|

पर्वत : पोखरा–मुस्ताङ सडकखण्डमा पर्छ पर्वतको जलजला गाउँपालिका। बागलुङ सदरमुकाम बागलुङ बजार, म्याग्दी सदरमुकाम बेनी बजारको नजिकमा पर्ने जलजलाबाट सदरमुकाम कुश्मा बजार आउन केही टाढा हुन्छ।

म्याग्दी र बागलुङ नजिक भए पनि स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन अधिकांशले आफ्नै जिल्लाको अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिने गरेका छन्। कडा खालको बिरामी भएमा जिल्लामा उपचार नहुँदा जलजलावासीहरू सीधै पोखरा र काठमाडौँ जाने गरेका छन्। सामान्य खालको उपचार सेवा गाउँमा रहेका स्वास्थ्य संस्थाहरूबाटै पाइन्छ।

तर भिडियो एक्स–रे गराउनुपर्ने बिरामीलाई भने समस्या हुने गरेको थियो। गाउँपालिकाभरि नै भिडियो एक्स–रे नहुँदा गर्भवती महिला, पेटसम्बन्धी समस्या भएका तथा एक्स-रे गराउनुपर्ने अवस्थाका व्यक्तिहरू समस्यामा पर्दै आएका थिए।

भिडियो एक्स–रे गर्न मात्रै पोखरा पुग्दा धेरै खर्च हुने तथा बेनी बजार छाडेर सदरमुकाममा रहेको अस्पतालमा आइपुग्न पनि टाढा हुने अवस्थामा उनीहरू छन्।

गाउँपालिकाबासीले लामो समयदेखि स्थानीय स्तरमा नै भिडियो एक्स–रे सेवा पाउने आशा राख्दै आएकोमा अब भने उनीहरूको अपेक्षा पूरा भएको छ। गाउँपालिकाले हालै मात्र वडा नं ३ मल्लाजस्थित स्वास्थ्य चौकीबाट ग्रामीण भिडियो एक्स–रे सेवा शुरु गरेपछि स्वास्थ्यको पहुँचमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष राजु आचार्य बताउँछन्।

‘जस्तो कि गर्भवतीले बेला बेलामा गर्भको अवस्थाका बारेमा जाँचेको हुनुपर्छ। त्यही सेवा लिनका लागि सदरमुकाम आउजाउ गर्न यहाँबाट टाढा पर्ने। पोखरा जाँदा एकै पटकमा कम्तीमा पनि १०/११ हजार खर्च भइहाल्छ’, उनले भने, ‘अहिले कम्तीमा पनि पालिकाको एक ठाउँबाट सेवा दिन सके पनि राम्रो हो भनेर शुरु गरेका छौँ।’

एक्स-रे शुभारम्भ गर्दै अध्यक्ष आचार्यले समुदायमा रहेका गर्भवतीले भोग्नुपरेको समस्या समाधान गर्न ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गरिएको उल्लेख गरे।

भिडियो एक्स–रे मा प्रयोग भएका उपकरणहरू ‘पोर्टेबल’ (एक ठाउँबाट अर्को ठाउँमा सजिलै लिएर जान सकिने) भएकाले यो सेवा एउटा स्वास्थ्य संस्थामा मात्रै सीमित हुने छैन।

गाउँपालिकाका अन्य वडामा रहेका स्वास्थ्य चौकीमा पनि समय तालिकाअनुसार पुगेर सेवा प्रवाह गरिने स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्य बताउँछन्।

‘भिडियो एक्स–रे आवश्यकता परेकाहरूलाई यो सेवा उपलब्ध गराउन त सकिन्छ नै तर पनि गर्भवतीको गर्भावस्थाका बारेमा परीक्षण गरी आमा र बच्चाको अवस्थालाई सुरक्षित र बलियो पार्न सेवा शुरु गरिएको हो’, उनले भने, ‘पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा दिइनेछ। गर्भावस्थाको अवधिमा कम्तीमा ४ पटक भिडियो एक्सरे गर्नुपर्ने भए पनि हेलचेक्र्याइँ र जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्थाका कारण सेवा लिन नसकेकालाई यसले सजिलो हुनेछ।’

विभिन्न समस्याका कारण गर्भ जाँच नगर्दा आमा र बच्चाको स्वास्थ्य अवस्था जोखिममा पर्ने, सुत्केरीका बखत ज्यान नै जोखिममा रहने लगायतका समस्या आउन नदिन प्राथमिकताका साथ भिडियो एक्स–रे शुरु गरेको गाउँपालिकाले बताएको छ।

तालिमप्राप्त २ जना प्राविधिक परिचालन गरिएकाले शल्यक्रिया गर्नुपर्ने, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका जटिल समस्या देखिए गाउँपालिकाले आवश्यक सहयोग गर्ने भनेको छ।  ‘वन हार्ट वर्ल्ड वाइड’ परियोजना र स्वास्थ्य कार्यालयसँग साझेदारी गरेर गाउँपालिकाले उपकरण किनेको हो।

गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार जलजलामा वार्षिक करिब १ सय जना शिशु जन्मिने गरेको देखिएको छ। यी शिशु जन्म दिने आमाहरूले कम्तीमा ४ पटक गर्भ परीक्षण गरेको हुनुपर्ने नियम छ। चौथो महिना, छैटौँ महिना, आठौँ महिना र नवौँ महिनामा गर्भ परीक्षण गर्नुपर्ने भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.