|

अन्जु कार्की

सोलुखुम्बु : सोलुखुम्बुमा चालू आर्थिक वर्षको ६ महिनामा १९ वटा आगलागी भएका छन्। साउनदेखि हालसम्म १९ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक छ।

आठवटा स्थानीय तहमध्ये थुलुङ दुधकोशी गाउँपालिकामा सबैभन्दा बढी १२ वटा आगलागीका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

थुलुङ दुधकोशी गाउँपालिका पुस ५ गते  वडा नम्बर १ को नेले बजारमा ६ घर जलेर नष्ट भएका थिए भने पुस १७ गते वडा नम्बर ६ मुक्लीका फुरी तामाङको घरमा, मंसिर २९ गते वडा नम्बर ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घर, कात्तिक १२ गते वडा नम्बर २ काँगेलको कुखुरा फर्ममा र असोज १९ गते वडा नम्बर ७ का इन्द्रबहादुर बस्नेतको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

यस्तै ५ वटा निजी तथा सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले जानकारी दिए। सोलु दुधकुण्ड नगरपालिकामा ५ वटा, नेचासल्यान गाउँपालिकामा एउटा आगलागीको घटना भएको प्रहरीले जनाएको छ।

आगलागीबाट चालू आर्थिक वर्षको ६ महिनामा झण्डै ७ करोडको धनमाल नष्ट भएको छ। ६ महिनामा ६ करोड ९० लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कमा उल्लेख गरिएको छ।

आगलागीबाट सोलु दुधकुण्ड नगरपालिका २ का ग्याल्जेन शेर्पाको ३ लाख ५० हजार बराबरको क्षति भएको छ भने थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ का फुरी तामाङको ३ लाख बराबरको क्षति भएको छ।

यस्तै नेचासल्यान गाउँपालिका १ मा रहेको सामुदायिक वनमा डढेलो लाग्दा ५ लाखको क्षति भएको छ। थुलुङ दुधकोशी गाउँपालिका १ का प्रणय राईको २ लाख बराबरको, कल्पना बस्नेतको १ करोड ४० लाख बराबरको, गणेश बस्नेतको १ करोड बराबरको, बुद्धि कार्कीको ८० लाख बराबरको, रमेश बस्नेतको १ करोड ५० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहले बताए।

यस्तै थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ का  नौधन राई र भक्तबहादुर राईको ४२ लाख बराबरको क्षति भएको छ।

अधिकांश आगलागीको कारण विद्युत् सर्ट

अधिकांश आगलागीको कारण भने विद्युत सर्ट भएर भएको प्रहरीले जनाएको छ। जिल्लामा भएका १९ घटनामध्ये ९ वटा घटना विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाइ छ।

केबल इन्सुलेसन छिल्लिएर नाङ्गा तार एकापसमा जोडिनुलाई विद्युत् सर्ट भनिन्छ। घरभित्र वायरिङ गरिएका तार सबै तवरबाट ढाकिएका कभर भएका हुन्छन्। कमसल वायरिङ, ज्वाइन्ट, तारहरूमा टेप नलगाई तेसै छोड्दा नाङ्गो तार जोडिएपछि तार सर्ट हुन्छ।

तार सर्ट हुनेबितिकै सेन्सिटिभ र राम्रो एमसीभी र फ्युज छ भने तुरुन्त ट्रिप भए दुर्घटनाबाट जोगिन्छ। घरमा ठूलो साइजको फ्युज  छ भने अटोमेटिक एमसीभी र फ्युज जल्न सक्दैन र उपकरणमा जोडिएका तार नै पग्लिन थाल्छन्। तार पग्लिपछि घटना आगलागीमा परिणत हुन्छ।​

हिउँदयाम शुरु भएसँगै आगलागीका घटना दिन प्रतिदिन बढेका छन्। जिल्लामा रहेको ८ वटा स्थानीय तहमध्ये कसैले पनि आगलागीसम्बन्धी जनचेतनामूलक कार्यक्रम भने अहिलेसम्म गरेको पाइएको छैन।

आगलागी न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भने गरेका छैनन्। जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले केही जनचेतनामूलक कार्यक्रम गरेका छन् भने अधिकांश स्थानीय तहले विपद प्रतिकार्य योजना समेत बनाएका छैनन्।

स्थानीय तहसँग छैन दमकल

८ वटा स्थानीय तहमध्ये सोलु दुधकुण्ड नगरपालिका बाहेक अन्य स्थानीय तहसँग दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ। सोलु दुधकुण्ड नगरपालिकाको एउटा मात्रै दमकल छ भने अन्य ७ वटा स्थानीय तहले दमकल खरिद गरेका छैनन्।

दमकल नहुँदा बजार क्षेत्रमा आगलागी हुँदा नियन्त्रणमा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.