|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेसले संवैधानिक पदहरुमा नजर लगाइरहेको छ। सत्ता बाहिर बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदहरुमा भागबन्डा खोजेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने बताइरहेका बेला कांग्रेस पनि संवैधानिक पदमा भागबन्डाको राष्ट्रिय सहमति खोजिरहेको छ।

यसको दृष्टान्त बिहीबार सभामुखको निर्वाचनमा देखा परेको छ। सभामुखको निर्वाचनमा अन्तिम समयसम्म पनि उम्मेदवारी दिने/नदिने दोधारमा रहेको कांग्रेसले प्रधानमन्त्रीको साथ नपाउने छाँट देखेपछि आफैं उम्मेदवारी दिने निर्णय गर्यो। 

प्रधानमन्त्रीले ‘सहमति गरेर जानुपर्छ’ भनिरहँदा कांग्रेस सोही आसमा बसे पनि अन्तिम समयसम्म साथ नपाउने संकेत पाएपछि सत्ता गठबन्धन बाहिरका दलहरूको समर्थनमा निर्वाचनमा होमिएको हो।

राष्ट्रपतिको निर्वाचनमा पनि सोही क्रम दोहोरिने देखिएको छ। यसको जवाफ बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिइसकेका छन्। उनले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाएको उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भनिरहनुभएको छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘हो, राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ। एमालेले उम्मेदवार उठाउँछ। हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’ 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास जारी राख्ने बताए।

बिहीबार सभामुख चुनावपछि संसद भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘राष्ट्रपतिको निर्वाचन आउन अझै समय बाँकी छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौं।’

प्रचण्डले भनेको र कांग्रेसले बुझेको राष्ट्रिय सहमति 

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र स्थिरताको विषयमा राष्ट्रिय सहमतिको विषय उठान गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्रीले आह्वान गरेको राष्ट्रिय सहमतिमा कांग्रेसको गलत बुझाइ रहेको बताउँछन्। 

‘हामीले भनेको राष्ट्रिय सहमति शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन संविधान कार्यान्वयन, स्थिरताका विषयमा हो। हामीले भागबन्डाका लागि राष्ट्रिय सहमति भनेका छैनौं,’ गजुरेलले भने। 

उनले सरकारलाई पूरा कार्यकाल काम गर्न दिनका लागि सबै दलहरूलाई एक बनाउन प्रधानमन्त्रीले आह्वान गरेकोसमेत बताए। 

माओवादी केन्द्रका सांसद माधव सापकोटाले आफूहरूले वैकल्पिक गठबन्धन नखोजेकाले देशमा सुशासन, भ्रष्टाचार, आर्थिक क्षेत्रको सुधारका लागि राष्ट्रिय सहमतिको विषय उठान गरेको बताए। 

माओवादी केन्द्रका एक पदाधिकारीले राष्ट्रपति र उपराष्ट्रपति कांग्रेसलाई दिन नसिकने बताए। उनले प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई संवैधानिक पदमा समर्थन गरे सात दलीय गठबन्धन धरापमा पर्ने बताए। 

‘पूर्वसहमतिविरूद्ध कांग्रेसलाई समर्थन गरे अहिलेको गठबन्धन भत्किने खतरा प्रधानमन्त्रीले महसुस गर्नुभएको छ। अर्कातर्फ कांग्रेसलाई पनि सहमतिमा लैजाने प्रयास गरिरहनुभएको छ। अहिलेको अवस्थामा एमालेले कांग्रेसलाई राष्ट्रपति दिने अवस्था छैन,’ ती पदाधिकारीले भने, ‘सभामुखको निर्वाचनअनुसार नै उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि हुन्छ। दायाँबायाँ हुने छुट छैन।’

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसको समर्थन आवश्यक नपर्ने बताए। उनले कांग्रेसले भागबन्डा खोज्न प्रधानमन्त्रीलाई समथर्न गरेर गलत अभ्यास गरेको बताए। 

‘हामीलाई कांग्रेसको आवश्यकता नै छैन। फेरि पनि प्रधानमन्त्रीजीलाई अन्तिम समयमा बाह्य प्रभाव र दबाबमा परेर भोट दियो। अहिले राष्ट्रपति, सभामुख, उपसभामुख, राजदूतलगायतका पदमा भागबन्डा खोजिरहेको छ,’ सांसद समेत रहेका उपमहासचिव गुरूङले थाहाखबरसँग भने। 

