|

विराटनगर :  माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित आज (बिहीबार) बसेको बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो।

यसअघि आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने माओवादी केन्द्रको अडान थियो तर केन्द्रबाट सरकारमा सहभागी हुन दबाब दिएपछि सरकारमा जाने निर्णय गरेको हो।

मन्त्री छान्न समिति गठन

पार्टीभित्रै मन्त्री बन्नेको ताँती लागिरहँदा बैठकले मन्त्री छनोट गर्न समिति गठन गरेको छ।

प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) समितिमा रहेका छन्। माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये २ वा ३ मन्त्रालय पाउने अनुमान छ।

दुईवटा मन्त्रालय पाउँदा माओवादीले पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण पाउने माओवादी स्रोतको दाबी छ। ३ मन्त्रालय पाउँदा कृषि तथा भूमिसुधार मन्त्रालय पनि पाउने स्रोतले बताएको छ।

समावेशी शून्य

पिछडिएका, दलित, महिला तथा जनजातिलगायत समावेशी मुद्दासहित उदाएको माओवादी केन्द्रमा सत्ता बाँडफाँडमा तीनवटा मन्त्रालय नपाए आदिवासी जनजाति र महिलाको उपस्थिति सरकारमा शून्य हुनेछ। सरकार सहभागितामा महिलाको नाम लिस्टमा नै अटाउन सकेको छैन।

माओवादी केन्द्रले अर्को मन्त्रालय पाएको खण्डमा उक्त मन्त्रालयमा आदिवासी जनजातिबाट उदयपुरका राजेन्द्र किराती वा नारायण बुर्जा २ जनामध्ये मगरलाई पठाउने सम्भावना रहेको नेताहरू बताउँछन्।

एमालेले एक मन्त्री थप्ने

माओवादी केन्द्रले पठाएको मन्त्रीसँगै नेकपा एमालेले मन्त्रीमण्डलमा तत्काल एकजना मन्त्री थप्ने तयारी रहेको एमाले स्रोतले जनाएको छ।

सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्ने भनिए पनि  शपथ गराउने तयारीको विषयमा निर्णय भइनसकेको पनि स्रोतले जानकारी दिएको छ।

यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन्।

माओवादीबाट ७ जनाको सिफारिश

आज बसेको बैठकले मन्त्री बनाउने ७ जनाको नाम सिफारिश गरेको छ।

सूचीको पहिलो नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईं, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा रहेका छन्।

माओवादीले प्रदेश १ मा पर्ने साविक लिम्बुवान, कोचिला र किराँत राज्यबाट १/१ जना पर्ने गरि मन्त्री सिफारिश गर्ने निर्णय पनि गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.