|

म्याग्दी : जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजना र खेलकुद परिषद् गण्डकीको समन्वयमा शुक्रबार पुरुषतर्फ ८ र महिलातर्फ ६ किलोमिटर सडक दौड प्रतियोगिता सम्पन्न भएको छ।

पुरुषतर्फ बेनी नगरपालिका–५ पुलाका नवीन कार्की प्रथम भएका छन्। कार्कीले ८ किलोमिटर दूरी २३ मिनेट ५३ सेकेण्डमा पार गरी प्रथम भएका हुन्।

धवलागिरि गाउँपालिकाका विराज परियारले सोही दूरी २४ मिनेट १५ सेकेण्डमा पूरा गरी दोस्रो भए भने मालिका गापा–६ का अर्जुन विक २५ मिनेट ३ सेकेण्डमा पूरा गरीे तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए।

यसैगरी महिलातर्फको रघुगंगा गापा–३ पिप्लेकी सविना विकले १९ मिनेट ४५ सेकेण्डमा ६ किमी दूरी पार गरी महिलातर्फको दौडमा पहिलो भइन्।

तेज धाविका विक रघुगंगा मावि पिप्लेमा ८ कक्षामा अध्ययनरत छन्। मंगला गापा–५ अर्मन पोककी रिक्जना माझीले सोही दूरी २० मिनेट १३ सेकेण्डमा पूरा गरी दोस्रो भइन् भने धवलागिरि गाउँपालिका–७ की मनीषा खत्रीले २२ मिनेट ३९ सेकेण्डमा पूरा गरी तेस्रो भइन्।

दौड प्रतियोगितामा पुरुषतर्फ २३ जना र महिलातर्फ ७ जना धाविका सहभागी थिए।

प्रतियोगितामा पुरुषतर्फका प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद सहित प्रमाणपत्र र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

विजयी हुनेहरूलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.