स्थानीय कामदार र जग्गाधनीले नेपालगन्ज दाङ, काठमाडौं र सुर्खेतबाट सिधै आउने मालवाहक गाडीलाई तल्नुबगरस्थित भेरी नदीमा राखिएको होमपाइपद्धारा बनाएको पुलबाट गाडी तार्न  नदिएको डोल्पाका ढुवानी व्यवसायी खिमबहादुर सिंहले जानकारी दिए।

स्थानीय ठेकेदारका मात्र मालवाहक गाडीलाई पुल पार गर्न दिने तर डोल्पा आउने गाडीलाई नदिदा डोल्पाली उपभोक्ता महँगीको मारमा परेको उनको भनाइ छ।

तल्नुबगरमा स्थानीय कामदार र जग्गाधनीने मालवाहक गाडीलाई अस्थायी पुल तर्न नदिएपछि डोल्पामा दैनिक उपभोग्य सामान सिधा लिन नपाएको गुनासो बढेको छ।

नेपालगन्ज, दाङदेखि सिधै १० रुपैयाँ प्रतिकिलोमा आइपुग्ने सामान अहिले बाह्रदेखि अठार रुपैयाँसम्म सर्वसाधारण तिर्न बाध्य भएका छन्।

तल्नुबगरमा स्थानीय कामदारले अवरोध गरेपछि एउटा ट्रकको मात्र सामान लोड–अनलोड गर्नुपर्दा डोल्पाली उपभोक्ताहरूले किन्ने सामानमा प्रतिकिलो दश रुपैयाँसम्म मूल्य जोडिने अर्का व्यापारीले बताएका छन्।

अहिले नेपालगन्जबाट सिधै सामान ल्याउँदा तल्नुबगरमा झारेर पुन पारिपट्टि अर्को गाडीमा हालेर सामान डोल्पा पठाउन पर्ने व्यापारीलाई बाध्यता छ।

तल्नुका स्थानीयको अवरोध हटेपछि नेपालगन्ज, दाङ लगायतका विभिन्न जिल्लाबाट मालवाहक गाडी डोल्पा पुग्ने र छिटो छरितो, सस्तो मूल्यमा, टुटफुट नभएर सामान पुग्ने डोल्पाका व्यापारीको भनाइ छ। 

सरकारीस्तरबाट सहयोग समन्वयमा बनाइएको होमपाइपको पुलमा सवारीसाधन आवतजावत गर्न स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न नहुने जाजरकोटका प्रमुख जिल्ला अधिकारीले अन्जन न्यौपाने बताए।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले सार्वजनिक पुलमा अवरोध गर्न नहुने बताए। डोल्पासम्म पुग्ने सवारीसाधन आवतजावत गर्न जसले रोक्छ, त्यसलाई कारबाही गरिने जानकारी दिए।

स्थानीयवासीले पुलमा अवरोध गर्न नहुने र गरेमा कारबाही गरिने उनको भनाइ छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले रुकुम जाजरकोटका प्रशासकसँग समन्वय गरेर तत्काल सिधा मालवाहक सवारीसाधन आउने वातावरण बनाउने बताए।

ढुवानी सेवाप्रदायक सवारीधनीले सामान बोकेको पैसा नदिँदा पुल अवरुद्ध गरेको स्थानीय कामदारले बताएका छन्। पैसा असुलको माग गर्दै ५३ जना कामदारले नलगाड नगरपालिका १२ नम्बर वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।

नेपालगन्जदेखि डोल्पा सिधा सामान ढुवानी गर्ने उद्देश्यले होम पाइप राख्दा स्थानीय हेमन्त विष्टले आठ लाख रुपैयाँ नपाएको भन्दै रकम असुलीका लागि वडामा निवेदन दिएको वडासचिव रामप्रसाद शर्माले जानकारी दिए।

पैसा नदिने पक्ष उपस्थित नभएका कारण छलफल हुन नसकेको उनको भनाइ छ। स्थानीय कामदार मात्र नभई जग्गाधनीले पनि अवरोध गरेको गरेको उनले जानकारी दिए।

