|

बागलुङ : विकट गाउँ, त्यसमाथि आधारभूत आवश्यकताको कम पहुँच। यस्तो ठाउँमा पनि बालगृह सञ्चालनमा छ। तमान गाउँको बीचमा एउटा सानो घर छ।

हरेक दिन त्यही घरका वरपर स-साना बालबालिका भेटिन्छन्। कोही पढ्दै, कोही दौडिँदै त कोही खेल्दै। उनीहरू गत असारदेखि यही घरमा बस्दै आएका छन्।

केही समयअघिसम्म १६ जना थिए भने अहिले ३१ जना बालबालिका यही घरमा बस्दै आएका छन्।​ उनीहरूमध्ये धेरैका आमाबुबा छैनन्। आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरूको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ।

तमानखोला गाउँपालिका–३ तमानगाउँमा घरभाडामा लिएर पालिकाले बालगृह सञ्चालन गरेको छ। भौगोलिक विकटता हुँदाहुँदै पनि तमानखोला गाउँपालिकाले रहेक वर्ष महत्वपूर्ण काम गर्दै आएको छ।

अघिल्लो पटक बालविवाह न्यूनीकरणदेखि जंकफुडरहित विद्यालय बनाउने अभियान थालेको गाउँपालिकाले यो वर्ष भने बालगृह सञ्चालनमा ल्यायो। बालगृह सञ्चालनमा आएपछि बालबालिका खुसीसँग बस्न र पढ्न पाएका छन्।

बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका रहेका छन्। गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाका कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाऊन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताए। पालिकामा ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको उनी बताउँछन्।

अहिले बालबालिका थपिने क्रममा रहेको हुँदा अन्य व्यवस्थापन गाउँपालिकाले गरिरहेको अध्यक्ष बुढा मगरको भनाइ छ।

‘दुर्गम ठाउँ हो, धेरै व्यवस्थित गर्न नसके पनि बालबालिकाको सुरक्षासहित गुणस्तरीय पठनपाठनमा जोड दिएका छौँ, शुरुवाती चरणमा हुँदा केही कमी कमजोरी हुन सक्छन् तर बालबालिकालाई अधिकतम सुविधासहित बालगृहमा राखेका छौँ’, अध्यक्ष बुढा मगरले भने, ‘शुरुमा १६ जना बालबालिकालाई राखेका थियौँ, अहिले ३१ जना पुगेका छन्, थपिने क्रम जारी छ।’​

गाउँपालिकाले बालगृहमा बसेका बालबालिकालाई कक्षा १२ सम्म पढाउने उनको भनाइ छ। उनीहरूलाई समय–समयमा सीपमूलक तालिम दिने र आत्मनिर्भर बनाउने योजनासमेत गाउँपालिकाले बनाएको बुढा मगरले बताए। कक्षा १२ पासपछि पनि उनीहरूको क्षमतानुसार रोजगारको अवसर गाउँपालिकाले व्यवस्था गरिदिने उनको भनाइ छ।

‘अहिले बालगृहमा रहेका बालबालिका निकै उत्साहित छन्, केही राहत मिलेको महसुस गरेका छन्, उनीहरूलाई माध्यमिक तहसम्म पढाउने हाम्रो जिम्मेवारी हो। त्यसपछि पनि उच्च शिक्षाका लागि हामीले सहयोग गर्नेछौँ’, उनले भने‚ ‘समय–समयमा सीप सिकाउने र दक्ष बनाउने, आत्मनिर्भर बनाउनेछौँ, पछि उनीहरूलाई क्षमता अनुसार रोजगारी दिएर जीविकोपार्जन गर्न सहज बनाउनेतर्फ हामी लागि रहेका छौँ।’

गाउँपालिकाले यो वर्ष बालगृह सञ्चालनका लागि १७ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष बुढा मगरको भनाइ छ। दुर्गम गाउँमा बालगृह सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण भए पनि आफूहरू निरन्तर लाग्दा सफल भएको उनले बताए। बालगृहमा बस्ने बालबालिकाले स्थानीय धनगौ ज्योति माविमा अध्ययन गरिरहेका छन्।

तमानखोला गाउँपालिका–३ का वडाध्यक्ष झकबहादुर बुढा मगरले एकजना कर्मचारीले बालबालिकाको रेखदेख गर्ने गरी व्यवस्थापन गरेको बताए। उनीहरूले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने हुँदा धेरै समस्या नभएको भन्दै निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन पालिकाले गरिरहेको उनी बताउँछन्।

वडाध्यक्ष बुढा मगर भन्छन्, ‘बालगृहमा बस्ने कुनै पनि बालबालिकालाई शुल्क लाग्दैन, सबै निःशुल्क हो, यहाँ पालिकाभरका बालबालिका मात्रै राख्ने गरेका छौँ, उनीहरूको लालनपालनमा सहयोगका लागि दुईजना कर्मचारी व्यवस्थापन गरेका छौँ, बालबालिकाको स्वास्थ्य अवस्था पनि अहिले राम्रो छ, बिरामी परेका छैनन्।’

प्रत्येक महिना कम्तिमा दुईपटक उनीहरूको स्वास्थ्य परीक्षण गर्ने, अध्ययनलाई राम्रो बनाउन पालिका र बालगृह सञ्चालक समितिले हेरचाह गरिरहेको उनको भनाइ छ।

‘बालगृहमा आश्रित बालबालिकाको कक्षा १२ सम्म पठनपाठन र आवाससहितको सेवा गाउँपालिकाले दिन्छ, बेसहारा बालबालिका कोही पनि पढ्नबाट वञ्चित हुनेछैनन्। यसले बालबालिकाको भविष्य सुनौलो हुने अपेक्षा लिएका छौँ’‚ उनले भने।

बालगृह सञ्चालन कोषमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष लगायतका जनप्रतिनिधिले समेत आफूले पाउने पारिश्रमिकको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएको गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताइन्। अभियानअनुसार सबै जनप्रतिनिधिले सहयोग गरिरहेको उनको भनाइ छ।

उनीले उक्त रकमबाट कोष वृद्धि हुँदै जाने र बालगृहलाई दीर्घकालीन व्यवस्थापनमा सहजता पुग्ने बताउँछिन्। बालबालिका बढ्दै गएपछि उनीहरूको सहज व्यस्थापका लागि कोष बनाइएको उनको भनाइ छ। उपाध्यक्ष छन्त्यालले बालगृह सञ्चालनका लागि स्थानीयले पनि सहयोग गरिरहेको बताइन्।

‘बालगृह सञ्चालन गर्ने गाउँपालिकाको अभियानलाई स्थानीय लगायत धेरैले सहयोग गर्नुभएको छ। यो सञ्चालन गर्नुको मुख्य उद्देश्य नै दुःख पाएका बालबालिकालाई संरक्षण गर्नु हो।

यसले गर्दा सञ्चालन गरेको छोटो समयमै धेरै बालबालिकाले आश्रय पाउनु भएको छ’, उपाध्यक्ष छन्त्यालले भनिन्, ‘गाउँ हो केही समस्या त हुन्छ नै । यद्यपि सक्दो गुणस्तरीय सेवा दिन हामी जुटेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.