उनले पुस १० गते भएको सहमतिअनुसार अहिलेको गठबन्धन अगाडि बढ्ने दाबी गरे। उपमहासचिव गुरूङले भने, ‘पुस १० गते बालकोटमा जे–जे सहमति भएको थियो। सोही अनुसार हामी अगाडि बढ्छौं। कांग्रेसले अहिले प्रचण्डलाई समर्थन गरेको छु भनेर भागबन्डा पाउँदैन।’

उनले प्रधानमन्त्रीको राष्ट्रिय सहमतिले द्विविधा कायम गरेको बताए। कांग्रेस सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउन र राष्ट्रपति चयनमा प्रयास गर्ने बताए।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादी सहितका आफूहरूको गठबन्धन टुटाएकाले अब आफूहरूले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वाभाविकै भएको तर्कसमेत गरे।

‘हामी चुनावमा गठबन्धनमा थियौँ। त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि! मिसन सभामुख थियो। त्यो भएन। अब मिसन राष्ट्रपति पनि हुन्छ। मिसन गठबन्धन टुटाउने हुन्छ। यसमा कुनै शंका नै भएन नि,’ उनले भने। 

दबाबमा प्रचण्ड, त्रासमा कांग्रेस

राष्ट्रपति र सभामुख नेकपा एमालेलाई दिने सहमति गरे पनि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन्।

संवैधानिक रूपमा ‘पावरफुल’ मानिएको राष्ट्रपति र सभामुख एमालेले पाउने भएपछि प्रचण्डमाथि दबाब परेको हो। एमालेले राष्ट्रपति पाउँदा प्रचण्डलाई काम गर्न असहज हुने अनुमान गर्ने गरिएको छ। 

माओवादी केन्द्रका एक सांसदले राष्ट्रपति र सभामुख एमालेले पाउँदा प्रचण्डलाई काम गर्न असहज हुने स्वीकार गर्छन्। त्यसैले एमालेभन्दा बाहिर जान नसक्ने परिस्थितमा उनी सहज पात्रको खोजीमा छन्। 

‘विगतका घटनाक्रमलाई नियाल्दा पनि एमालेसँग काम गर्न असहज छ। तर, प्रधानमन्त्री बन्नका लागि अध्यक्ष कमरेडले गरेको सहमति र आगामी दिनमा एमालेले पाउने दुवै पद घातक हुने देखिएको छ,’ ती सांसदले थाहाखबरसँग भने। 

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतले आफूहरूले राष्ट्रपति पाउनुपर्ने नेपाली कांग्रेसको माग छ। संसदको तेस्रो ठूलो दलले प्रधानमन्त्री र दोस्रो दलले सभामुख पाएकाले स्वभाविक रूपमा आफूहरूले राष्ट्रपतिले पाउनुपर्ने कांग्रेसको माग हो। 

नेपाली कांग्रेसका सांसद राजन केसीले राष्ट्रपतिका विषयमा दलहरूबीच छलफल गरेर अगाडि बढ्ने बताए। उनले सभामुखमा एमाले र उपसभामुखमा पनि गठबन्धनकै उम्मेदवार कायम रहेकाले तत्काल मिलेर जाने सम्भावना नदेखिए पनि राष्ट्रपतिको निर्वाचनसम्म मिलेर जाने बताएका हुन्। 

‘तत्कालै सात दलीय गठबन्धनसँग मिलेर जाने अवस्था छैन। किनकी सभामुखको निर्वाचनबाट यी विषयहरू प्रष्ट भइसकेका छन्। राष्ट्रपतिको निर्वाचनसम्म प्रधानमन्त्रीजीले सहमतिमा लिएर जान सक्नुहुन्छ वा हुन्न त्यो हेर्न बाँकी रहेको छ,’ केसीले थाहाखबरसँग भने। 

उनले तेस्रो दलले प्रधानमन्त्री, दोस्रोले सभामुख पाउँदा स्वभाविक रूपमा पहिलो दलका हैसियतमा आफूहरूले राष्ट्रपति पाउनुपर्ने बताए। 

‘जनमतको हिसाबले सरकारको नेतृत्व गर्नुपर्ने । विविध कारणले त्यो हुन सकेन। तर, राष्ट्रपति र सभामुखमा पावर ब्यालेन्स गर्नका लागि पनि आफूहरू राष्ट्रपतिमा उपर्युक्त हौं,’ सांसद केसीले भने, ‘दुवै पद एमालेले पाउनु राम्रो मानिँदैन। शक्ति सन्तुलन गर्नका लागि पनि राष्ट्रपति हामीले पाउनुपर्छ। हामीले राष्ट्रपतिमा उम्मेदवार उठाउँछौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.