|

पर्वत : पोखरामा भएको जहाज दुर्घटनामा फेला परेकामध्ये सबैभन्दा पहिले सदाकत अलि मियाँको शव परिवारलाई हस्तान्तरण गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोस्टमार्टमको सकिएपछि परिवार शव बुझ्नका लागि तयार रहेको अवस्थामा सबैभन्दा पहिले सदाकतको शव परिवारको जिम्मा लगाइएको हो।

पहिचान छिटो हुनु तथा पोस्टमार्टमपछि साँझको समय भए पनि आफन्तजन शव बुझ्नका लागि तयार भएपछि भेटिएका ७० वटा शवमध्ये सबैभन्दा पहिला उनको शव हस्तान्तरण गरिएको हो।

पोखराकै बासिन्दा रहेका उनले पोखराको सिद्धार्थ चोकमा इलेक्ट्रिक सामग्रीको कारोबार गर्ने ‘नुरा इलेक्ट्रिक’ होलसेल पसल चलाउँदै आएका थिए। उनी आफ्नी सानी उमरालाई छाड्न काठमाडौं गएका थिए।

सानी आमा साउदी अरेबियामा हुन लागेको मुस्लिम धर्मसम्बन्धी काममा सहभागी हुन जान लागेकोले उनको प्रस्थानको लागि सदाकत काठमाडौं पुगेका थिए।
काठमाडौंबाट फर्कने क्रममा यतिको जहाजमा बसेका उनी पनि दुर्घटनामा परेका थिए।

परिवारको एक्लो छोरा रहेका सदाकतकी दुई वर्षकी छोरी छन्। उनको इस्लाम संस्कारअनुसार अन्त्येष्टि गरिने आफन्तले बताएका छन्।

दुर्घटनामा मृत्यु भएकाहरूको संख्या ७० जना पुगेको पुष्टि भएको छ। दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए। अझै पनि २ जनाको अवस्थाबारे पत्ता लाग्न सकिरहेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.