प्रचण्डमाथि नातावादमै अल्झिने गरेको आरोप

|

विराटनगर : प्रदेश १ मा शुक्रबार तीनजना मन्त्री थपिए। जसअन्तर्गत मन्त्रिपरिषद् विस्तारमा एमालेबाट बुद्धिकुमार राजभण्डारी, माओवादी केन्द्रबाट दुर्गा चापागाई सरकारमा सहभागी भए।

पछिल्लो समय माओवादी केन्द्रमा प्रदेशसभाभित्रै प्रतिनिधित्व गर्ने सांसद, पार्टीभित्रैका नेता कार्यकर्ताबीच एउटा विषयले मत बाझिएको थियो। मन्त्री आचार्यलाई सरकारमा सहभागी गराउन हुने र नहुने। तर, पनि   पार्टीभित्रको असन्तुष्टि नेता कार्यकर्ताबीच उठेको विवादलाई बेवास्ता गर्दै माआवादी केन्द्रको तर्फबाट जीवन आचार्यले बिना विभागीय मन्त्रीको  शपथ लिए।

केन्द्रको दबाबकै कारण आचार्य मन्त्री बनेका भनिएको भए पनि  माओवादी केन्द्रका शीर्ष स्थानका  नेता भने कुनै दबाब नभएको दाबी गर्छन्। मुख्यमन्त्री हिक्कमतकुमार कार्कीको शपथग्रहण कार्यक्रमका दिन सत्ता बाँडफाँडको लिखित निर्णय नआएसम्म सरकारमा सहभागी नहुने भन्दै सरकारमा जान पछि हटेका माओवादी केन्द्र पुनः सहमति  गरेर सरकारमा जाने निर्णय लिएका थिए।

सरकारको प्रतिनिधित्व गर्न ककसलाई पठाउने भन्ने विषयमा बिहीबार  लामो समयसम्म पदाधिकारी बैठकसमेत बसेका थिए। सो बैठकले सातजनाको नाम लिस्ट तयार पारेरका थिए। तर, लिस्टको पहिलो नम्बरमा भएको नाम राजेन्द्र कार्कीलाई छोडेर  गरेर दोस्रो नम्बरमा रहेको तेह्रथुमका दुर्गा चापागाईले मन्त्री बन्ने अवसर प्राप्त गरे।

त्यस्तै, तेस्रो नम्बरमा रहेका मोरङका गणेश उप्रेतीलाई छोडेर चौथो नम्बरमा रहेका जीवन आचार्यले विवादको बीचमा पनि मन्त्री बन्ने अवसर प्राप्त गरे। जसकारण आन्दोलनको मर्मविपरीत भएको र पार्टीको लागि योगदान गर्नेहरूको अवसरबाट चुकेको भन्ने गुनासो पार्टी भित्रैको नेताकार्यकर्ताहरूको रहेको छ।

त्यसो त पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नातावादतर्फ सधैँ झुकाव रहने भन्ने आरोप नखेपेका पनि होइनन्। तर, ती आरोपहरूलाई सुधार्नेतर्फभन्दा पनि झनै बढावा दिँदै गएको पार्टी भित्रैदेखि लिएर अघिल्लो सत्ता गठबन्धनमा रहेका दलका नेता बताउँछन्। मन्त्री आचार्य प्रचण्डका छोरी ज्वाइँ हुन्।

प्रदेश सरकार गठन प्रक्रियामा नाताभित्रैकालाई  अवसर दिँदा हिजो  विद्रोहमा सँगै साथ दिएका धेरैको पार्टी र नेतृत्वप्रति वितृष्णा छाएको माओवादी केन्द्रका एक नेताले गुनासो गरे। उनले  विवादसँगै सत्तामा पुगेका मन्त्री आचार्यलाई पनि सबैलाई कसरी समेटेर अगाडि बढाउने भन्ने चुनौती रहेको उनको भनाइ थियो।

यसअघि भरतपुर चितवन प्रमुखमा छोरी रेणु दाहाललाई टिकट दिएको विषयमा प्रधामन्त्री दाहाल विवादमा नतानिएका पनि होइनन्। तर,  रेणु प्रधानमन्त्रीकी छोरी मात्रै नभएर पार्टीभित्र  राजनीतिक योगदान युद्धकालदेखि नै रहेकाले पनि उनले भरतपुर नगरपालिकाको नेतृत्वमा सफलता प्राप्त गरेको उनले तर्क  गरे।

भर्खरै नवनियुक्त मन्त्री आचार्यले पनि केही कुरा मेयर दाहालसँग सिक्नुपर्ने जरुरी रहेको उनी बताउँछन्। त्यसो त आवश्यकताका बेला मन्त्री आचार्यले टेलिफोनसमेत उठाउन कन्जुस्याइँ गर्ने आदतले सिंगो पार्टी र प्रदेशको नेतृत्व कसरी गर्लान् भन्ने चिन्ता पार्टीभित्रै नेताहरको रहेको छ।

फाउण्डेसनको  आपत्ति

माओवादी केन्द्रका नेता जीवन आचार्यलाई बिना विभागीय मन्त्री नियुक्त गरिएकोमा 'शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन’ गम्भीर आपत्ति जनाएको छ।

आचार्यलाई मन्त्री नियुक्त गर्दा जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई ख्याल नगरेको भन्दै फाउन्डेसनले जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवम् लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको आरोप लगाइएको छ।

फाउन्डेसनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) का ज्वाइँ आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाउने तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने विकृत अभ्यासलाई प्रेरित गरेको शहीद तथा  बेपत्ता योद्धा सन्तति फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा लेखिएको छ, ‘यो माओवादी संस्कृति हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनुपर्छ।

निःसन्देह माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेको छ तर यो आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव थिएन। इतिहास बदल्न बलिदान दिने तिनै सपूतहरुका सन्तति हुनुको नाताले यो फाउण्डेशन र यसका सदस्यहरूले पनि

आवश्यक पर्दा इतिहासको रक्षार्थ बगेको रगतजस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्छ। यस्तै हुने हो भने हामीले भन्नै पर्ने हुन्छ – लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन सक्दैन। तर त्यसो भन्नु अघि हामी कमरेड प्रचण्डलाई आग्रह गर्न चाहन्छौं – उक्त निर्णय शीघ्रतापूर्वक सच्याउन लगाइयोस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.