|

लालबन्दी : सर्लाहीको विष्णु गाउँपालिकाले गत असारमा पारित गर्नुपर्ने नीति, कार्यक्रम र बजेट माघमा पारित गरेको छ।

बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले गत साउनदेखि तलब खान पाएका छैनन्। त्यसैगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।​

स्कूलका शिक्षकले तलब नपाउँदा पढाइ अस्तव्यस्त भएको थियो। यसैगरी विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प छन्।

८ महिनापछि गाउँसभा गरेर नीति, कार्यक्रम र बजेट पारित गरेको छ।

बजेट बाँडफाँडमा फरक दलबाट निर्वाचित जनप्रतिनिधिबीच सहमति नहुँदा गाउँसभा प्रभावित हुँदै आएको थियो। प्रत्येक स्थानीय तहले असारमै नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गर्नुपर्ने हुन्छ।

विष्णु गाउँपालिकाले भने ८ महिनापछि राजनीतिक सहमति जुटाएर बल्ल गाउँसभा गरेको हो। गाउँसभाले ५० करोड ८७ लाख ८८ हजार नौ सय बराबरको बजेट पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अब तलब, भत्ता, कार्यक्रम, योजना सबै नियमित चल्ने बताए। गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले असारदेखि नै पटक–पटक गाउँसभा गर्ने प्रयास गरे पनि अल्पमतमा रहेका कारण उनले गाउँसभाको बैठक नै राख्न सकेका थिएनन्।

यसैगरी जिल्लाको हरिपूर्वा नगरपालिकाले गत मंसिर २९ गते नगरसभा गरेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो। हरिपूर्वामा पनि अल्पमतमा रहेका नगरप्रमुख विनोद साहले लामो प्रयासपछि फरक दलका जनप्रतिनिधिबीच सहमति जुटाएर नगरसभाबाट बजेट पारित गराएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.