|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने बताएका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार गरेको मृगौला प्रत्यारोपीको बृहत् भेलामा प्रचण्डले योपटक पदका लागि नभएर केही गरेर देखाउन प्रधानमन्त्री भएको र आफूले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्ने बताए।

‘मैले केही नयाँ कुरा गर्छु भनेको छु। त्यसैअनुसार स्वास्थ्यमा पनि क्रान्ति गरेर ल्याउँछौ र मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा मिर्गौला मात्र नभएर कलेजो प्रत्यारोपणलाई पनि यही गतिमा अघि बढाउन सरकार चाहन्छ। त्यसका लागि सरकारले आवश्यक सहयोग गर्छ’‚ प्रधानमन्त्री प्रचण्डले भने। 

केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बोधन गरिनेछ।’

नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोपण हुँदै आएको छ। त्यसमा दुई सय मिर्गौला शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले प्रत्यारोपणका कार्यका लागि हाल सय शय्या मात्र उपलब्ध भएकोमा समस्या भएकाले यो अभावलाई टार्दै ३ सयदेखि ५ सय शय्यासम्म सञ्चालन गर्नका लागि सरकारले शय्या उपलब्ध गराउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.