|

सल्यान : सल्यानको शारदा नगरपालिकामा रहेको एउटा शहरी स्वास्थ्य क्लिनिकमा स्थानीयले तालाबन्दी गरेका छन्। जिल्लाको शारदा नगरपालिका-४ सुन्टाकुरास्थित शहरी स्वास्थ्य क्लिनिक रहेको सामुदायिक वनको भवनको मूलद्वारमा ताला लगाइएको हो।

नगरपालिकाले मनोमानी ढंगले स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको र स्थानीयले राखेका माग सम्बोधन नगरेको भन्दै स्थानीयले सोमबारदेखि ताल्चा लगाएका हुन्।

२०७५ सालमा नगरपालिकाले आफ्नै भवनको व्यवस्थापन नहुँदासम्मका लागि भन्दै सालघारी सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेको थियो।

तर स्वास्थ्य क्लिनिक सञ्चालन भएको झण्डै ४ वर्ष हुँदा पनि नगरपालिकाले जग्गाको खोजी नगरेकव, बजेट विनियोजन नगरेको, स्थानीयका माग सम्बोधन नगरेकाले सोमबार वन समूहको भवनको मूलद्वारमा ताला लगाएको सालघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोमप्रकाश थापाले जानकारी दिए।

वन उपभोक्ता समूहको बैठकको निर्णयअनुसार आफ्नै सामुदायिक वनको भवनको गेटमा ताल्चा लगाइएको वन उपभोक्ता समूहका अध्यक्ष थापाले जानकारी दिए।सामुदायिक वनले शहरी स्वास्थ्य क्लिनिकलाई अन्यत्र व्यवस्थापन गर्न माग गर्दै २०७९ मंसिर २८ गते निर्णय गरेर माघ ३ गते शारदा नगरपालिकालाई ५ दिनको समय दिएको थियो।

तर नगरपालिका र वडा कार्यालयबाट कुनै पनि प्रतिक्रिया नआएपछि सामुदायिक वनको कार्यालय भवनमा बसिरहेको शहरी स्वास्थ्य क्लिनिक अन्य ठाउँमा सार्न मागसहित भवनको गेटमा ताला लगाइएको उनको भनाइ छ।

सामुदायिक वन उपभोक्ता समितिका सहसचिव खिमबहादुर बुढाथोकीले शहरी स्वास्थ्य क्लिनिकको भवन निर्माणको लागि जग्गा दान गर्न स्थानीय तयार भएको अवस्थामासमेत नगरपालिकाले बजेटको व्यवस्था नगरेको र कर्मचारी पदपूर्ति गर्दा स्थानीयलाई प्राथमिकता नदिएर मापदण्डविपरीतका कर्मचारी भर्ना गरेको आरोप लगाए।

शारदा नगरपालिकाले भने शहरी स्वास्थ्य क्लिनिक बसेको सामुदायिक भवनको गेटमा ताल्चा लगाएको सुन्नमा आएको जनाएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ताल्चा लगाइएको भए कानुनी रुपमा अघि बढ्ने नगर प्रमुख प्रकाश भण्डारीले चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.