|

ललितपुर : गोदावरी नगरपालिका-११ स्थित चापागाउँमा एकाबिहानै बालबालिकाहरू भेला हुन्छन्। पंक्ति बनाएर हिँड्छन् , भजन कीर्तन गर्छन्। न जाडोको पर्वाह छ उनीहरूलाई नत निन्द्रा नपुगेको अनुभूति नै उनीहरूमा छ।

स्थानीय माधव नारायण संरक्षण समितिको आयोजनामा वर्षेनी हुने माधवनारायणको भजन भन्दै हिँड्ने संस्कृति यो वर्ष पनि उत्तिकै उत्साहका साथ सुरु भएको  छ।

समितिका सचिव उमेश मेहेर कायस्थका अनुसार कोरोनाका कारण पहिलेभन्दा बिहान माघ कराउन आउने बालबालिकाको संख्या घटेको छ।

'पहिले पहिले नेवार बालबालिका मात्र सहभागी हुनेमा पछिल्ला केही वर्ष यतादेखि अन्य समुदायका बालबालिका पनि थपिन थालेका छन्', उनले भने।  

चापागाउँकी उर्जाला कायस्थको बिहानीको समय माधवनारायणको भजन किर्तन गर्नु र नगर परिक्रमा गर्नुमा बितेको छ। नगरपरिक्रमाका क्रममा विहान शिरमा टोपी र जाडो थेग्ने ज्याकेट लगाएकी उनलाई विहानबजेदेखि नै निन्द्राले छोड्छ।

बिहानैदेखि नै अरू साथीहरूले शंख फुकेर बोलाउँछन्, उनले भनिन्  हतार गरेर म घर बाहिर निक्लीएर भजनमा हिँड्छु , धेरै साथीहरू हुन्छन्, रमाइलो हुन्छ। सबैलाई शंख फुकेर डाक्ने महेश्वर गमालसँगै अरु ३ जना सुदीप देशार, सागर गौतम र मुकेश गमालले करिब ५ बजेपछि सबैलाई बोलाउन शंख फुक्ने गर्छन्। 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने श्रीस्वस्थानी व्रतका समयमा हुने माधव नारायणको भजन कीर्तनमा यहाँका १ सयभन्दा बढी बालबालिका बिहान सबेरै उठेर हिँड्ने गर्छन्। तर कोरोनापछि संख्या घटेको माधव नारायण संरक्षण समितिका सचिव उमेश मेहेर कायस्थ बताउँछन्।

उनीहरू बिहान चन्द्रभैरव मन्दिरनजिकै भेला भएर चापागाउँ नगर परिक्रमा गरेर बज्रबाराही हुँदै चापागाउँ डबली नजिकको मूल गणेशको मन्दिर अगाडि पुगेर समापन हुन्छ।

 बिहानको चिसो हावा अनि आकाशबाट बर्सिएको तुषारोमा पनि निकै रमाइलो मानेर बालबालिकाहरू भजन कीर्तनमा झुम्मिएका हुन्छन्।

नेवार समुदाय मात्र नभई अन्य समुदायका बालबालिकामा पनि सामूहिक रुपमा यसरी भेला भएर घुम्ने परिपार्टी छ। १० वर्षका सागर गौतम पनि नेवार समुदायका बालबालिकाको भिडमा माधव नारायण भजन गाउँदै घुमिरहेका हुन्छन्। 

यो संस्कृतिका जानकार एवं जगमोहन मेहेर कायस्थलाई ८६ वर्ष पुगिसक्दा पनि बालबालिकालाई भजन गाउँदै नगर परिक्रमा गराउने उत्साह अझै घटेको छैन।

उनी अझै पनि बालबालिकाकै तालमा फुर्तिलो भएर भजन गाउँदै हिड्दै छन् र्। त्यो बेला एक छाक भोज खाने आशले हिड्ने गरिएको यो चलन अहिले आएर बालबालिकाको अतिरिक्त क्रियाकलाप जस्तै बनेको उनी तर्क गर्छन्।

एकमहिने माधव नारायण तथा श्रीस्वस्थानी व्रतका बेला माघ कराउने एवं माधव नारायणको भजन गाउने र शंख फूक्ने मध्येबाट पहिलो , दोस्रो र तेस्रो स्थान निकाली पुरस्कृत गरिने नेपाल भाषाको गीत संगितका एक हस्तीसमेत रहेका जगमोहनले बताए। नगरपरिक्रमाका क्रममा ती बालबालिकालाई विभिन्न दाताहरूले बिहानको नास्ता पनि खुवाउने गरेका छन्। 

एकमहिने माधवनारायण भजन किर्तनमा बालबालिकाको उत्साह नघटेको समाजसेवी समेत रहेका जगमोहन मेहेर कायस्थ बताउँछन्। 'भगवानको नाम स्मरण गर्ने र तबला र हार्मोनियम बजाउने गर्दा बालबालिका खुसी हुन्छन्', उनले भने,' भगवानको पनि स्मरण हुन्छ, मनमा शान्ति मिल्छ। समितीका अनुसार हालको वर्षमा करिब १ सय जना बालबालिकाले नियमीत रुपमा भजन किर्तन सहितको परिक्रमामा भाग लिएका छन्।'

श्रीस्वस्थानी एक महिने व्रतका बेला चापागाउँ आसपासका ठेचो , सुनाकोठी , लुभु , बुङ्मती लगायतका स्थानमा बिहान माधवनारायणको भजन आउन हिँड्ने गरे पनि चापागाउँमा जस्तो व्‍यवस्थित र उत्साहजनक अन्य स्थानमा नभएको मुल गणेशका पूजारी हरिमुकुन्दराज उपाध्यायले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.