|
फाइल तस्वीर

बाँके : बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्न थालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ। एक वर्षमा १ सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ। 

आव ०७८/७९ मा १ सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए।

उनका अनुसार पहिचान भएकामध्ये ६१ जना बाँकेका छन्। अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन्। नयाँ कुष्ठरोगीमा बालबालिका पनि रहेका उनले बताए। बाँके र बर्दियाका २/२ जना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ। 

आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजी गर्ने गरेको अस्पतालका प्रमुख थारुले बताए। 

गत आवमा बर्दिया र बाँकेका ३ ठाउँमा राखिएको शिविरमा ५ हजार ५ सय ८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए। साथै आव ०७८/७९ मा १५ हजार ५ सय ८२ जना बिरामीले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ।

सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिए पनि बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन्। 

‘५ वर्षसम्म कुनै पनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ तर यस क्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ,’ उनले भनिन्।

उनले कुष्ठरोग निवारणका लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताइन्। पछिल्लो समय बालबालिकामा पनि संक्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णप्रसाद आचार्यले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.