|

काठमाडौं :  बेलायतका राजकुमार ह्यारीको बहुचर्चित र विवादास्पद आत्मकथा ‘स्पेयर’ औपचारिक रुपमा सार्वजनिक गरिएको छ।

यो पुस्तक एकैदिन विश्वका विभिन्न देशमा १६ भाषामा प्रकाशित गरिएको छ। औपचारिक रुपमा सार्वजनिक गरिनु केही दिनअघि नै स्पेनमा यो पुस्तक लिक भएको थियो। 

उक्त चुहावटसँगै ह्यारीले खुलासा गरेका कुराहरु विभिन्न पत्रपत्रिकाका शीर्षक बनेका थिए भने अनलाइन खुद्रा विक्रेता कम्पनी अमेजनमा यो सर्वाधिक बिक्री हुने पुस्तकको पहिलो स्थानमा पुगेको थियो।

आफ्नो आत्मकथामा ह्यारीले आफूले कुमारत्व गुमाएकोदेखि पत्नी मेगनका विषयमा आफ्ना दाजु प्रिन्स विलियम्सले आफूलाई कुटेकोसम्मका प्रसंग उल्लेख गरेका छन्।  ४१६ पेज लामो उक्त आत्मकथामा ह्यारीले व्यक्तिगत तनाव र द्वन्द्वकाबीच राजदरबारभित्रको आफ्नो हुर्काइ र अन्ततोगत्वा राजपरिवारसँगको आफ्नो सम्बन्ध विच्छेदसम्मका कुराको खुलासा गरेका छन्।

आफ्नो आत्मकथामा ह्यारीले आफू र दाजु विलियम्सले आफ्नी आमा डायनाको निधनपछि क्यामिलासँग दोस्रो विवाह नगर्न बुवा चार्ल्सलाई आग्रह गरेको, बेलायती सैनिकका रुपमा अफगानिस्तानमा कार्यगर्दा २५ तालिबान लडाकुलाई मारेको, प्यानिक अट्याक हुँदा मनोविकृतिकारी औषधि सेवन गर्ने गरेको र भाउजू क्याथरिन र आफ्नी श्रीमती मेगनबीचको सम्बन्ध राम्रो नरहेकोलगायत कुराको खुलासा गरेका छन्।

पुस्तकमा ह्यारीले आमा डायना गुमाउनुको दुःखबाट अझै उम्किन नसकेको कुरा पनि उल्लेख गरेको जनाइएको छ। ​ ह्यारीले आफ्नो आत्मकथाको नाम स्पेयर अर्थात् जगेडा राखेका छन्। पिता चार्ल्सले दोस्रो सन्तानका रुपमा ह्यारीलाई जगेडा उत्तराधिकारी भन्ने गरेको र सोही आधारमा उनले पुस्तकको नाम जगेडा राखेको न्युयोर्क टाइम्सले जनाएको छ। 

राजपरिवारभित्रको विवाद चरममा पुगेपछि दुई वर्षअघि प्रिन्स ह्यारी र उनकी श्रीमती मेगन मर्केल राजदरबार परित्याग गरी अमेरिका गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.