|

इटहरी : सुदूरपश्चिम र प्रदेश १ महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार भएको खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको एपिएफलाई ८ विकेटले हराउँदा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ११४ रनको फराकिलो अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

एपिएफले दिएको ४६ रनको सामान्य लक्ष्य प्रदेश १ ले ९ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो। प्रदेश १ को जितमा कप्तान रुबिना क्षेत्रीले अविजित २० तथा अप्सरी बेगमले ९ रन जोडिन्। काजल श्रेष्ठले ९ रन बनाउँदा लकिता राजबंशी १ रनमा रन आउट भइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफ १३ दशमलव ४ ओभरमा अलआउट हुँदै ४५ रनको झिनो स्कोरमा समेटियो। एपिएफका लागि कप्तान सीता राना मगरले सर्वाधिक १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ एलिसा खड्का र संगीता राईले सर्वाधिक ३/३ विकेट लिँदा सबनम राईले २ विकेट हात पारिन्।

आजै भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि ११४ रनको फराकिलो जित निकाल्दै फाइनल पुगेको हो।

सुदूरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६६ रनमा समेटियो। ​मधेश प्रदेशका लागि प्रतिमा शाहले सर्वाधिक १९, सीमा कुँवरले १६ तथा एलिसा यादवले १४ रनको योगदान गरिन्।

त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाएर १८० रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक ७० तथा कप्तान बिन्दु रावलले अविजित ६० रन जोडिन्। कविता जोशीले ३२ रनको योगदान गरिन्।

शनिबार हुने फाइनलमा सुदूरपश्चिम र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल जनता क्रिकेट पार्क इटहरीमा दिउँसो १२ बजे हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.