भक्तपुर जिल्लामा माओवादी निल

|

काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनेको नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा अनपेक्षित नतिजा बेहोर्‍यो।

काठमाडौं जिल्लामा माओवादीले शंखरापुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा एक/एक वडा जोगाएको छ। उता भक्तपुरमा माओवादी निल रह्‍यो। ललितपुरमा भने एउटा गाउँपालिका सहित १० वडामा माओवादीले जित हात पार्‍यो।

जसले जिते

काठमाडौंको पश्चिममा रहेको चन्द्रागिरी नगरपालिकाका १५ वडामध्ये वडा नम्बर २ मा माओवादी केन्द्रका गोपी सुर्खेती ८०४ मतसहित निर्वाचित भए। यो वडामा दलित महिला सदस्यमा सपना परियार, महिला सदस्यमा सुशीला कोइराला र दुई खुला सदस्यमा मधुकर बस्नेत र सुरेन्द्र तामाङ निर्वाचित भए।

काठमाडौंको पूर्वमा रहेको शंखरापुर नगरपालिकाका ९ वडामध्ये वडा नम्बर ३ मा माओवादी केन्द्रका सन्त बहादुर गाहा विजयी भए। यो वडामा दलित महिला सदस्यमा माओवादीकी गीता दर्जी निर्वाचित भइन्। महिला सदस्यमा शान्ता गौतम तिवारी र खुला सदस्यमा कर्म वल विजयी भए। अर्को खुला सदस्यमा नेपाली कांग्रेसका षडकुमार खतिवडाले माओवादीका डिबीसिं तामाङलाई १० भोटले पछाडि पारे।

काठमाडौं महानगरमा जमानत जोगाउन नसकेको माओवादीलाई ललितपुर महानगरका केही वडाको नतिजाले राहत दियो। २९ वटा वडा रहेको ललितपुर महानगरको वडा नम्बर २० मा माओवादीका धनबहादुर शाक्य सदस्य पमा निर्वाचित भए।

ललितपुर २१ मा माओवादीका रवीन्द्र महर्जनले वडा अध्यक्ष जिते। यो वडामा महिला सदस्यमा हेलेनशोभा महर्जन, सदस्यमा श्यामकृष्ण महर्जन र ज्ञान डंगोल विजयी भए।

ललितपुर २२ मा माओवादीकै अम्बिरराज शाक्यले वडा अध्यक्ष जिते। यो वडाको नतिजा रोचक पनि रह्यो। शाक्यले एमालेका प्रेमभक्त महर्जनलाई जम्मा दुई भोटले उछिनेका थिए। महर्जनको मत एकहजार २७० थियो भने शाक्यले एक हजार २७२ भोट पाएका थिए। यो वडामा माओवादी केन्द्रबाट दिनेश महर्जन सदस्य निर्वाचित भए। अन्य तीन सदस्यमा भने एमालेका सागर तुलाधर, जमुना तामाङ र जुनु मिजार निर्वाचित भए।

त्यस्तै, २६ नम्बर वडामा माओवादीका सुरेश महर्जनले अध्यक्ष जिते। माओवादी केन्द्रका उम्मेदवार सुरेश महर्जनले सदस्य पद जिते। यो वडाका अन्य दुई सदस्यमा कांग्रेसका डेली महर्जन र उत्तम थापा विजयी भए। 

२८ नम्बर वडाको अअध्यक्षमा माओवादीका राजेश महर्जन विजयी भए। सदस्यहरुमा प्रज्वल महर्जन र मन्जना परियार माओवादीबाट आए भने मीना महर्जन एमालेबाट र अनन्तराज महर्जन कांग्रेसबाट विजयी भए।

उपत्यकामा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

महानगरमा कमजोर देखिए पनि ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित दुई वडा जितेर माओवादीले आफ्नो बलियो पकड रहेको पुष्टि गर्‍यो। माओवादी नेता गोपी अछामी क्योन्ज्योसोम गाउँपालिका अध्यक्ष र मिङमा लामा उपाध्यक्ष निर्वाचित भए। कोन्ज्योसोमका  पाँच वडामध्ये १ मा सन्तलाल लामा र २ मा धुर्व घिमिरेको टिमले जित हात पार्‍यो।

महाँकाल गाउँपालिकाको १ नम्बर वडामा माओवादीका खुमप्रसाद गौतम विजयी भए। महालक्ष्मी नगरपालिकाको १० नम्बर वडामा माओवादी केन्द्रका बलराम तामाङले पुरै टिमसहित जित हात पारे। त्यहाँ जित्ने अरु सदस्यहरुमा निशा गुरुङ, सरिता सुनार, छेमाङ तामाङ र आलोक तामाङ छन्।

गोदावरी नगरपालिकामा दुई वडा माओवादीले जित्न सफल भयो। वडा नम्बर ४ मा मुकुन्द बहादुर पहरी अध्यक्ष भए। वडा नम्बर १४ मा जगन्नाथ महर्जनले वडाध्यक्ष जिते भने गोपाल महर्जनले खुला र लक्ष्मी परियारले दलित महिला सदस्य जिते।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.