|

काठमाडौं : आगामी फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्‍घाटन खेल खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार सार्वजनिक भएको तालिका अनुसार पहिलो खेल यसै सिजन बढुवा भएको खुमलटार युथ क्लब र फ्रेन्ड्सबीच हुने निश्चित भएको हो।

निर्धारित मितिभन्दा केही महिनापछि धकेलिएको लिगका लागि शुक्रबार एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । खेल डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । २०७२ सालको राष्ट्रिय लिग पछि लिग डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुन लागेको हो।

१४ क्लबको सहभागिता रहेको लिगका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिग निर्देशक सञ्जीव मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिए।

फागुन तेस्रो साताबाट आयोजना हुन लागेको नयाँ सिजनको लिगमा यसपटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ। नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ भने साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्दै नयाँ सिजनको आरम्भ गर्नेछ ।

डबल राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा कुल १ सय ८२ खेल हुनेछन् । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। 

यस्तै मस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रूपैयाँ पाउनेछन् । यस्तै फेयर प्ले अवार्ड विजेता टोलीले ३ लाख पाउने छन् । 

यस्तै प्रत्येक खेलको विजेता क्लबले ५० हजार रूपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ र हरेक खेलको म्यान अफ द म्याचले १० हजार रूपैयाँ पाउनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.