जग्गाधनीले केही महिनाका लागि मात्र चल्ने गरी डिटेल सर्भेविनाको व्यक्तिगत जग्गामा बाटो परेको भन्दै गुनासो गरेका छन्। जग्गाधनीले सवारीसाधन तारेबापत पैसा दिनुपर्ने माग राखेकोसमेत बताइएको छ।

 भेरी नदीमा छिटो पुल निर्माण भएमा यी सबै समस्या हल हुने सडक डिभिजन चौरजहारीले बताएको छ। अहिले पुल निर्माणको कामलाई तीव्रता दिइएको छ।

तल्नुबगर बेलिब्रिज निर्माणको काम तीव्र

भेरी करिडोरअन्तर्गत पर्ने तल्नुबगर बेलिब्रिज निर्माणको काम तिब्र बनाएको छ। नेपालगन्जदेखि सिधै डोल्पा पुग्नका लागि महत्वपूर्ण मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम अघिल्लो वर्ष पूरा गर्नुपर्ने भए पनि अबको एक महिना भित्र पूरा गर्ने लक्ष्य रहेको ठेकेदार बुद्धीबहादर खत्रीले बताए।

सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का खुलाएर हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ४१ लाखमा पुल निर्माणको जिम्मा पाएको झन्डै एक वर्षपछि काम सुरु भएको हो।

अघिल्लो वर्ष पुसमा निर्माण कम्पनीसँग सम्झौता भए अहिले काम सुरु भएको हो।

दैनिक १५–२० जना कामदारसहित पुल निर्माणको काम धमाधम भइरहेकाले फागुनभित्र निर्माणकार्य सम्पन्न हुने सडक डिभिजनले बताएको छ। पुल निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री निर्माणस्थलमा पुगिसकेको छ। वारिपट्टिको बेस बनेको छ, पारिपट्टिको बन्दै छ,’ इन्जिनियर दिलिप यादवले भने। रुकुम, जाजरकोट र डोल्पाका नागरिकको समस्यालाई मध्यनजर राख्दै निर्माणस्थलमा प्राविधिक नै खटाएर काम सुरु गराएको उनले बताए।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिब्रिज यसअघि नै निर्माण भइसकेको छ। तर, सँगै ठेक्का खुलाइएको रुपगार्ड खोलाको बेलिब्रिजको काम अझै सुरु हुन सकेको छैन।

टेन्डर भएको दुई वर्ष बितिसक्दा पनि रूपगार्ड खोलामा बेलिब्रिज नबनेपछि जिप, ट्रक, मोटरसाइकल लगायतका सवारीसाधनहरू जोखिम मोलेर जीर्ण काठको पुलमा गुडिरहेका छन्।

‘रूपगार्डमा दुवैतिर बेस बनेको छ। सामान पनि पुगेको छ, तर पुल जोड्ने काम भएको छैन। सवारीसाधन र सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्,’ मोतीपुरका स्थानीय अमर कठायतले भने।

ठेक्का पाएको निर्माण कम्पनीले जतिसक्दो छिटो निर्माण सक्नुपर्ने उनको भनाइ छ।

यसअघि बेलिब्रिजका लागि बेस बनाउन लगाइएका स्थानीय कामदारले पैसा नपाएपछि उनीहरूले नै काम अवरुद्ध गरेको पाइएको सडक डिभिजन कार्यालाय चौरजहारीका इन्जिनियर दिलीप यादवले बताए।

काम भएजत्तिको पैसा निर्माण कम्पनीले लिइसकेकाले कामदारलाई दिन बाँकी पैसा दिएर अन्य काम सुचारु गर्न ताकेता गरिरहेकोसमेत इन्जिनियर यादवले जानकारी दिए।

तल्नुबगर र रूपगार्डको बेलिब्रिज पुल निर्माण भएसँगै भेरी करिडोर अन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन्। यहाँ साना खोलामा समेत गरी अझै आठवटा पुल बन्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.