|

सल्यान : तीन जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले अर्बौं बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन। सडक चौडा बनाउँदै स्तरोन्नति गर्न वर्षेनि करोडौँ रुपैयाँ खर्च भए पनि सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ।

यस वर्षमात्र सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्‚ अधिकांश ठेक्का अलपत्र अवस्थामा छन् भने ५ वटा ठेकेदारले मात्र काम गरिरहेका छन्।

ठूल्ठूला खाल्डाखुल्डी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिम समेत बढाएको छ।

०७६/७७ मा ऊर्जा/कृषक/मस्त जेभी कम्पनीले राप्ती राजमार्गअन्तर्गत पटारे–मोख्ला १ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरेर काम शुरु गर्‍यो, नाला मात्र निर्माण गरेर बाँकी काम अलपत्र छोडेको सिद्धकुमाख गाउँपालिका १ पटारेका स्थानीय राजेश परियारले जानकारी दिए।

काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै बस्न नसक्ने अवस्थामा रहेको उनले बताए।

वर्षातमा सडकमा हिलाम्मे र हिउँदमा धुलोले आजित बनाएको अर्का स्थानीय प्रकाश वलीले बताए। सडक छेउमा घर भएका कारण खाना खाँदा धुलो थालीमै पस्ने गरेकाले बिरामी समेत हुन थालेको उनले बताए।

चोरखोला कपुरकोट क्षेत्रको ६ किलोमिटर सडक चौडा र कालोपत्रे गर्ने काम तीन वर्ष अघिबाट शुरु गरिए पनि यो काम पनि पूरा हुन नसक्दा धुलोले हैरान त बनाएको छ नै दुर्घटनाको जोखिम समेत बढाएको छ।

यो आर्थिक वर्षमा मात्र सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोरखोलादेखि रुकुम खौलासम्म ८८ दशमलव ४ किलोमिटर सडकमा खण्ड खण्डमा बाँडिएर पुरानो २ वटा सहित १८ वटा ठेक्का लागेका सडक डिभिजन कार्यलय दाङले जनाएको छ।

तर सानो ठेक्कामा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर काम शुरु गर्न नसकेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार एउटै कम्पनीले ३ देखि ४ ठाउँसम्म ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो। कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम गर्न नसकेको बताए।

कार्यालयले काम नगर्ने ठेकेदारहरूलाई मौखिक र लिखित रूपमा चिठी काटेको, पत्रपत्रिकामा सूचना निकालेको, एपिजी निकालेको समेत उनले बताए।

वेला वेला सडक सुधार र नागरिकलाई यथाशीघ्र सहजता प्रदान गर्न सकिन्छ भन्ने विषयमा बहस र छलफल हुँदै आएको छ। सडकको तत्कालै मर्मत सम्भार र स्तरोन्नति गर्न भन्दै पटक पटक छलफल र निर्णय समेत हुने गरेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए। ठेकेदारहरूले काम गर्छौं भने जवाफ दिने गरे पनि काम हुन नसकेको उनले बताए।

केही दिनअघि सल्यानबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले जीर्ण सडकका कारण नागरिकले पाएको सास्ती तत्काल मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि काम गर्न निर्देशन दिएका थिए तर अहिले १८ वटा ठेक्कामा ५ वटाले मात्र काम गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.