|

दोलखा :  सुख्खा माटो वरपर सबै जमिन बाझो छ। देख्दा पनि अनौठो लाग्छ। वर पर सबै जग्गा बाझो छ  तरविचको जग्गा हरियाली । निमार्ण व्यवसायमा रहेका दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ का ६८ वर्षीय मान बहादुर तामाङ्गको जग्गा हो यो।

जहाँ सुख्खा रातो माटो छ। पानि समेत प्रर्याप्त रुपमा नहुने बैतेश्वर ६ नाम्दुमा, मान बहादुर तामाङ्गले सोहि जमिनमा  ड्रागन फलको व्यवसाय सुरु गरेका छन्। निमार्ण व्यवसायको शिलशिलामा विभिन्न ठाउँमा पुगेका उनले सुपरमार्केटबाट  ड्रागन किनेर खाएका थिए। फल मिठो भएका कारण आफ्नो बाझो रहेको जमिनमा पनि लगाउन सकिन्छ कि भनेर ड्रागन फलको अध्यन गरे। उनले २०७८ सालमा काभ्रे जिल्लाबाट १ सय पिलरको लागि  ४ सय वटा विरुवा ल्याएर आफ्नो बाझो रहेको जमिनमा ड्रागन लगाएका छन्।

जिल्लामा सुन्तला, किवि,  एबोकाडो, लगाएतका फलफुलहरु व्यवसायिक रुपमा गरिएको भए पनि ड्रागन व्यवसाय गर्ने कृषक भने मानबहादुर नै पहिलो बनेका छन्। उनले अहिले आफ्नो जमिनमा १० रोपनी जग्गामा ड्रागन लगाएर नाम्दुको सो ठाउँ नै हराबरा बनाएका छन्।  

सेतो र रातो जातको यो फलबारे शुरु–शुरुमा विदेश यात्रामा जानेलाई मात्रै थाहा हुन्थ्यो। तर अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण धेरैले ड्रागनको बारेमा  जानकारी पाएका र व्यवसायिक खेती गर्न सुरु गरेका छन्  ।

शिक्षण पेशा छोडेर निर्माण व्यवसायमा लागेका तामाङ्ग यतिबेला बाँझो बनेको सुख्खा जमिनको प्रयोग गर्दै ड्रागन खेतीमा रमाइरहेका छन्। उनको दैनिकी अहिले फेरिएको छ विहानै उठ्छन् बारीमा पुग्छन्, साझपख मात्रै घर फर्किन्छन्। ४ सय विरुवाबाट सुरु भएको व्यवसायमा  अहिले २४ सय विरुवाको विस्तार भैसकेको छ।   भर्खरै शुरु भएको ड्रागनले पूर्णरुपमा उत्पादन भने  दिइसकेको छैन। तर केही फलेका बिरुवाले राम्रो उत्पादन दिएको उनी बताउछन्।

 एउटा बिरुवाले ४० किलोसम्म उत्पादन दिन सक्छ। हावापानीका कारण सोचेजस्तो उत्पादन नभए पनि एउटा पिलरबाट कम्तीमा २० केजीसम्म उत्पादन हुने उनको आशा छ। बैशाख/जेठबाट फल दिन शुरु गर्ने ड्रागनले स्थानीय नागरिकलाई रोजगारी सृजना हुने समेत देखिन्छ। उमेर ढल्कदै जादाँ व्यवसाय सुरु गरेका तामाङ्ग भन्छन्- ‘युवा वदेशिदै छन् उनिहरुको लागि नेपालमा कृषि व्यवसाय गरे केहि गर्न सकिन्छ, नेपालमा सम्भावना धेरै छ भनेर उदाहरण दिन पनि सो खेती रोजेको छु।  

तामाङ्गले केहि स्थानीयलाई रोजगारी समेत दिएका छन्। फल टिप्ने बेलामा अझै केहि व्यक्तिलाई रोजगारी दिन सकिन्छ उनले भने। अहिले मैले विरुवा रोपेको छु विरुवाले उत्पादन दि सकेको छैन। अब विरुवा सँगै  व्यवस्थित रुपमा नर्सरीको समेत व्यवस्था गर्ने सोच मेरो छ तामाङ्ग बताउछन्। ड्रागनको नर्सरी दोलखामा छैन्,व्यवासय गर्नको लागि काभ्रे चितवन लगायतका जिल्लामा हामी पुग्नु पर्छ त्यसले खर्च समेत बढाउने हुँदा नर्सरीको व्यवस्था गर्ने सोच पनि छ।

२५ लाख भन्दा बढि खर्च भैसकेको तामाङ्ग बताउछन्। आफ्नै लगानीमा सुरु भएको खेतीमा कुनै पनि निकायबाट सहयोग भने नभएको बताए।  सबै तिर बाझो र जंगल बनेको जमिनका कारण  बाँदरले  भने दुःख दिने गरेको उनको भनाइ छ। थोरै लगानीमा धेरै आम्दानी हुने ड्रागन व्यवसायीकरुपमा गर्न सके, त्यसबाट बिरुवा उत्पादन, मलजल, व्यवस्थापन, बजार विस्तार, प्राविधिक सेवा लगायतमा रोजगारीको सिर्जना हुनेछ। यसले स्थानीय तहको समृद्धिको यात्रामा योगदान गर्नुका साथै बाँझो रहेका जमिनको पनि उपयोग हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.