|

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिकाले बैंक शिविरमार्फत भत्ता वितरण शुरु गरेको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक वडामा शिविर आयोजना गरिने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए।

दोस्रो त्रैमासिकअन्तर्गत सोमवार वडा नं ११ बाट शुरु गर्दै नगरप्रमुख थापाले बैंकमा लाइन लाग्ने वृद्धवृद्धाको बाध्यता हटाएर सबै वडामा पुगेर भत्ता वितरण हुने बताए।

‘पहिलो चरणमा वडा तथा पायक पर्ने ठाउँबाट भत्ता वितरण गरिरहेका छौँ,अशक्तहरूका लागि घरघरमा पुर्‍याउने योजना छ’‚ थापाले भने‚ ‘जनतासँग गरेको वाचा पूरा गर्न हामी प्रतिबद्ध छौं।’ थापाले नगरका अभिभावक भनेको वृद्धवृद्धा रहेकाले सम्मान गर्ने बताए।

शिविरका अवसरमा उपप्रमुख शिवकुमारी थारूले बैंकमार्फत वितरण गर्दा झन्झटिलो र लाइनमा बस्दा वृद्धवृद्धाको स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले शिविर आयोजना गरिएको बताइन्।

नगरवासीलाई कसरी सहजता मिल्छ भन्ने विषयमा नगरपालिका गम्भीर रहेको जिकिर गर्दै शिविरमा छुटेका व्यक्तिहरूलाई बैंकमार्फत उपलब्ध हुने बताइन्।

बैंकसम्म पनि जान नसक्ने व्यक्तिका लागि लक्षित गरेर शिविर आयोजना गरिएको वडा नं ११ का अध्यक्ष रामेश्वर बर्माले बताए।

सोमवार नै वडा नं १ मा पनि शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। वडाका ज्येष्ठ तथा अशक्तलाई शिविरले धेरै सहज गराएको वडा नं १ का अध्यक्ष खिमविक्रम केसीले बताए। बैंक आवतजावत गर्दा लाग्ने समय र खर्चको समेत बचत भएको केसीले बताए।

गाउँघरमै भत्ता पाइन थालेपछि सेवाग्राही हर्षित छन्।

शिवराज नगरपालिकाले दोस्रो चौमासिकमा रु. ६ करोड रकम सामाजिक सुरक्षाभत्ता निकासा गरेको छ। नगरमा १२ हजार ८२० सेवाग्राही रहेका छन्।

नगरमा रहेका ११ वटा वडालाई ११ वटा बैंकसँग सहकार्य गरेर शिविर आयोजना गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख दीपक खड्काले बताए। प्रत्येक वडामा दुई दिन शिविर आयोजना गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.