|

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २० औँ पुण्य तिथिको अवसर पारेर दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले कुश्मा बजारस्थित शिवालय माविका दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ब्लाङ्केट र पोशाक वितरण गरिएको हो। १२ जना बालबालिकाहरू रहेकामा उनीहरू सबैलाई कपडा वितरण गरिएको हो।

उनीहरूलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीका हातबाट कपडा वितरण गरिएको हो। पोशाक वितरण गर्दै नेता जोशीले शारीरिक रूपमा दृष्टिविहीन भए पनि वास्तविकतामा उनीहरू अन्तरदृष्टिका हुने भएकाले प्रकृतिले सिर्जना गरिदिएको कुरा स्वीकार गर्नै पर्ने बताए।

फरक क्षमता भएका विद्यार्थीहरूको अध्ययन तथा व्यवस्थापनमा राज्यले अझै धेरै ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

सरकारले उपलब्ध गराउने थोरै रकमबाट जसोतसो दैनिकी चलाइरहेका उनीहरूलाई जाडोको वेला झनै समस्या हुने भएकाले स्वर्गीय बुबाको सम्झनामा विद्यार्थीलाई सहयोग गरिएको प्रतिष्ठानका संरक्षक समेत रहेका सहिद तिवारीका पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए।

‘यहाँका बाबु नानीहरू समस्यामा रहेको भनेर हेड सरले भन्नुभएको आधारमा उनीहरूलाई सहयोग गरेका हौँ’, उनले भने, ‘टाढा टाढाबाट आउनुभएका र घरको आर्थिक अवस्था पनि कमजोर रहेका विद्यार्थीहरूलाई झनै समस्या भइरहेको रहेछ।’

वि.सं. १९८७ सालको पुसमा जन्मिएका हरिदत्तको २०६० सालको माघ १ गते राति तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए। माघे संक्रान्तिको दिन घरका परिवारसँग बसिरहेको अवस्थामा घरमा प्रवेश गरेका उनीहरूले त्यहीँ खाना खाएर तिवारीसँग केही सोधपुछ रहेको भन्दै घरबाट लिएर गएका थिए।

घरबाट करिब पाँच सय मिटर टाढा रहेको जङ्गलमा लगेर राति करिब १० बजेको समयमा खुट्टा भाँचेर छाडेको अवस्थामा तिवारी भेटिएका थिए। कर्फ्यूकै बीचमा पनि उपचारका लागि सदरमुकाम लैजाँदै गर्दा हालको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साइकल चोकमा पुर्‍याउँदा तिवारीको मृत्यु भएको थियो।

नेपाली कांग्रेसको राजनीति गर्दै आएका तिवारी फलेवास नगरपालिका–३ शंकरपोखरीमा पटक–पटक प्रधान पञ्च पनि भएका थिए। शंकरपोखरी क्षेत्रमा सडक विस्तार तथा खानेपानी व्यवस्थापनका लागि उनी आफ्नो कार्यकालमा निकै खटेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.