|

काठमाडौं : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न कानून व्यवसायीहरूसमेत समावेश सर्वेयरको टोली काठमाडौं आइपुगेको छ।

क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सर्वेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्वेयर पठाएको उनले बताए ।

दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने दाबी पनि पौडेलले गरे। ‘बीमा कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ। पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ। मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ,’ उनले भने।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीमा सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए।

बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनले बताए। ‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो। बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ। दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ,’ उनले।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाईयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ। चालक दलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ।

आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा सवार ४ जना चालक दल र ६८ जना यात्रु रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.