|

बागलुङ : बागलुङमा अधिकांश सडक कच्ची छन्। कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्। यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन्।

यहाँका कुनै पनि ग्रामीण सडक कालोपत्रे छैनन्। पछिल्लो समय स्थानीय तहहरुले ग्रामीण सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नति गर्न थालेका छन्। जिल्लाको काठेखोला गाउँपालिकाले पनि लोकमार्गसँग जोडिएको राहाले घुम्ती–तंग्राम–धम्जा सडक स्तरोन्नती गर्न थालेको छ।

गाउँपालिकाले यस सडकलाई पालिकाको गौरवको योजनाका रुपमा राखेको छ। अहिले यस सडकको स्तरोन्नति भइरहेको छ। सडक स्तरोन्नतिका लागि गाउँपालिकाले ५० लाख, गण्डकी प्रदेश सरकारले ३० लाख र काठेखोला–४ बाट २० लाख गरि १ करोड रुपैयाँ विनियोजन भएको छ।

गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँबाट अहिले काम भइरहेको काठेखोला गाउँपालिकाका प्रवक्त टिका संगम विकले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले छुट्याएको ३० लाख र काठेखोला–४ वडा कार्यालयले विनियोजन गरेको २० लाखको काम भने केही समयमै सम्झौता गरि सुरु हुनेछ।

विकले छुट्टाछुट्टै तहबाट रकम विनियोजन नहुँदा एकमुष्ठ काम नहुने बताए। राहालेदेखि धम्जासम्मको करिब १८ किलोमिटर सडक स्तरोन्नति गर्न छुट्टाछुट्टै सम्झौता भएर काम हुने उनी बताउँछन्।

‘एउटै तहबाट एकमुष्ठ बजेट छुट्टिएन। प्रदेश, पालिका र वडाबाट बजेट विनियोजन हुँदा काम पनि एउटै सडकका छुट्टाछुट्टै तरिकाले हुने भयो, यो सडक गाउँपालिकाको गौरवको आयोजना भएको हुँदा यस वर्ष ५० लाख बजेट थियो,’ उनले भने‚ ‘पालिकाले विनियोजन गरेको रकमको ठेक्का प्रक्रियाअनुसार सम्झौता भएर काम भएको छ। प्रदेशबाट परेको योजनाको पनि टेण्डर प्रक्रियामा गएको छ, त्यो पनि केही दिनमै सम्झौता भएर काम हुनेछ।’

गाउँपालिकाले विनियोजन गरको ५० लाख रकमबाट सडकको स्तरोन्नतिका लागि सत्यवती कन्ट्रक्सनले मंसिर दोस्रो साता सम्झौता गरि काम थालेको प्रवक्ता विकको भनाई छ। उनले माघ दोस्रो सातासम्म सक्ने गरि काम भइरहेको बताए।

यो सडकको २०५६ सालमा ट्रयाक खुलेको भए पनि अहिले बल्ल स्तरोन्नति थालिएको हो। अहिले साँघुरो ठाउँमा फराकिलो बनाउने, नाली निर्माण गर्ने र ग्राभेलिङको काम भइरहेको उनको भनाई छ।

विक भन्छन्‚ ‘यो सडक खुलेको २३ वर्ष भयो अहिले बल्ल स्तरोन्नति भइरहेको छ, सीमित बजेट परेको हुँदा पूरा सडक स्तरोन्नति त नहोला तर स्तरोन्नतिको चरण सुरु भयो। केन्द्र र प्रदेश सरकारबाट थप बजेट विनियोजन भयो भने सबै सडक स्तरोन्नति हुन धेरै समय लाग्ने थिएन, यात्रुहरुले समस्या भोग्नुपर्ने थिएन।’

स्थानीय विष्णु थापा मगरले सडक स्तरोन्नति भएपछि यस क्षेत्रका हजारौँ स्थानीयलाई सहज हुने बताए। उनले वर्षौंदेखि तंग्राम र धम्जाका स्थानीयहरु धुलो र हिलोमा सास्ती खेप्दै यात्रा गरेको स्मरण गरे।

सडक साँघुरो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनको भनाई छ। गाउँपालिकाले अहिले अप्ठ्यारो ठाउँहरुमा सडक फराकिलो बनाउन थालेको थापा मगर बताउँछन्।

‘यो सडकका कारण यहाँका धेरै नागरिकले दुःख पाएका थिए, बर्खामा चल्दैनथ्यो, चले पनि हिलोमा गाडिने समस्या, हिउँदमा अहिले पनि उस्तै छ, धुलैधुलो, अहिले काम त सुरु गरेका छन् के रे कहिले सक्ने हुन्‚’ थापा मगरले भने‚ “पहिले–पहिले दुर्घटना पनि भए, पानी पर्‍यो भने गाडी चिप्लेर दुर्घटना हुने जोखिम उस्तै, सबैभन्दा पहिले जहाँ अप्ठ्यारो छ, त्यहाँ बनाए हुन्थ्यो।’

उनले बर्खाको समयमा गाउँमा कोही अपर्झट बिरामी परे डोकोमा बोकेर अस्पताल लैजानुको विकल्प नभएको बताए। बर्खाका झण्डै ३ महिना पहिरोले सडक बन्द हुँदै आएको भन्दै अब त्यो समस्या समाधान हुनेमा आफू विश्वस्त भएको उनी बताउँछन्। थापाले बर्खामा गाडी नचल्दा बारीमा फलाएका तरकारी बजारमा लैजान नसक्दा वस्तुभाउलाई दिन बाध्य भएको सुनाए।

‘यो बाटो बन्न लाग्दा धेरै खुशी लागेको छ, हामी सानै थियौँ यसको ट्रयाक खुल्दा, अहिले आधा उमेर ढल्किँदा अलि राम्रो बन्न लागेको छ। अहिले हो बर्खामा पनि अलिअलि चल्ने पहिले त ठप्पै हुन्थ्यो,’ उनले भने‚ ‘कोहीलाई इमर्जेन्सी हस्पिटल ल्याउनु पर्‍यो भने बोकेरै ल्याउनु पर्थ्यो बाटो भएर मात्रै नहुने। गाडी चल्दैनथ्यो, अब १२ महिना चल्छ कि?’

गाडीचालक विजय रानाले यो सडकमा बाह्रै महिना सास्ती खेप्नु परेको बताए। सडकका ठाउँठाउँमा खाल्डाखुल्डी र साँघुरो हुँदा जोखिम मोलेर हिँड्न बाध्य भएको रानाको भनाई छ। राहाले घुम्तीसम्म सडक फराकिलो भए पनि त्यहाँदेखि तंग्राम हुँदै धम्जा पुग्ने सडक निकै साँघुरो र जोखिमपूर्ण भएको बताउँछन् ।

‘बाटो अप्ठ्यारो छ, यस्तो बाटोमा गाडी चलाउँदा निकै जोखिम मोल्नु पर्छ, कहिले गाडीको पट्टा भाँचिन्छ, कहिले इन्जिन बिग्रिन्छ, यात्रु उस्तै डराउँछन्‚’ रानाले भने‚ ‘यो सडक राम्रो भए त यात्रुलाई गाडी सञ्चालकहरु सबैलाई राम्रो हुन्थ्यो, दुःख पाइने थिएन। अहिले तलतल काम भएको देखिन्छ माथि पुग्छ कि पुग्दैन कुन्नि?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.