|

रौतहट : रौतहटमा १४० जना कुष्ठरोगी रहेको र सबैभन्दा बढी चन्द्रपुर नगरपालिकामा रहेका छन्।

सदरमुकाम गौरमा आइतबार सञ्चारकर्मीलाई कुष्ठरोग निवारणसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रियामा यो जानकारी दिइएको छ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा कुष्ठरोग निवारणबारे बताउँदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले उक्त जानकारी दिएका हुन्। उनले अहिले कुष्ठरोग निको हुने रोग भएको पनि बताए।

उनले भने, ‘कुष्ठरोग सरुवा भए पनि जुन व्यक्तिमा रोगसँग लड्ने क्षमता हुँदैन त्यही व्यक्तिमा मात्र सर्छ।’ अरु सँगै बसे पनि केही फरक नपर्ने उनले बताए। २०६६ माघ ५ गते नै नेपालबाट कुष्ठरोग निवारण भइसकेको घोषणा भए पनि मधेश प्रदेशमा अझै पनि कुष्ठरोगको जोखिम रहेको बताए। 

रौतहटमा सबैभन्दा बढी कुष्ठरोग प्रभावित चन्द्रपुर नगरपालिका रहेको र सबैभन्दा थोरै प्रभावित यमुनामाई गाउँपालिका रहेको जानकारी पनि प्रमुख यादवले दिए।

रौतहटका १८ वटै स्थानीय तहको तथ्यांकअनुसार चन्द्रपुर नपामा २२ जना र सबैभन्दा थोरै यमुनामाई गापामा २ जना कुष्ठरोगी फेला परेको र उनीहरूको औषधी उपचार भइरहेको पनि उनले बताए। कार्यक्रममा प्रमुख यादवले कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे।

कुष्ठरोगी फेला परे पनि नाम गोप्य राखी समाजमा अपहेलित नहुने हिसाबले उपचार गर्नुपर्ने समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.