|
आरोपीहरू

भारतको केन्द्रशासित प्रदेश दादरा र नगर हवेलीमा ९ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको छ। भारतीय समाचारमाध्यमले मानव बलिको अनुष्ठानका रूपमा उनको टाउको काटिएको जनाएका छन्। पछि पनि उनको शरीरका धेरै अंग काटिएको जनाइएको छ।

घटना गुजरातको वलसाड जिल्लाको हो, जहाँ एक साताअघि नहरनजिकै एकजना बालकको काटिएको टाउको भेटिएको थियो। घटनामा संलग्नताको आशंकामा दुईजना पक्राउ परेका छन्। सोही क्रममा यस मामिलामा एक नाबालिग बालकलाई पनि हिरासतमा लिइएको छ।

मृतक बालक आदिवासी समुदायको रहेको बताइएको छ। उनको परिवारको कसैसँग दुश्मनी थिएन। योसँगै भाजपा अनुसूचित जनजाति मोर्चाले घटनामा दोषीमाथि कडा सजायको माग गरेको छ।

यस मामिलामा प्रहरीलाई पत्र पठाइएको छ, जसमा अपराधी र तान्त्रिकले निर्दोष बालकको बलि दिएको उल्लेख गरिएको छ। भाजपाले यो घटना जघन्य‚ अमानवीय र अत्यन्तै गम्भीर अपराध भएको जनाउँदै कडा भर्त्सना गरेको छ।

प्रहरीले बालक दादरा र नगर हवेलीको सिल्वासा जिल्लाको सायली गाउँबाट डिसेम्बर २९ मा बेपत्ता भएको जानकारी बुधबार दिएको छ। परिवारले प्रहरी चौकीमा अपहरणको उजुरी दिएका थिए। त्यसपछि बालकको खोजीमा प्रहरीका धेरै टोली परिचालन गरिएको थियो।

 खोजी क्रममा सिल्वासाबाट ३० किलोमिटर टाढा रहेको वापीको नहरमा उनको काटिएको टाउको फेला परेको थियो भने शवको बाँकी भाग सायली गाउँमा फेला परेको थियो। प्रहरीका अनुसार बालकको शवलाई फरेन्सिक परीक्षणका लागि पठाइएको छ।

प्रहरीले हत्याको अनुसन्धानका क्रममा अभियुक्त बालकसम्म पुगेर हिरासतमा लिएको जनाएको छ। सोधपुछका क्रममा आरोपी केटाले आफूले डिसेम्बर २९ मा बालकलाई अपहरण गरी पैसाको लागि मानव बलि दिएको बताएको प्रहरीले जनाएको छ।

उक्त घटनामा आफ्ना २ सहयोगी शैलेश कोहकेरा र रमेश संवरले सघाएको ती बालकले खुलासा गरेका छन्। प्रहरीका अनुसार रमेशले नै बालक र शैलेशलाई पैसाको लालच दिएर बलि दिन उक्साएको थियो। समाचार एजेन्सीका अनुसार तीनै जनालाई जनवरी ३ मा पक्राउ गरिएको थियो। उनीहरूविरुद्ध कानुनअनुसार हत्याको मुद्दा दर्ता भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.