|

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपिएफकी फूलमती रानाले शनिबार दशरथ रंगशलामा भएको दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथनको उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको राइट टु प्रोटिन रन हाफ म्याराथनमा पुरुषतर्फ दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेण्डमा पूरा गर्दा महिलातर्फ फूलमतीले निर्धारित दूरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। दुवै खेलाडीले १/१ लाख रूपैयाँ नगद प्राप्त गरे।

पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेण्डले पछि पार्दै दोस्रो स्थान हासिल गरे। राजनले १ घण्टा ५ मिनेट १४ सेकेण्डमा दौड पूरा गरेका थिए। नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।

चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गर्दा आर्मीका सुशीलकुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेण्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे।

महिलातर्फ दोस्रो भएकी नेपाल पुलिस क्लबकी राममाया बुढा फूलमतीभन्दा ५ सेकेण्डले पछि परिन्। राममायाले निर्धारित दूरी १ घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरेकी हुन्।

तेस्रो भएकी त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले निर्धारित दूरी १ घण्टा २३ मिनेट १० सेकेण्डमा पूरा गरिन्। आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेण्डमा पूरा गर्दै चौथो हुँदा पुलिसकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेण्डमा पूरा गर्दै पाँचौं बनिन्।

१० किमी पुरुष दौडमा सबै पाँचै स्थानमा आर्मीका धावकको वर्चश्व रह्यो। मुकेश पालले निर्धारित दूरी ३० मिनेट ५६ दशमलव ०१ सेकेण्डमा पूरा गर्दै पहिलो हुँदा, गजेन्द्र राईले ३१ मिनेट शून्य दशमलव २९ सेकेण्डमा पूरा गर्दै दोस्रो, सुवास कार्कीले ३१ मिनेट ७ दशमलव २० सेकेण्डमा पूरा गर्दै तेस्रो, सिकास राईले ३१ मिनेट १४ दशमलव १५ सेकेण्डमा पूरा गर्दै चौथो र मोहन देव जोशीले ३२ मिनेट २० दशमलव २३ सेकेण्डमा पूरा गर्दै पाँचौ भए।

शनिबारै सम्पन्न महिला ५ किमी खुल्ला प्रतिष्पर्धामा आर्मीकी गीता बिक पहिलो हुँदा आर्मीकै निर्मला केसी दोस्रो, एपिएफकी सीमा चौधरी तेस्रो, पुलिसकी बीर्सना कुमारी चौथो र एपिएफकी आशा रावत पाँचौ भए।

५ किलोमिटर पुरुष स्कुलतर्फ सञ्जिव नेपाली, श्याम मग्राती, हिमराज गुरुङ, विकेश घिमिरे र बादल कार्की क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं भए।

३ किलोमिटर महिला स्कुलतर्फको प्रतिस्पर्धामा कल्पना बुढा पहिलो, हिमाली शाही दोस्रो, दिपशिखा शाही तेस्रो, लक्ष्मी साउद चौथो र अमिसा राई पाँचौं भए।

ह्विलचेयर पुरुषतर्फ प्रेमबहादुर विक पहिलो, रामकाजी मिजात दोस्रो, सोमनाथ राई तेस्रो, दिपक श्रेष्ठ चौथो र अर्जुन दोङ पाँचौं भए। महिला ह्विलचेयरमा रजनी राई पहिलो हुँदा यामी झाक्री मगर दोस्रो, जोनिसा कठायत तेस्रो, प्रेमा गुरुङ चौथो र निर्मला भण्डारी पाँचौं भए।

एकदिने प्रतियोगितामा ५ हजारभन्दा बढी धावकले विभिन्न विधामा सहभागिता जनाएका थिए। आयोजकले हरेक विधाका शीर्ष पाँचमा आउने सबै धावकलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरेको छ। 

विजेता सबैलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशरथ रंगशालामा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरे। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, विभिन्न मन्त्रालयका सचिवको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.