|

काठमाडौं : पोखरामा आइतबार यती एयरलाइन्स विमान दुर्घटनामा निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ। 

दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौं ल्याइने शवको हकमा काठमाडौंमै पोस्टमार्टम गरिनेछ। 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौं घर भएकाहरूको शव काठमाडौँ ल्याइनेछ। उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट ३ सदस्यीय विशेषज्ञ टोली पोखरा जाँदैछ। 

माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाइन एन (एनएसी’ ६९१ उडानको एटीआर/७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोताखोरको टोलीसहित विमानस्थलको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.