|

हेटौंडा : मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित दीपकबहादुर सिंह संघीय सरकारको ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन्।

मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्री सिंहलाई शपथ गराएका हुन्। राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका सिंह पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निकट नेताको रूपमा रहेका छन्।

गत निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गरेका थिए। गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा हेटौंडाको मेयरमा पराजित सिंह निरन्तर निर्वाचनमा होमिएको २५ वर्षपछि पहिलोपटक निर्वाचित भएका थिए।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भए पनि अप्रत्याशित रूपमा लोकप्रिय मत पाएर हौसिँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएका सिंह पाँचौंपटकमा जनप्रतिनिधि निर्वाचित हुन सफल भएका थिए। सिंहले यसअघि कुनै पनि आमनिर्वाचन जितेका थिएनन्। पहिलोपटक संसद् छिरेका सिंह पहिलो लटमा नै राज्यमन्त्री बनेका छन्।

राप्रपा नेपालका अध्यक्ष थापासँग लामो सहकार्य गरेका उनले थापासँगै रहँदा कुनै पनि चुनाव जित्न सकेनन्। थापा ९ पटकसम्म मन्त्री बने पनि सिंह कहिल्यै मन्त्री बन्न पाएनन्। निरन्तर २५ वर्षसम्म निर्वाचनमा होमिएर पनि चुनाव नजितेका सिंह राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अलग भएसँगै सदन र मन्त्रालय दुवैतिर छिरेका छन्। यतिवेला उनलाई थापा नफापेको र राप्रपा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेन फापेको भन्दै टिप्पणी भइरहेको छ।

राप्रपा नेपालका अध्यक्ष थापा र सिंहले लामो समय एउटै दलमा बसेर काम गरे। थापा र सिंह कुनै समयका सहयात्री मात्रै होइनन्, सहोदर दाजुभाइभन्दा पनि नजिक थिए। थापा सिंहभन्दा काम, उमेर र अनुभवले अग्रज भए पनि यी दुई सहयात्री थिए।

लामो समयसम्म सिंहलाई थापाले दह्रो साथ दिए तर थापाले राप्रपा छाडेर राप्रपा नेपाल ब्यूँताएपछि यी दुई सहयात्री पार्टीगत रूपमा अलग भएका थिए। लामो समय निकै नजिक रहेर काम गरेका यी दुई मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एक–अर्काविरुद्ध खडा भएका थिए। २५ वर्षदेखि निर्वाचनमा होमिएका सिंह आफू पाँचौंपटकमा निर्वाचित भएका थिए।

निरन्तर निर्वाचन हार्दै आएका सिंहले योपटक आफू मात्रै चुनाव जितेनन्, मकवानपुरमा २८ वर्षपछि राप्रपालाई जिताउन समेत सफल भए। सिंहलाई जिताउन राप्रपा अध्यक्ष लिङ्देनले पनि धेरै दौडधुप गरेका थिए। पार्टीमा आफूसँग पराजित भएपछि राप्रपा नेपाल ब्यूँताउन पुगेका कमल थापालाई पराजित गर्नैका लागि पनि सिंहलाई जिताउने दबावमा लिङदेन थिए।

त्यसैले उनी निर्वाचनको मुखमा दुईपटक मकवानपुरसमेत आए। लिङदेनले कमल थापाले कुनै पनि चुनाव जिताउन नसकेका सिंहलाई संसद् मात्रै छिराएनन्, पहिलो पटक राज्यमन्त्री बनाउँदै मन्त्रालयमा पनि प्रवेश गराएका छन्। थापासँगको दुश्मनीकै कारण उनी निकट सिंहलाई लिङदेनले राज्यमन्त्री बनाएरै भए पनि सरकारमा लान चाहेका थिए।

थापाको साथ छाडेपछि चम्किएका अर्को नेता हुन्, राप्रपा महामन्त्री भुवनकुमार पाठक। जो अहिले बागमती प्रदेशसभाका सभामुख बनेका छन्। पाठक र सिंह राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अलग भएर २०६४ सालमा राप्रपा नेपाल स्थापना गर्दाको समयबाट कमल थापाको निकट रहेर काम गरेका अन्तिम समयमा थापालाई छाडेर पार्टी अध्यक्ष लिङ्देनतर्फ लागेका थिए।

लिङदेन पक्षमा लागेसँगै उनीहरूले राजनीतिक सफलतामा उकालो चढ्न थालेका छन्।

थापाले राप्रपा नेपालको स्थापना गरेर २०७० को संविधानसभामा २५ सिट प्राप्त गर्दा समेत उनका सबैभन्दा निकटस्थ सिंह र पाठकले यसअघि कुनै पनि अवसर पाएका थिएनन्। अवसर नपाए पनि पाठक र सिंहले थापाको हरेक कदममा साथ दिएका थिए।

थापा पटक–पटक मन्त्री हुँदा पनि कुनै राजनीतिक नियुक्ति नलिएका पाठक र सिंहले २०७८ बाट भने थापाको साथ छाडेका थिए।

अर्थात राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले पुनः राप्रपा नेपाल ब्यूँझाए पनि उनकै प्यानलबाट महामन्त्री जितेका पाठक र सदस्य भएका सिंह भने लिङ्देन नेतृत्वको राप्रपामा नै रहे। यो पटक थापा छाडेका उनका निकट दुबैजना संसदीय राजनीतिमा प्रवेश गर्ने पहिलो अवसर प्राप्त गर्न सफल भए।

थापाको नेतृत्वमा रहेको समयमा दुबै नेता संसदीय राजनीतिमा सफल भएका थिएनन् तर लिङ्देन पक्षमा उनीहरूले सफलता प्राप्त गरे। थापा क्याम्प छाडेर लिङ्देनलाई साथ दिएका पाठक बागमती प्रदेशका सभामुख बनिसकेका छन् भने सिंह संघीय राज्यमन्त्री बनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.