|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीको विकास हुन नसकेको स्विकारेका छन्।

सोमवार काठमाडौंमा आयोजित दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्विकारेका हुन्। सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए।

उनले मार्चको तेस्रो हप्ता शुरु गर्ने गरी परिषद्ले एशियन गेम्समा सहभागी हुने २३ खेलको प्रशिक्षण तयारी थालेको जानकारी दिए।

उनले भने, ‘एशियन गेम्समा रहेका २३ वटा खेलको प्रशिक्षण मार्चको तेस्रो हप्ता शुरु गर्ने गरी हामीले बैठकमा निर्णय गरेका थियौँ। साथै अरू ४ वटा खेलका लागि पनि केही निर्णय गरेका थियौँ।’

उनले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रूपमा आफ्ना कार्य अघि सारेको बताए। उनले राज्यले मेहनती प्रतिखेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्ने गरी राखेप अघि बढेको बताए।

उनले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यक भए पनि राज्यले लगानी गर्ने निर्णय परिषद्‌बाट भएको बताए। उनले खेलाडीको मेहनत, लगावका आधारमा मेहनती खेलाडीलाई एक करोड रुपैयाँसम्म लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको बताए।

उनले भने‚ ‘मैले के घोषणा गरेको छु भने एउटा खेलाडी बराबर जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यक भए पनि राज्यले लगानी गर्नेछ। तर खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ। त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ। हामी खेल क्षेत्रको विकास किन भएन भन्दै गर्दा व्यवस्थित योजना बनाएर र लगानी गर्न कन्जुस्याइँ गरेर पनि हो। त्यो खेलाडीले देशलाई मेडल दिलाउँछ। खेलमा न राजनीति हुन्छ न अरू केही।’

सदस्यसचिव घिसिङले खेलाडी छनोट भनसुनका आधारमा गर्न थाले पनि राष्ट्रले शर्मनाक हार व्यहोर्ने चेतावनी दिए। उनले अझै पनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको गुनासो गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.